Saturday, March 11, 2017

भैरहवामा ५० हजार कार्यकर्ता उतार्ने एमालेको दाबी

फागुन २८, बुटवल। नेकपा एमालेका नेताहरुले भैरहवामा हुने आमसभामा ५० हजार बढी कार्यकर्ता उतार्ने दावी गरेको अन्नपूर्ण पोस्टमा छ। शनिबार बिहान बुटवलमा पत्रकार सम्मेलन गर्दै नेताहरुले भैरहवामा हुने सभा हालसम्मकै ठूलो हुने बताएका छन् ।

मेची-महाकाली अभियान आइतबार प्रदेश नम्बर पाँचमा प्रवेश गर्दैछ । भैरहवाको अञ्चलपुरमा हुने सभामा आउने टोलीलाई आइतबार विहान वर्दघाटबाट स्वागत गरिनेछ । वर्दघाटको स्वागतपछि नवलपरासीको भुमहीमा पहिलो आमसभा हुने एमालेले जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपालसहितका केन्द्रीय पदाधिकारीहरु अभियानमा खटिरहेका छन् । भुमहीको सभापछि अभियान बुटवल हुँदै भैरहवाको अञ्चलपुरमा हुने आमसभामा जाने एमाले उपमहासचिव तथा प्रदेश कमिटी संयोजक विष्णु पौडेलले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै पौडेलले एमालेको अभियान कसैको विरुद्धमा नभई राष्ट्रियताको लागि भएको बताए । सबै नेपालीको पक्षमा रहेको अभियान अहिलेको मुख्य चासोको विषय भएको उनले बताए ।
आपसी एकता, सद्भाव कायम गर्नका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले यसलाई कसैले अवरोध गर्न आवश्यक नरहेको बताए । संविधान निर्माणको अगुवा दलले संविधानको रक्षाका लागि गरेको अभियान संविधान अनुसार नै भएको पौडेलले दावी गरे ।
कुनै पनि राजनीतिक शक्तिलाई नेपालको जुनसुकै स्थानमा जान कसैले अवरोध गर्न नहुने उनले बताए । उनले सप्तरीमा भएको घटना दुःखद भएको भन्दै त्यहाँ स्थगित भएको तीन दिनको अभियान दोस्रो चरणमा सञ्चालन गर्ने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै एमालेका अर्का उपमहासचिव घनश्याम भुसालले सप्तरीमा भएको अवरोध एमालेको अभियानमा नभई एजेण्डामा भएको बताए । यो अभियानले संविधान कार्यान्वयन, निर्वाचनको माहोल निर्माण र जनमत संकलनका लागि भएको बताए ।





नेता भुसालले संविधान कार्यान्वयन अत्यन्त चुनौतिपूर्ण रहेको भन्दै सबै शक्तिहरु एक हुनुपर्ने बताए । क्रान्तिमा सहभागि भएका शक्तिहरु एक भएमात्रै क्रान्तिबाट प्राप्त उपलब्धी बचाउन सकिने उनले बताए । संविधान कार्यान्वयनका लागि तीन पार्टी एक स्थानमा उभिनुपर्ने वा तीन पार्टी वरावरको जनमत एउटा पार्टीले लिनुपर्ने दुई विकल्प रहेको उनले दावी गर्दै एमालेले संविधान कार्यान्वयनका लागि हदैसम्मको तत्परता देखाइरहेको बताए ।
भैरहवाको सभापछि नेताहरुको बुटवलमा बास बस्ने एमालेले जनाएको छ । फागुन ३० गते सैनामैनाको रामापुरमा खाना खाई कपिलवस्तुको चार नम्बरमा सभा हुने जानकारी एमालेले दिएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment