Monday, July 27, 2015

‘भाग्यले बाँचेकाहरु’ ले रुवायो एमाले नेताहरुलाई

काठमाडौं, ११ साउन । भूकम्पमा परेर आश्चार्यजनक ढंगले बाँचेकाहरुको कथा समेटेर निर्माण गरिएको ‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्रीले नेकपा एमालेका केन्द्रीय नेताहरुलाई रुवाएको छ ।
नेकपा एमाले केन्द्रीय कार्यालयले केन्द्रीय कमिटीको जारी बैठककै अवसर पारेर पार्टी मुख्यालय बल्खुमा आयोजना गरेको विशेष प्रदर्शनीमा एमाले नेताहरु भावुक बनेका हुन् । डकुमेन्ट्री हेर्दै गर्दा एमालेका केन्द्रीय सदस्य सुजिता शाक्य, रामरति राम, बिना श्रेष्ठ, गोविन्द नेपाली लगायतका नेताको आँशु रोकिएन । उनीहरुले डकुमेन्ट्रीका पात्रहरुको दर्दले आँशु थाम्नै नसकेको प्रतिक्रिया दिए ।

डकुमेन्ट्री हेरेपछि नेकपा एमालेका महासचिव इश्वर पोखरेलले भावुक हुँदै भने, ‘डकुमेन्ट्रीका कतिपय दृश्यले मन नै भावुक बनायो, डकुमेन्ट्री निकै उत्कृष्ट छ ।’ डकुमेन्ट्रीमार्फत नेपाली युवा र सुरक्षा निकायले गरेको सराहनीय कामको खबर विश्वभर फैलने महासचिव पोखरेलले बताए । उनले भने, ‘हामीले धेरै काम गर्दागर्दै पनि अभिलेख राख्ने कुरामा चुकेका हुन्छौ । डकुमेन्ट्रीका निर्देशक गणेश पाण्डेले नेपालको इतिहास बचाउने काम गर्नुभएको छ ।’

एमाले महासचिव पोखरेलले नेपाल सुरक्षित रहेको र नेपालमा अझै पर्यटकहरु आउन सक्छन् भन्ने आशयको शब्द डकुमेन्ट्रीमा समेट्न सुझाव समेत दिए । उनले भने, ‘डकुमेन्ट्रीमा राष्ट्रकविले भनेजस्तै भूकम्प पछिका पराकम्पन परिवर्तनका सूूचक हुन्, त्यसैले यसैको जगमा नव निर्माणमा जुट्नुपर्दछ ।’

डकुमेन्ट्री हेरिसकेपछि अर्का नेता प्रदीप ज्ञवालीले पनि डकुमेन्ट्रीको तारिफ गर्दै यसले भूकम्पको बिपत्तिलाई नबिर्सी पूर्वतयारीमा लाग्न सचेत गराउने बताए । डकुमेन्ट्रीमा मानिसको जीवनलाई सजीव ढंगले उतारेको उल्लेख गर्दै ज्ञवालीले भने, ‘मलाई एउटा खुट्टा गुमाएकी प्रिया बिकको कथाले सुरुमै छोयो, डकुमेन्ट्रीमा कारुणिक वेदनाहरुलाई पनि उतारिएको छ । राम्रो बनेको छ ।’

एमाले सचिव पृथ्बीसुब्बा गुरुङ, प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराई, स्थायी समिति सदस्य शंकर पोखरेल, पोलिटव्युरो सदस्य कृष्णगोपाल श्रेष्ठ, विष्णु रिमाल, अरुण नेपाल, केन्द्रीय सदस्यहरु सूर्य थापा, ठाकुर गैरे, गोविन्द नेपाली लगायतले डकुमेन्ट्री निर्माण टिमको प्रशंसा गरे ।

कठमाडौँमा शनिबारमात्रै भाग्यले बाँचेकाहरुको सार्वजनिक गरिएको थियो । त्यसको भोलिपल्टै केन्द्रीय नेताहरुको माग अनुसार एमालेले पार्टी मुख्यालय बल्खुमा विशेष प्रदर्शनी आयोजना गरेको हो । डकुमेन्ट्रीका निर्देशक पाण्डेले नेकपा एमालेले प्रदर्शनीको आयोजना गरी प्रोत्साहन गर्ने काम गरेकोमा आफूहरु निकै हर्षित भएको बताए । जिल्ला–जिल्लामा समेत यो डकुमेन्ट्री प्रदर्शन गर्ने योजना रहेको उनले बताए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment