गाउँ इकाइ देखि जिल्ला तह र केन्द्रिय स्तरमा युवाहरुको संख्या बढेको छ । एउटै कार्यसमितिमा हजुरबा देखि नातिसम्मका व्यक्तिहरुको उपस्थिति देख्न पाइन्छ । यसबाट राजनीति प्रति युवाहरुको क्रेज बढ्दै गएको बुझन सकिन्छ । त्यसैले त २५ बर्षे कलिलो उमेरमा अत्याधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिएका बाग्लुङका गणेश सापकोटा राजनीतिलाई फोहोरी खेल भन्न पटक्कै रुचाउँदैनन् ।
‘राजनीतिलाई हाँक्ने व्यक्तिहरुको प्रबृत्ति खराब भएको हो, राजनीति फोहोरी भएको होइन’, उनले भने,‘त्यसैले राजनीतिक प्रबृत्ति सुधार गर्न पाकाहरुले विश्राम लिएर युवाले नै बागडोर सम्हाल्नु पर्छ ।’ हुन पनि यसपटक कांग्रेस भित्र करिब ४ लाख ७१ हजार क्रियाशिल सदस्यहरु मध्ये २५ देखि ४० बर्ष उमेर समुहका युवाहरुले करिब ३० प्रतिशत स्थान ओगटेका छन् भने ४० देखि ६० बर्ष उमेर समूहका ६० प्रतिशत छन् । यस मध्ये ४० बर्ष हाराहारीका नेताले केन्द्रीय तहमा नेतृत्वको दावा गरिरहेका छन् । लामो समयसम्म पार्टीको भगिनी संगठनहरुमा खटेका युवाहरु गाउँ, क्षेत्र हुँदै केन्द्रीय प्रतिनिधीमा जितेर राष्ट्रिय राजनीतिमा स्थापित हुने प्रयासमा छन् ।
क्षमता र दक्षता हुँदाहुदैं पनि कांग्रेसको राजनीतिमा लामो समयसम्म अवसर नपाएका युवाहरु राष्ट्रिय राजनीतिमा स्थापित हुने ‘रेस’मा छन् । विश्वको राजनीति बुझेका, समय सापेक्ष राजनीतिलाई परिवर्तन गर्न चाहने बैचारिक क्षमता र योग्यता भएका केही कांग्रेसी युवा नेपाली राजनीतिमा उदाउँदा अवस्थामा छन् । लेखक तथा विश्लेषक शंकर तिवारी भन्छनः ‘नेपाली राजनीतिमा सक्षम युवाहरुको कमी छैन, तर क्षमताको कदर गर्न नसक्नु हाम्रो कमजोरी हो,’भन्छनः ‘संगठन हाँक्न मात्र होइन देशकै शासन सत्तालाई पनि युवाकै काँधमा सुम्पिनु पर्छ ।’ राजनीति प्रति युवाको आकर्षण बढिरहेकै बेला कांग्रेसको महाधिवेशनको सरगर्मीमा केही युवा नेताहरु नेतृत्व पंक्तिमा चर्चा गर्न योग्य देखिन्छन । २०३६ साल नभोगेका साथै ०४६ तथा ०६२/०६३ आन्दोलनमा प्रत्यक्ष सहभागी भएका युवाहरु पुरानो कांग्रेसलाई नयाँ धारमा अघि बढाउने तयारीमा छन् ।
बद्री पाण्डे, बाजुरा
बाजुराको विकट गाउँमा जन्मिएका बद्री पाण्डे निष्ठावान नेताका रुपमा परिचित छन् । कांग्रेसको केन्द्रीय सदस्य तथा सांसद समेत रहेका उनी पार्टी नेताप्रदान होइन नितीप्रधान बनाइनुपर्छ भन्ने अभियानमा सरिक छन् । कानुनका विद्यार्थी बद्री नेवि संघमा सक्रिय रहँदा रहँदै कांग्रेसको राजनीतिमा प्रवेश गरेका युवा नेता हुन । कांग्रेसमा युवाहरुको संख्या बढेकाले अबको कार्यसमिति भित्र युवाहरुको उलेख्य सहभागिता गराइनुपर्ने उनको धारणा छ । पार्टीलाई अनुशासीत र विधानसम्बत अगाडी बढाउँदै युग सुहाउँदो बनाइनु पर्ने उनको धारणा छ ।
गगन थापा, काठमाडौं
वि.स. २०६२/०६३को जनआन्दोलनमा निरकुशंताका विरुद्ध चर्को भाषण गर्दै र सडक आन्दोलनमा होमिएर चर्चा कमाएका गगनकुमार थापा यतिबेला नेपाली कांग्रेसका चर्चित युवा नेताका रुपमा चिनिन्छन् । त्रिचन्द्र क्याम्पसमा पढ्दा नेवि संघको सक्रिय राजनीतिमा लागेका उनी वि.स. २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उक्लिएका थिए ।
नेवि संघको महामन्त्री हुँदै पार्टीको १२ औं महाधिवेशनबाट अत्याधिक मत पाएर केन्द्रीय सदस्य बनेका उनी कांग्रेस भित्रका उदाउँदा युवा नेता हुन । काठमाडौंका स्थायी बासिन्दा उनी हाल सांसद छन र यतिबेला महामन्त्री बन्ने रेसमा छन् । पटक–पटक राजद्रोहको मुद्दा लागेर जेल जीवन विताएका गगन विगत एक दशक यतादेखि निरन्तर चर्चामा छन् । कांग्रेसको सिद्धान्तको पुर्नब्याख्या र संगठनको पुर्ननिर्माण प्रस्ताव तयार पारेर पार्टीलाई नयाँ ढंगबाट अघि बढाउने अभियान थालेका उनी नेतृत्वका लागि संघर्षमा छन् । प्रभावशाली भाषणकला भएका गगनको सिको गर्ने युवाहरुको जमात ठूलो छ ।
गोविन्द भट्टराई, तनहुँ
गोविन्द भट्टराई नेवि संघका पूर्व सभापति तथा कांग्रेसका केन्द्रीय सदस्य हुन । उनी नेवि संघका ९ औं केद्रीय सभापति हुन । तनहुमा जन्मिएर विगत दुइ दशक यता देखि सक्रिय राजनीतिमा लागेका उनी पार्टीभित्र इमान्दार र निष्ठावान नेताका रुपमा परिचित छन् । बौद्धिक तथा सालीन नेताको परिचय बनाएका उनी कांग्रेसस भित्र युवा मनहरुको खोजी छन । अबको नेतृत्वले पार्टीलाई सृदृढ गर्ने खालको अवधारणा तयार पार्न युवाको संख्यालाई बहुमत बनाउनुपर्ने उनको प्रस्ताव छ । महाधिबेशनमा केन्द्रीय सदस्यका रुपमा तयारी गरिरहेका उनी अबको कांग्रेसले राष्ट्रियता, समाजवादको पुर्नव्याख्या गरेर मुलुकलाई दिशा निर्देश गर्नुपर्ने बाटोमा छन् ।
केशव सिहं, डडेल्धुरा
स्कुले जीवन छँदै राजनीतिमा होमिएका केशव सिहं प्रष्ट बक्ता र सहयोगी मन भएका कारण धेरै युवाले रुचाएका नेता हुन । भारतमा उच्च शिक्षाको पढाइ छाडेर काठमाडौंको मिनभवन क्याम्पसबाट नेवि संघको राजनीतिमा लागेका उनी गिरिजाप्रसाद र सुशील कोइरालाको उत्प्रेरणाबाट २०४६ सालमा युवाहरुका तर्फबाट सडक संघर्षमा लागेर आफ्नो नाम राजनीतिमा स्थापित गराएका हुन ।
नेवि संघको मिनभवन क्याम्पस इकाइ तथा डडेल्धुरा जिल्ला सभापति हुँदै केन्द्रीय सभापतिमा निर्बाचित भएका युवा नेता हुन । कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य रहेका उनी पार्टीलाई युवाको बलमा सुदृढ गराउने अभियानमा छन् । ‘ग्ल्याम्मरस पोलिटिक्स’ नरुचाउने उनी केन्द्रीय नेतृत्व तहमा स्थापित हुने तयारीमा छन् । सिहंका बुबा सुदुर पश्चिमका पुराना शिक्षासेवी हुन । केशवका पछाडी सिद्धहस्त र निष्ठावान युवाहरुको ठूलो जमात रहेको छ ।
गुरुराज घिमिरे, मोरङ
महेन्द्र मोरङ क्याम्पसमा नेवि संघ मार्फत सक्रिय राजनीति गरेका गुरुराज घिमिरे बौद्धिक र निष्ठावान नेताका रुपमा परिचित छन् । उनको तार्किक र समसामयिक लेखहरु बौद्धिक जमात देखि युवाहरुका माझ लोकप्रिय छन् । नेवि संघको केन्द्रीय सभापति हुँदै पार्टीको केन्द्रीय सदस्य भइसकेका उनी कांग्रेसको सिद्धान्तलाई समयानुकुल परिमार्जन गर्नुपर्ने पक्षमा छन् । गुरुको एउटा समुहले पार्टी सिद्धान्तको पुर्नख्याख्या र पुर्ननिर्माणमा अभियानलाई तिब्रता दिएका छन् । केन्द्रीय तहमा स्थापित हुने तयारीमा रहेका उनी धेरै युवाले रुचाएका नेताका रुपमा चिनिन्छन् ।
विश्वप्रकाश शर्मा, झापा
पूर्वी नेपालको झापाबाट नेपाली राजनीतिमा सक्रिय भएका विश्वप्रकाश शर्मा प्रखर बक्ता मात्र नभई उत्कृष्ट लेखक पनि हुन । मुलधारका संचारमाध्यमहरुमा प्रकाशित उनका लेखहरुले नेपाली राजनीतिलाई नयाँ मार्गनिर्देश समेत गर्नेगर्छ । वि.स. २०५७ सालमा नेवि संघको केन्द्रीय सभापति बनेका उनी झापा क्षेत्र नम्बर १ बाट संविधान सभामा एमालेका रबिन कोइरालासँग पराजित भएका थिए । तार्किक र बोदगम्य लेखनका माध्यमबाट बौद्धिक बर्ग देखि सर्बसाधारणमाझ उनी चर्चित छन् ।
पाकाहरुको आर्शिबाद र युवाहरुको विश्वास बोकेर राजनीतिमा लागेको बताउने उनी नेपाली कांग्रेसको नेतृत्व तहमा स्थापित हुने तयारीमा छन् । १३ औं महाधिवेशनमा झापा क्षेत्र नम्बर एकबाट ९८ प्रतिशत मत पाएर केन्द्रीय प्रतिनिधिमा विजयी भएका विश्वप्रकाश धेरै युवाले रुचाएका नेता हुन् । विगतमा गरेका गल्तीहरुबाट शिक्षा लिदैं कांग्रेसलाई अब नयाँ ढंगमा अघि बढाउनुपर्छ भन्ने अभियानमा छन् ।
उदय शमसेर राणा, ललितपुर
कांग्रेसका संस्थापक सुवर्णसमशेरका नाती उदय शमसेर राणा तरुण दलको नेतृत्व गर्दै स्थापित भएका युवा नेता हुन । ललितपुरका स्थायी बासिन्दा उदय अध्ययनशील र बैचारिक क्षमता भएका युवा नेताका रुपमा चर्चित छन । बैचारिक क्षमताका कारण धेरै युवाहरुले उनलाई नेतृत्व तहमा स्थापित होस भन्ने चाहाना राख्छन् । कांग्रेसलाई समयसापेक्ष परिवर्तन गर्नुपर्छ भनेर विभिन्न लेख तथा बिचारहरु मार्फत आफ्ना अभिब्यक्तिहरु दिदैं आएका उनी पारिवारीक वातावरणबाटै राजनीति तर्फ उन्मुख भएका नेता हुन । दोस्रो संविधानसभा निर्बाचन मार्फत सांसद बनेका उनी कांग्रेसभित्रका उदयमान युवा नेताका रुपमा चिनिन्छन् ।
महेन्द्र शर्मा, बर्दिया
परिस्कृत लोकतन्त्र सर्वसाधारणको पहुँचमा पुर्याउनुपर्छ भन्ने अभियानमा लागेका महेन्द्रकुमार शर्मा नेपाली कांग्रेसका उदाउँदा युवा नेता हुन । बर्दियामा स्कुले जीवन छँदै देखि नेवि संघको राजनीतिमा लागेका उनी निष्ठावान र सालीन नेताका रुपमा परिचित छन् । नेवि संघको केन्द्रीय सभापति हुँदै कांग्रेसको सदस्य भएका उनी दोस्रो जनआन्दोलनलाई सफल बनाउन विद्यार्थी परिचालन गरेर प्रशंसनिय नेतृत्व हासिल गरेका नेताका रुपमा परिचित छन । लोकतन्त्रलाई सर्बसाधारणको पहुँचमा पुर्याउन र पार्टीमा युवाको उपस्थिति बढाउन उनले अभियान थालेको बताउँछन् । गुन्डातन्त्र र कुलिनतन्त्रले लोकतन्त्रलाई साघुरो बनाएकाले अबको लोकतन्त्र परिस्कृत हुनुपर्नेमा उनको प्रष्ट धारणा छ । गिरिजाप्रसाद र शुसील कोइरालाले नेवि संघमा उनले गरेको तृत्वलाई उच्च प्रसंसा गर्ने गरेको पाइन्छ ।
प्रदिप पौडेल, तनहुँ
माध्यमिक शिक्षाको अध्ययन गर्दाताका नै वि.स. २०४६ सालको जनआन्दोलनमा खटिएर कलिलो उमेरमा हिरासतमा बसेका प्रदिप पौडेल कांग्रेस भित्र रुचाइएका युवा हुन् । ‘कम्यूनिष्टहरुको किल्ला’ मानिएको अमृत साइन्स क्याम्पसबाट स्वूवियू सभापति जितेका प्रदिप चर्को भाषणकला भएका युवा नेता हुन । नेवि संघको १५ औं केन्द्रीय सभापति भइसकेका पौडेल कांग्रेसको राजनीति अब लिगेसीका आधारमा नचल्ने बताउँदै आएका छन् ।
पार्टीको सिद्धान्तलाई समयानुकुल परिवर्तन गर्नुपर्ने अभियानमा लागेका पौडेल सिद्धान्तको पुर्नख्याख्या र पुर्ननिर्माणमा अघि बढ्नुपर्ने धारणा राख्छन् । उनको भाषणकलाबाट प्रभावित युवाहरु प्रदिपलाई पार्टीको नेतृत्व स्तरमा स्थान दिनुपर्ने आवाज उठाउँदै आइरहेका छन् । उनी हाल केन्द्रीय सदस्यको तयारीमा छन् ।
प्रतिमा गौतम, काठमाडौं
दोस्रो संविधानसभामा काठमाडौं क्षेत्र नम्बर २ बाट एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग चुनाव लडेकी प्रतिमा गौतम कांग्रेसकी चर्चित युवा नेतृ हुन । नेवि संघ पद्यमकन्या क्याम्पसबाट सक्रिय राजनीति थालेकी उनी पहिलो संविधानसभा निर्बाचन मार्फत समानुपाति सभासद् भएर राजनीतिमा आफ्नो नाम स्थापित गराइसककी छिन् । पद्यमकन्या क्याम्पसमा स्ववियू सभापति हुँदै नेवि संघको केन्द्रिय निर्बाचित महामन्त्री समेत बनेकी उनी प्रखर बक्ताका रुपमा समेत चिनिन्छिन । कांग्रेसको केन्द्रीय नेतृत्व तहमा पुग्न तयारी गरिरहेकी उनी अब कांग्रेस युवा र महिलामैन्त्री हुनुपर्ने दावी गर्छिन । प्रतिमा कांग्रेसलाई युग र समय सुहाउँदो बनाउने अभियानमा छिन् । उनी पार्टीको केन्द्रीय सदस्य बन्ने दौरानमा छिन् ।
कल्याण गुरुङ, महोत्तरी
त्रिभुवन माध्यमिक विद्यालय,महोत्तरीमा अध्ययन गर्दाताका देखि नै नेवि संघको राजनीतिमा होमिएका कल्याण गुरुङ त्रिचन्द्र क्याम्पसका स्ववियू सह–सचिब हुँदै नेवि संघको केन्द्रिय अध्यक्ष भइसकेका युवा नेता हुन । करिब तीन दशक देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय कल्याण केही समय अमेरिका बसाई पछि पार्टीको नेतृत्व तहमा उक्लने प्रयासमा छन् । १२ औं महाधिवेशनमा महासमिति सदस्य हुँदै आमन्त्रीत केन्द्रीय सदस्य बनेका उनी लोकतन्त्रलाई सर्बसाधारणको पहुँमा पुर्याउन नयाँ बहस चलाईरहेका छन् । केही सामाजिक संघसंस्था समेत चलाएर लोकतान्त्रिक बहस हाँकीरहेका उनी कांग्रेसलाई युवामैन्त्री बनाउन सक्रिय छन् ।
सिर्जना अधिकारी, चितवन
पद्यमकन्या क्याम्पसमा नेवि संघको सक्रिय राजनीति गर्दै संघको केन्द्रीय सह–महामन्त्री भएकी सिर्जना अधिकारी महिला अधिकारकर्मी समेत हुन । चितवनबाट कांग्रेसको महाधिवेशन प्रतिनिधी भएकी सिर्जना पार्टीको नेतृत्व तहमा स्थापित हुन चाहन्छिन । समानताको मुद्दा शब्दमा मात्र सिमित भएकाले कांग्रेसमार्फत समानताको हकलाई स्थापित गराउने उनको अभियान छ । घरपरिवार देखि नै समानताको हकलाई कार्यन्वयन गराउन र महिलाहरुलाई नेतृत्व तहमा अवसर प्रदान गर्ने अवसर सिर्जना गराउनु उनको मुख्य मुद्दा हो । ‘ब्यूटिफूल लिडर’ भनेर चिनिएकी उनी यसपटक पार्टीमा केन्द्रीय सदस्यको रुपमा आफूलाई स्थापित गराउने रेसमा छिन् ।
imagekhabar
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment