Sunday, February 21, 2016

परीक्षण बिना नै ल्याइँदैछ विदेशी तरकारी

काठमाडौं: भारत र तेस्रो मुलुकबाट आयात हुने हरियो तरकारी तथा फलफूल परीक्षण बिना नै भित्र्याइने भएकाले मानव स्वास्थका लागि हानिकारक हुने देखिएको छ । भारतसहित र तेस्रो मुलुकबाट आयात हुने हरियो तरकारी तथा फलफूलको विषादी र क्वारेन्टाइन परीक्षण गरिँदैन । विदेशबाट आयात हुने खाद्यवस्तुको सीमा क्षेत्रमा नै परीक्षण गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ ।

फलफूल तथा तरकारी व्यवसायीका अनुसार परीक्षणका लागि सरकारसँग बारम्बार अनुरोध गरिए पनि बेवास्ता गरिएको जानकारी दिएका छन ।
भारतलगायत अन्य मुलुकले भने नेपालबाट चिया, कफी, अदुवा, अलैंचीलगायतका खाद्य पदार्थ विषादी, क्वारेन्टाइन र स्वच्छतासम्बन्धी (फाइटो सैनेटरी) प्रमाणपत्रको आधारमा मात्रै आयात गर्दै आएका छन् ।


‘तर सरकारको अदूरदर्शीपनका कारण भारतसहित अन्य मुलुकबाट आयात हुने तरकारी र फलफूलको विषादीर क्वारेन्टाइन परीक्षण हुँदैन्', नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘हामी बाहेकका अन्य मुलुक आफ्ना जनताको स्वास्थ्यप्रति सचेत भएकाले सबै प्रकारका परीक्षण गराएर मात्रै आयात गर्छन् ।'

सरकारीस्तरबाट सीमा क्षेत्रमा आजसम्म पनि क्वारेन्टाइन र विषादीसम्बन्धी परीक्षण प्रणाली अपनाइएको छैन् । ‘पोस्ट हार्भेस्ट व्यवस्थापन निर्देशनालय, बाली
संरक्षण निर्देशनालय लगायतका निकायलाई पटकपटक ध्यानाकर्षण गरायौं’, महासंघका अध्यक्ष घिमिरेले भने, ‘तर हालसम्म कुनै चासो देखाइएको छैन ।'

सरकारले कालीमाटी बजारमा मात्रै विषादीसम्बन्धी परीक्षण गरेर समग्र मुलुकबासीको स्वास्थसँग खेलवाड गरेको उनले आरोप लगाए । उनले भारतसहित तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूलको नमूना लिएर क्वारेन्टाइन र विषादीसम्बन्धी परीक्षण प्रणाली कार्यान्वयनमा ल्याउनुपर्ने माग गरेका छन् ।

महासंघका अनुसार भारत र अन्य मुलुकबाट दैनिक करिब दुई करोड मूल्य बराबरको साढे तीन सय मेट्रिक टन तरकारी नेपाल भित्रिन्छ । उपत्यकामा मात्रै कालीमाटी बजारसहित अन्य बजारमा दैनिक एक करोड मूल्य बराबरको एक सय ५० मेट्रिक टन तरकारी आयात हुँदै आएको छ । तर सीमा क्षेत्रमै तरकारी र फलफूलको नमूना लिएर आजसम्म परीक्षण भएको छैन ।

नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले नेपालमा भित्रिने फलफूलको क्वारेन्टाइन र विषादीसम्बन्धी परीक्षण नहुने जानकारी दिए ।

उनका अनुसार सीमा क्षेत्रमै आयात गरिएका फलफूलको नमूना लिएर शत्रुजिव, स्वच्छता र विषादीसम्बन्धी परीक्षण प्रणाली सरकारले कार्यान्वयनमा ल्याएको छैन । ‘हामी चाहन्छौं नेपाली उपभोक्ता स्वच्छ र गुणस्तरीय फलफूल सेवन गरुन' ,उनले भने, ‘तर सरकार सर्वसाधारणको स्वास्थप्रति संवेदनशील देखिएन् ।'

भारत, चीन, अमेरिका, न्युजिल्यान्ड, अस्ट्रेलियालगायतका मुलुकबाट दैनिक ६ करोड मूल्यबराबरको ६ सय मेट्रिक टन फलफूल नेपाल आयात हुँदै आएको छ । संघका अनुसार उपत्यकामा भारतीय स्याउ दैनिक ३० लाख मूल्य बराबरको र चिनियाँ स्याउको दैनिक २० लाख मूल्य बराबरको कारोबार हुन्छ । यसैगरी अमेरिकी स्याउको वार्षिक दुई करोड ५० लाखको कारोबार हुन्छ ।

बाली संरक्षण निर्देशनालयका निर्देशकसमेत रहेका राष्ट्रिय प्लान्ट क्वारेन्टाइन कार्यक्रममा निर्देशक डा.डिल्लीराम शर्माले विदेशबाट आयात हुने फलफूलको क्वारेन्टाइन र विषादीसम्बन्धी परीक्षण नगरिएको स्वीकार गरे । ‘तरकारीको हकमा भने आयातकर्ताले स्वच्छता सम्बन्धी ल्याएको प्रमाणपत्रका आधारमा आयात गर्न अनुमति दिएका छौं', उनले भने, ‘सीमा क्षेत्रमै आयातित खाद्य पदार्थको नमूना लिएर भने परीक्षण गरिएको छैन ।'


एक अध्ययन प्रतिवेदनअनुसार नेपालमा सबैभन्दा बढी कृषिजन्य वस्तुमा प्रयोग हुने विषादीबाट सर्वसाधारण प्रभावित हुँदै आएका छन् । मुलुकभरका अस्पतालमा विषादीबाट प्रभावित भएका सर्वसाधारणको तथ्यांकबारे अध्ययन गरिएको थियो । कृषिजन्य विषादीका विषयमा पहिलो पटक विद्यावारिधि गरेका शर्माका अनुसार सयवटा अध्ययन नमूनामध्ये ५३ वटा कृषिजन्य विषादीबाट सर्वसाधारण हताहत भएको पाइएको छ ।

अन्य विषादीबाट भने ४९ जना सर्वसाधारण हताहत  भएको पाइएको छ । यसैगरी २० देखि २९ उमेर समूहका सबैभन्दा बढी सर्वसाधारण हताहत हुने गरेका छन् । यो उमेर समूहका साढे ३२ प्रतिशतको  संख्यामा सर्वसाधारण हताहत हुने गर्छन् ।

आन्तरिक उत्पादनको गुणस्तर सुधार

सरकारले कालीमाटी तरकारी बजारमा द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशाला स्थापना गरेपछि किसान तरकारीमा विषादी कम परिमाणमा प्रयोग गर्न थालेका छन् ।
स्पेक्टो फोटो मिटरको सहयोग कालीमाटी बजारमा भित्रिने तरकारी परीक्षण गर्न थालिएपछि किसानले मान्यता प्राप्त विषादीको मात्रै प्रयोग गर्न थालेका हुन् ।

परीक्षणको क्रममा काभ्रे, धादिङ, सर्लाही, मकवानपुरलगायतका स्थानबाट आपूर्ति हुने तरकारीमा मानव स्वास्थलाई हानि गर्ने गरी उच्च परिमाणमा विषादी फेला पारिएको थियो ।
annapurnapost

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment