Thursday, March 2, 2017

काठमाडौँ स्वाइन फ्लुका बिरामी फेला परेको पुष्टि


। गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका एक व्यक्तिमा स्वाइन फ्लु देखिएको छ ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले ललितपुरका एक पुरुषमा सो रोगको भाइरस पुष्टि भएको जानकारी दिए ।  नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको भाइरस देखिए पनि यस पटक निकै अगाडि सो रोगको भाइरस देखिएको डा पुनले बताए । उनले भने, “दुई हप्ताअघि रुघाखोकी र लामो समयसम्म ज्वरो आएर उपचार गर्न आएका ती बिरामीलाई स्वाइनफ्लुको शङ्का लागेर जाँच गर्दा स्वाइन फ्लुको भाइरस भएको पुष्टि भएको हो ।”

खोकी लागिरहने, घाँटी खस्खसाउने, १० दिनभन्दा बढी समयसम्म कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने भएमा स्वाइन फ्लु भएको हुन सक्ने भएकाले यस्तो लक्षण देखिनेबित्तिकै जाँच गराउनुपर्ने चिकित्सकको सुझाव छ ।

स्वाइन फ्लु सरुवा रोग एकार्कामा छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाच्छ्युँ गर्दा रुमालले मुख छोप्ने, साबुन पानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइन फ्लु शङ्का लागेमा बेलैमा परीक्षण गरी सतर्कता अपनाउन सकिने डा पुनले बताए ।
पुनले पछिल्लो अध्ययनले बढी प्रदूषण भएका देश र सहरमा यसको भाइरस बढी देखिएको बताउँदै काठमाडौँमा बढ्दै गएको वायु प्रदूषणले पनि सो रोगको जोखिम बढाउन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरे ।

शुक्रबार श्रवण दिवस

सरकारले बढ्दै गएको ध्वनि प्रदूषणबाट हुने बहिरोपन कम गर्न यस वर्ष मार्च ३ (फागुन २०) लाई ‘ध्वनि प्रदूषणलाई रोकौँ र बहिरोपनबाट बचौँ र बचाऔँ’ भन्ने नाराका साथ श्रवण दिवसका रुपमा मनाउन लागेको छ ।

स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको राष्ट्रिय बहिरोपन नियन्त्रण कार्यक्रमका फोकल पर्सन तथा वीर अस्पतालका नाक, कान, घाँटी विभाग प्रमुख प्रा डा ढुण्डीराज पौड्यालले हाम्रो जस्तो देशमा सङ्क्रमणका कारणले बहिरोपन हुने गरेको देखिए पनि पछिल्लो समय अत्यधिक सवारीसाधन प्रयोग, औद्योगिकीकरण, ट्राफिक जाम, विद्युतीय उपकरणको बढी प्रयोग, अनावश्यक ठूलो स्वरमा ध्वनि बजाउने कारणले मानिसको सुन्ने शक्तिमा ह्रास आइरहेकाले त्यसबारे जनचेतना जगाउनुपर्ने बताए ।
उनले भने, “बीस वर्ष पहिले विदेशी संस्थाले गरेको सर्वेक्षणमा नेपालका १६ प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको बहिरोपनको समस्या रहेको देखिएको थियो तर त्यसपछि कुनै अध्ययन भएको छैन । हामीले यसबारे अध्ययन गर्नेबारे पनि योजना बनाएका छौँ ।”

विश्व स्वास्थ्य सङ्गठनका अनुसार मानिसले ६० डेसिबलसम्मको ध्वनि मात्र सुन्न सक्छ तर अहिले सहरी क्षेत्रका मानिसले १०० डेसिबलसम्मको ध्वनिको सामना गरिहेको प्रा डा पौड्यालले बताए । सरकारले जनघनत्व बढी भएको स्थानमा सवारीसाधनलाई हर्न बनाउन निश्चित मापदण्ड बनाउनुपर्ने, लामो समयसम्म एकै प्रकारको ध्वनि बजिरहने स्थानमा नबस्ने, ठूलो स्वरमा कानमा एयरफोन लगाउनेजस्ता व्यवहार नियन्त्रण गर्नेतिर प्रभावकारी चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने चिकित्सक बताउँछन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment