ठूला र फराकिला सडक। न धुवाँ न धुलो। पर-परसम्म बगैँचा नै बगैँचा। झलमल बत्ती बलेको सहर, लाहोर।
नेपालभन्दा पाकिस्तान धेरै विकसित रहेछ। सबै कुरा सिस्टममै चल्ने।
सन् २०१५ मा पाकिस्तानको लाहोर आइपुग्दा मेरो दिमाग चक्कर खायो। यहाँको भूमिमा टेकदा आफूले समाचारमा देखेको र पढेका सबै कुरा सबै साँचो रहेनछन् भन्ने लाग्यो। किनकि टेलिभिजन र मिडिया मार्फत देखेको दृश्यले पाकिस्तानबारे मेरो दिमागमा बनेको पहिलो चित्र सकारात्मक थिएन।
स्नात्तकोत्तर पढ्नका लागि पाकिस्तान आइपुग्दा मेरो मनमा मिडियाबाट सिर्जित त्रासको पारो स्वात्तै घट्यो। पाकिस्तान आउने आफ्नो निर्णयमा खुसी भएँ।
तर त्यो आशा पछिल्लो डेढ वर्षको बसाइमा धूमिल बन्दै गइरहेछ। कारण हो, आफैँले भेटेका र चिनेका मानिसहरु आतंककारी हमलामा मारिएका छन्। अनि मूल सहरमै पनि आतंककारी हमला बढेका छन्। बस्, केही आतंकका घटनाले मेरो आशालाई निराशामा बदलिएको छ।
फ्रेब्रुअरी पहिलो सातादेखि पाकिस्तानमा क्रमैसँग आतंककारी हमला भएकाले होला म निराश भएको छु। आफ्नैअगाडि देखेको, सँगै काम गरेको व्यक्ति गुमाएको पीडा सायद यो मनले भुल्न सकेको छैन।
१३ फ्रेबुअरी त्यस्तै दिन रह्यो। लाहोरको अस्तव्यस्त ठाउँ मध्येको एक, पन्जाब विधानसभा, प्रहरी चौकीदेखि लिएर लाहोरको प्रायः मुख्य सरकारी कार्यलय रेहेको ठाउँ हो, मल रोड। पन्जाबको प्रान्तीय विधानसभाले औषधि ऐन १९७६ लाई परिमार्जन गरेको विरोधमा करिब ४ सय औषधि निर्माता र रसायन विज्ञहरु सडकमा उत्रिएका थिए।
नोभेम्बर २६ का दिन डिआइजी ट्राफिक पुलिसमा पदोन्नति भएका क्याप्टेन रिटार्यड सैयद मुअमद मुबिन तिनै प्रदर्शनकारीहरुलाई सडकमा व्यवस्थित पार्न खोज्दै थिए। उनी सडकमा सवारी व्यवस्थापनमा जुटेका थिए। उनी जाम खुलाउन प्रदर्शनकारीहरुलाई आग्रह गर्दै थिए। अचानक विस्फोट भयो। उनी आत्मघाती आक्रमणमा सहिद भए।
पाकिस्तानको ओभरसिज कमिसनमा रहँदा उनीसँग केही समय काम गर्ने मौका मिलेको थियो। कमिसनले पाकिस्तानमा रहेका विदेशीहरुको समस्याबारे बुझ्ने गर्थ्यो। हँसिलो र सेन्स अफ ह्युमरका लागि सबैमाझ परिचित उनलाई आतंकको छायाँले थप खुसी बाँड्ने मौका दिएन।
घटनामा उनीसँगै प्रदर्शनको सुरक्षा व्यबस्था हेरिरहेका एसएसबी जाहिद इकरम गोन्डल पनि सहिद भए। जमत–उल–उरहरले जिम्मेवारी लिएको हमलामा १६ जनाको मृत्यु भयो भने करिब ८७ जना घाइते भए।
उरहर समूहले सन् २०१६ को मार्च २७ मा गुल्सन–ई–ईकबाल पार्क, लाहोर हमलाको पनि जिम्मेवारी लिएको थियो। इसाई धर्माबलम्बीको पर्व इस्टरमा भएको आत्मघाती बम बिस्फोटमा ७५ जनाको मृत्यु भएको थियो भने ३४० जना घाइते भएका थिए।
लाहोरको सुरक्षित ठाउँ मानिने मध्येको एक मलरोडमा सुरक्षा अधिकारीहरुलाई लक्षित गरी भएको हमला नसेलाउदै त्यसै साता फ्रेब्रुअरी १५ मा सिन्द प्रान्तको सेहवानमा लाल साहवाज कलन्दरको तिर्थस्थलमा अर्को आत्मघाती बम बिस्फोट भयो।
प्रसिद्ध लाल साहवाज कलन्दरमा धार्मिक गतिविधि भइरहेका बेलामा भएको बिस्फोटमा महिला र बच्चाबच्ची सहित कम्तिमा ८८ को मृत्यु भयो भने २ सय बढी घाइते भए। आइएस आइएसले घटनाको जिम्मेवारी लियो। लगत्तै यति बेला पाकिस्तानमा त्रास फैलिएको छ। पाकिस्तान आइएसको हिटलिस्टमा परेको छ। पछिल्लो हप्तामा मात्र बोलचिस्तानको तहिस इदु यी, पेसावर, अफगान र पाकिस्तानको सीमा जोडिएको विभिन्न स्थलमा गरी ९ वटा आतंककारी हमलाहरु भएका छन्। पाकिस्तानका सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालमा पछिल्लो समय दैनिक आक्रमणका समाचार छाउँछन्।
एम्बुलेन्सको साइरनको आवाज नसुनिएको कुनै घन्टा छैन। रातिको समयमा विवाहको सिजन चलिरहेको छ। तर बन्दुकको आवाज सुनिन्छ।
यस्ता घटना र आवाजले रातमा निद्रा खुल्छन्। अनि सपनामा समेत डराउन थालेको छु। बहुमुल्य जीवन यसरी आखैँसामु अन्त्य भएको देख्दा आफ्नो देशको माया झन् बढी लाग्ने रहेछ। हो, यो हेर्दा/भोग्दा लाग्छ नेपाल साँच्चै शान्त छ, कमसेकम राति सुत्दा बिहान उठ्ने, नउठ्ने डर त हुँदैन।
आजकाल युनिभर्सिटी अफ पञ्जाबको होस्टलमा राति सुत्दा सकस हुन्छ। ऐठन हुन्छ। सिरियाको समाचारमा देखिएका दृश्य सपनामा आउँछन्। आफैँलाई गोली लागेको समेत सपनामा देख्न थालेको छु।
आफ्नो सुनौलो भविष्यको सपनामा रमाउने म आजकल द्वन्द्वको सपनामा अत्तालिन थालेको छु।
(पन्त युनिभर्सिटी अफ पञ्जाबमा स्नातकोत्तर अध्ययन गरिरहेकी छिन्।)
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment