म चितवनको नारायण्गढ बजारमा सामान लोड अनलोडको काम गर्ने श्रमिक हुँ । आइतबार काममा छुट्टी हुन्छ । छुट्टीको दिनमा नारायणी नदीमा माछा मार्न जान्छु । पछिल्लो आइतबार (फागुन १६ गते) पनि बल्छी खेल्न गएको थिएँ ।
दिउँसो करिब पौने तीन बजेको थियो । एक्कासि नदीले दुई युवतीलाई बगाएर ल्याउँदै गरेको देखें । उनीहरु म भन्दा २० मिटर परबाट बगिरहेका थिए । त्यसको केही पर अरु चार जना युवतीले हात हल्लाइरहेका थिए । एकछिन त के भइरहेको छ भन्ने छुट्याउनै गाह्रो भयो ।
बगिरेहका दुवैले एकले अर्कालाई च्याप्प समातेका थिए । मेरो नजिकै आएपछि उनीहरु चिच्याएको सुनेँ । उनीहरु चिच्याउँदै बचाउ, बचाउ भनेको सुनेपछि बगाएको रहेछ भन्ने चाल पाएँ र नदीमा हाम फाले ।
नारायणी नदी नेपालकै सबैभन्दा गहिरो हो भन्ने मलाई थाहा छ । तै पनि उनीहरुको ज्यान बचाउन कस्सिएँ । तैरिँदै गएँ । नजिकै गएर एउटीको कपाल समातें । तर दुर्भाग्य के भयो भने एउटीलाई नदीले बगायो । हतारहतार नम्रता सापकोटालाई किनारामा ल्याएँ । उनी बेहोस थिइन् । उनीहरुसँगै गएका अन्य चारजना पनि त्यहाँ आइपुगे । उनीहरु आफ्नी अर्की साथी विस्मृति ज्ञवाली (दुवैको नाम पछि थाहा भएको) लाई पनि बचाइदिन आग्रह गरिरहेका थिए ।
विस्मृति बगिरहेकी थिइन् । मैले प्रयास नगरेको होइन, तर त्यतिबेलासम्म उनलाई नदीले परै लगिसकेको थियो । उनलाई बचाउन नसकेकोमा मनमा खिन्नता जाग्यो । मसँगै रहेका पाँच जना बहिनीहरु निकै आत्तिएका थिए । सबैजना होसमै भएता पनि बेहोस् जस्तै थिए । उनीहरु रुँदै चिच्याउँदै कहिले भगवानसँग प्राथना गर्थे त कहिले मलाई बचाइदिन आग्रह गर्थे । तर, त्यति ठूलो नदीमा कुनै सुइँको नपाइ कसरी बचाउनु । म तैरिन जान्ने भएता पनि मसँग नत कुनै उपकरण थियो न केही । उनीहरुको अर्की साथीलाई मैले चाहेर पनि बचाउन सकिन ।
भरतपुरको एउटा क्याम्समा पढ्ने ती बहिनीहरु ६ जनाको ग्रुपमा नारायणी किनारमा घुम्न आएका रहेछन् । त्यत्तिकैमा नजिकै रहेको ढुङ्गामा चढेर सेल्फी लिने क्रममा चिप्लिएर दुई जनालाई खोलाले बगाएको रहेछ । उनीहरुबाट मैले थाहा पाएँ ।
पछि हराएकी विस्मृतिको शव फेला पर्यो । त्यो रात म सुत्नै सकिन र अहिले पनि त्यो घटना मेरै आँखा अगाडि झलझली आइरहन्छ । सबैले मलाई ‘तिमिले निकै राम्रो काम गर्यौ’ भन्दै बधाई दिइरहेका छन् । तर मेरो मनमा भने अझै चिसो पसिरहेको छ । मैले किन उसलाई पनि बचाउन सकिन भन्ने प्रश्न मेरो मनमा खेलिरहन्छ । आफ्नै आँखा अगाडि दुईजना बगिरहेको देखेँ, तर एकजनालाई बचाउँदा अर्कोलाई बचाउन सकिन ।
मलाई फोटो खिच्न खासै रहर लाग्दैन अनि म एक सामान्य मानिस हुँ । अहिले फेसबुक भन्नेमा फोटो राख्न सेल्फी खिच्छन् रे भन्ने साथीभाइबाट सुनेको छु । म आफू पनि फेसुबक चलाउँदिन । तर, यो घटनाले गर्दा मलाई के भन्न मन लागेको छ भने । म सबैलाई हात जोडेर अनुरोध गर्छु कि जतिसम्म सम्भव छ त्यतिमात्र गर्नुस् । फोटो खिच्ने फेसबुकमा राख्ने र अरुलाई देखाउने होडबाजीमा ज्यान पनि जान सक्छ । सवैको आफ्नो आफ्नै अधिकार हो । फोटो खिच्न नपाउने होइन तर, यसरी ज्यानै लिनसक्ने स्थानमा अलि सजग रहनुपर्छ जस्तो लाग्छ मलाई । हामीले गरेको सानो गल्तीले ज्यानै जानसक्छ ।
भनिन्छ बगेको खोला फर्कदैन त्यसरी नै एकपटकको जीवन हामीबाट गुमेपछि फिर्ता पाउन सकिँदैन । मैले आफ्नो तारिफ गरेको होइन । तर, म जसरी अरुको ज्यान बचाउन यसरी नदीमा हाम फाल्ने कमै हुन्छन् । मैले त्यतिबेला मेरो बारेमा नसोची मानवताको नाताले नदीमा हाम फालेको हुँ । मानिस भइसकेपछि मलाई पर्दा अर्कोले र अर्कोलाई पर्दा मैले सहयोग गर्नुपर्छ ।
तर, सबैमा यो भावना हुँदैन । सबैलाई अरुको भन्दा आफ्नै ज्यान प्यारो लाग्छ । त्यसैले पनि हामी कुनै समस्या आनुनुभन्दा पहिले नै आफै सजग रहन सके समस्याको सामना नै गर्नुपर्दैन । बैनी नम्रतालाई बचाउन सके त्यसमा म जति खुसी छु अर्की बैनीलाई बचाउन नसक्दा त्यति नै म दुखी पनि छुँ । आफ्नो ज्यान जोखिममा हालेर सेल्फीको पछि नलाग्नुहोस् यो मजदुर इन्द्रको सानो आग्रह छ ।
(इन्द्रले काठमाण्डु टुडेका कृष्ण आचार्यसँग गरेको कुराकानीमा आधारित)
kathmandutoday
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment