Sunday, July 26, 2015

दुबई जाने प्रक्रियामा रहेका २१ नेपाली युवती पक्राउ

नयाँदिल्ली, श्रावण १० - दिल्ली विमानस्थल हुँदै खाडी मुलुकको दुबई लगायत सहरमा लैजान लागिएका २१ नेपाली युवतीलाई महिपालपुर क्षेत्रका होटलबाट छापा मारेर पक्राउ गरिएको छ ।

अनाधिकृत कागजातका भरमा गत सोमबार र मंगलबार दुबई उड्न लागेका ७ जना नेपाली युवतीले दिएको सूचनाका आधारमा थप २१ जनालाई शनिबार पक्राउ गरिएको हो ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले पक्राउ गरिएका युवतीलाई तत्काल अध्यागमन थुनामा राखिएको र उनीहरुलाई दिल्लीस्थित नारी निकेतन केन्द्रको जिम्मा लगाइने जनाएको छ । पक्राउ पर्नेमा केहीको दुबईको टुरिस्ट भिसा रहेको र केहीको कामदार भिसा भएपनि श्रम स्टिकर नलगाइएकै अवस्थामा ‘सेटिङ’बाट बाहिर लैजान लागिएको स्रोतले जनाएको छ ।

२१ मध्ये अधिकांशलाई महिपालपुरको श्रीराम होटलबाट र केहीलाई निजी फ्ल्याटजस्तो सुरक्षित केन्द्रबाट प्रहरीले छापा मारेर पक्राउ गरेको थियो । युवतीसँगै विष्णु तामाङ र दयाराम भन्ने नेपाली एजेन्ट समेत पक्राउ गरिएको र उनीहरुलाई अनुसन्धानका लागि थुनामा राखिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलका डिपुटी कमिनसर(डीसीपी) एमआइ हैदरले मिडियालाई दिएको जानकारीमा २५ देखि ३३ वर्षबीचका नेपाली युवतीहरु मानव तस्करीको फन्दामा परेर दुबई लैजाने अन्तिम तयारीका लागि महिपालपुर क्षेत्रमा राखिएका थिए । यअसघि अघिल्लो साता पक्राउ परेका ७ जना नेपाली युवतीबाट थप गिरोहबारे सूचना मिलेको र पक्राउ परेका युवतीको ‘एफआइआर’ दर्ता भइसकेको जनाइएको छ ।

पक्राउ परेका युवती ओसारपसारमा संलग्न एजेन्टले नक्कली यात्रा अनुमती पत्र र कागजातका भरमा धेरै युवतीलाई खाडी मुलुकमा पठाइ सकिएको बयान प्रहरीलाई दिएको समाचारमा उल्लेख छ । उनीहरुले जनही युवतीबापत कमिसन स्वरुप कम्तीमा ५ हजार भारु लिने गरेको स्वीकारेका छन् ।

दिल्लीमा पक्राउ परेका युवतीमध्ये अधिकांश नेपाल–भारतका विभिन्न रुटमा चल्ने बससेवाबाट दिल्ली उत्रिएको प्रमाण पाइएको छ । नेपाल–भारत सीमावर्ती नाका कृष्णनगरस्थित शान्ती पुनर्स्थापना गृहका संयोजक भुमीराज भट्टराईका अनुसार पछिल्लो एक महिनामा कुबेत, दुबई, तुर्किस्तान, कुर्दिस्तान(इराक) लैजाने भनेर नियमित बस सेवाबाट दिल्ली लगिँदै गरेका एक दर्जनभन्दा बढी युवतीलाई नाकामा पक्राउ गरिएको थियो ।

स्थानीय केआइ नेपाल, पुनर्स्थापना गृहलगायतका संस्थाले प्रहरी–प्रशासनको सहयोगमा पक्राउ गरिएका ती युवतीहरु मानव तस्करीको फन्दामा परेको प्रमाण आफूले पाएर अहिले जिल्लामा एजेन्टहरु बिरुद्ध मुद्धा चलिरहेको जानकारी गराए । उनका अनुसार गत शुक्रबार बुटवलबाट आएको सिता ट्राभल्समा कुवेत लैजाने भन्दै अनाधिकृत कागजातका भरमा दुई युवतीलाई दिल्ली लैजाँदै गरेको र गत असार २८ मा मोडवेज ट्राभल्सबाट आएका तीन युवतीलाई पनि कुवेत र तुर्किस्तान लगिँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो । 'बस सेवामा हुन नसकेको नियमित निगरानी र स्पष्ट पहिचान पत्रको आधारबिनै आवातजावत गर्न दिइने प्रावधानले आँखै सामु भैरहेको महिला ओसारपसारमा पनि सधैँ रोकथाम वा कारबाहीमा जान सकिएको स्थिति छैन,’ भट्टराईले भने ।

टुरिष्ट भिसाबाहेकको हकमा दिल्ली वा भारतको कुनै विमानस्थलबाट बाहिरी मुलुकमा उड्नुपर्दा नेपाली दुतावासको ‘नो अब्जेक्सन लेटर’ आवश्यक पर्ने नियम रहेपनि यो प्रबन्धबाहेक सेटिङका भरमा युवती ओसारपसार भैरहेको गुनासो दूतावासमा आउने गरेको छ । तर, दूतावासले पनि दिल्ली केन्द्रमा दोहोरिँदै भइरहेका नेपाली युवती ओसारपसार एवं मानव तस्करीका घटनाहरुमा निगरानी तथा अनुगमनको संयन्त्र स्थापना गर्न सकेको छैन ।

शनिबार पक्राउ परेका २१ नेपाली युवतीको स्थिति र कारबाहीको प्रक्रियाबारे दूतावासले जानकारी लिने सक्रियता देखाएपनि थप विवरण आउन सकेको छैन । दिल्लीको पहाडगन्ज र महिपालपुर क्षेत्रमा रहेका अधिकांश होटलहरुमा हुने संदिग्ध गतिविधि र यही क्षेत्र हुँदै हुने गरेको मानव बेचबिखन तथा ओसारपसारका घटनाका कारण स्थानीय प्रहरीले कडा निगरानी बढाएको छ ।

गत साता दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई जान लागेका ७ नेपाली युवतीलाई उनीहरुसँग भेटिएको नक्कली राहदानी तथा कागजातका आधारमा पक्राउ गर्दै अध्यागमन विभागलाई जिम्मा लगाइएको थियो ।

एयर इन्डियाको नियमित उडानबाट अहमदाबाद हुँदै गत सोमबार बिहान दिल्ली उत्रिएका तीन युवतीको संदिग्ध चहलपहलबाट स्थानीय प्रहरीले सोधपुछ अघि बढाएको थियो । सोधपुछमा परेका युवतीको बयानबाट मंगलबार बिहान अरु ४ युवती पक्राउ परेका थिए ।

नेपाल घर बताउने पुजा तामाङ(२०), मालती राई(२६), लक्ष्मी राई(४१), कृष्णादेवी(२९), उमा भुजेल(३१), शर्मिला थापा(२३) र शोभाकुमारी परियार(२८) छन् । प्रहरी स्रोतका अनुसार एयर इन्डियाका ड्युटी म्यानेजर कपिल र ग्राहक सेवा प्रदायक मनिषको सहयोगमा नेपाली युवतीलाई दुबई उड्ने प्रबन्ध मिलाइएकाले यी दुबै कर्मचारी समेत पक्राउ परेका छन् ।www.ekantipur.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment