Sunday, February 28, 2016

दुवै प्यानलमा सहयोगी नै असन्तुष्ट

१६ फागुन, काठमाडौं ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले प्यानलसहित सभापतिमा उम्मेदवारी घोषणा गर्ने तयारीसँगै निकट नेतामा असन्तुष्टि बढेको छ।

पौडेल र देउवाको प्यानलबाट पदाधिकारीमा आकांक्षासहित सूचीमा पर्नेमा निश्चिन्त रहेका दुवैतर्फका नेता चाहनाविपरीत प्यानल बन्न लागेको प्रति असन्तुष्ट छन्।

कार्यवाहक सभापति पौडेलले महामन्त्री सिंहलाई उपसभापति र बिपीपुत्र शशांक कोइरालालाई महामन्त्रीको प्रत्याशी बनाउने आन्तरिक तयारीपछि अर्का महामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइराला असन्तुष्ट छन्।

पार्टी बहुपदमा गए महिला उपसभापतिमा चित्त बुझाउने पक्षमा रहेकी नेत्री सुजाताले शनिबार सभापतिको प्रत्याशी बन्ने दोहोर्यागएकी छन्।

देउवा पक्ष पदाधिकारी थपको पक्षमा नदेखिएपछि पौडेलले नयाँ बन्ने सरकारमा उपप्रधानमन्त्रीको जिम्मेवारी दिने प्रस्तावलाई अस्वीकार गर्दै उनले सभापतिकै प्रत्याशी बन्ने घोषणा गरेकी छन्।

सभापतिको उम्मेदवारी कुनै पनि हालतमा फिर्ता नलिने दाबी गर्दै सुजाताले रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा भनिन्, ‘मैले बार्गेनिङका लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेकी होइन। म धेरै अगाडि बढिसकेँ, अब पछि हट्ने सम्भावना छैन।’

केही महाधिवेशन प्रतिनिधिलाई प्रभावित गर्ने क्षमता राख्ने गिरिजाप्रसाद कोइरालापुत्री सुजाता पौडेलका लागि टाउको दुखाइको विÈय बनेको छ।

शशांक कोइरालालाई महामन्त्रीमा अघि सार्दा महाधिवेशनको अंकगणितमा फरक पर्ने बुझाइसहित पौडेलले सुजातालाई सरकारको उपप्रधानमन्त्री अफर गरेपछि सुजाता रुष्ट बनेकी हुन्।

शशांकले बिपी र प्रकाशमानले गणेशमानको ‘लिगेसी’ बोक्ने भएकाले कांग्रेस कार्यकर्तालाई यसले भावनात्मक रूपमा बा”धिराख्न सकिने विश्लेषणमा रहेका पौडेल मधेसी/महिलाबाट कोषाध्यक्षको प्रत्याशी बनाउने तयारीमा छन्। तर, मीनेन्द्र रिजालसहितका केही नेताले कोषाध्यक्षको आकांक्षा राख्दै आएका छन्।



त्यस्तै, नेता रामशरण महतलाई मनोनीत महामन्त्री वा संसदीय दलको नेतामध्ये एकको प्रस्ताव गरेका पौडेलले महामन्त्रीका अर्का आकांक्षी शेखर कोइरालालाई सरकारमा उपप्रधानमन्त्री वा मनोनीत महामन्त्रीको प्रस्ताव गरेका छन्।

संसदीय दलको नेता अस्वीकार गरेका कृष्णप्रसाद सिटौलाले सभापतिमा उम्मेदवारी दिने आन्तरिक तयारीलाई तीव्र बनाएपछि पौडेल उनलाई फकाउन पनि उत्तिकै सक्रिय छन्।

सिटौलालाई फकाउन आमोदप्रसाद उपाध्यायसहितका नेता लागिपरेका छन्। जिल्ला र क्षेत्रको अधिवेशनमा कार्यवाहक सभापति पौडेलले आफूनिकट नेतालाई पेल्ने काम गरेको आरोप लगाउँदै सिटौला उनीहरुको संरक्षणका लागि पनि सभापतिमा खडा हुनुपर्ने तर्क गर्दै आएका छन्।

काठमाडौंसहितका जिल्ला अधिवेशनको उदाहरण दिँदै सिटौलाले सभापति नै भइसकेपछि आफूनिकटका नेताहरुको अवस्था के होला भन्ने प्रश्न गरेका थिए।

जवाफमा पौडेलले सबैलाई मिलाएर संगठन चलाउने आश्वासन दिँदै सिटौलालाई मनोनीत महामन्त्री वा संसदीय दलमध्ये एकको जिम्मेवारी दिने धारणा राखे। सिटौलाले आफू देशभरिका महाधिवेशन प्रतिनिधिसँग परामर्शमा रहेको बताउँदै सबैले सभापतिमा सहयोग गर्ने आश्वासन पाएको सुनाएका थिए।

सिटौलाले निकट नेताहरुको व्यवस्थापनका साथै नेतृत्व चयनमा आफ्नो ‘ओनरसिप’ खोजेको दाबी गर्दै पौडेल निकट एक नेताले भने, ‘संस्थापन हार्ने अवस्थामा उहाँ सभापतिको प्रत्याशी बन्नुहुन्न।’

सिटौला भने सभापतिको प्रत्याशी बन्ने बताउँदै महाधिवेशन प्रतिनिधिसँगको भेट तीव्र बनाइरहेका छन्। आफ्नो अवस्थाको आँकलन गर्न र महाधिवेशन प्रतिनिधिलाई आफ्नो पक्षमा पार्न सिटौलाले वर्तमान र पूर्व जिल्ला सभापतिका साथै भ्रातृ संगठनका नेताहरुलाई खटाएका छन्।

युवा नेता गगन थापासँग निरन्तर छलफलमा रहेका सिटौलाले सुजाता कोइरालासँगको संवाद पनि थालेको स्रोतको दाबी छ।

nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment