कतिपयले आधुनिकताको विकृति मान्ने ट्याटु, ग्राफिटी, पियरसिङ, साइबर सेक्स, बुज, ड्रग जस्तै आंशिक वा पूर्णरुपमा पुरुष लिङ्गमा रहने अग्रचर्म काट्ने शल्यक्रिया (सर्जरी) अर्थात् सर्कम सिजनको चलन विकसित देशमा जस्तै नेपालमा पनि सामान्य जस्तै हुन थालेको छ ।
विश्वभरका एक तिहाइसम्म पुरुषले अग्रचर्म कटान गराएको तथ्यांक छ । मुस्लिम समुदायमाझ प्रचलित भए पनि दक्षिणपूर्वी एशिया, अफ्रिका, अमेरिकामा पनि चल्तीमै छ यो सर्जरी । यसको शुरुवात यहींबाट भयो भन्ने यकिन छैन तथापि चर्म कटानको सबभन्दा पुरानो प्रमाण भने प्राचीन इजिप्टमा पाइएको छ । केही साता अगाडि जर्मन चान्सलरले यो प्रथाको बिरोधमा उभिँदा आफ्नै पार्टीका मुस्लिम र यहुदी समूहको आलोचना खेप्नुप¥यो र मध्यमार्गी बाटो अपनाई धार्मिक विश्वासले अग्रचर्म कटान गराउन सकिने निर्णय लिनुप¥यो ।
धार्मिक त्याग, युवावस्थामा पुग्नुको निशानी, प्रजननका लागि क्षमतावान भयो भन्ने ढाडस, यौन सन्तुष्टी बढाउने माध्यम, सरसफाई गर्न नसकिने अवस्थामा विकल्प, आपूmलाई उच्च खानदानको देखाउन, शत्रु र दासको सेखी झार्न, पीडा खप्न सक्छु भन्ने प्रमाणित गर्न र महिलामा मासिक श्राव हुनु वा हाइमेन च्यातिनुकै दाँजोमा यसलाई लिइन्छ । पिसाबको प्वाल साँगुरो हुने, अग्रचर्म वा लिङ्गको टुप्पो वा दुवैमा सुजन हुने समस्या भएमा यो शल्यक्रिया उपचार वा रोकथामको रुपमा अर्थात् गैरधार्मिक उद्देश्यले पनि गरिन्छ ।
के हो सर्कम सिजन ?
अग्रचर्मले लिङ्गको टुप्पोलाई ढाकिराखेको हुन्छ । अग्रचर्म कटान शल्यक्रियालाई मेडिकल भाषामा सर्कमसिजन भनिन्छ । ल्याटिन भाषामा सर्कमको अर्थ वरिपरि र सेडेरको अर्थ काट्नु भन्ने बुझिन्छ । घाउलाई निको हुन दिन आराम चाहिने हुनाले अग्रचर्म कटाएको ४ देखि ६ हप्तासम्म हस्तमैथुन र यौनसम्पर्क गर्नु हुँदैन ।
शल्यक्रिया गर्दा पीडा हुने भएकाले बालकको लिङ्गको फेदमा चारैतिर सूई दिई वा लिङ्गमै मल्हमका रुपमा लठ्याउने औषधि हालिन्छ । वयस्कलाई भने चर्म कटानपूर्व पूरै लठ्याउने एनेस्थेसिया चाहिन सक्छ । तर सन् १९९८ मा गरिएको अध्ययन अनुसार केवल ४५ प्रतिशत चिकित्सकले मात्र पीडानाशक औषधि दिने गरेका छन् । अग्रचर्म कटान गर्ने यहुदी अगुवाले भने लठ्याउने औषधि चाहिँदैन भन्ने सोच्छन् र साधारणतया उनीहरु औषधि प्रयोग गर्दैनन् पनि । तर स्वीडेनमा चाहिँ सन् २००१ मा त्यहाँको सरकारले एनेस्थेसिया दिनैपर्ने बाध्यकारी कानून तय ग¥यो ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रायःजसो बाल्यकालमै चर्म कटान गर्ने गरिन्छ । संगठनका अनुसार, २० वर्षको शुरुवातसम्ममा गरिसक्ने अग्रचर्म कटानको शल्यक्रिया ३० प्रतिशतले १५ वर्ष मुनि नै गर्ने गरेका छन् । जसमध्ये ७० प्रतिशत मुस्लिम समुदायका छन् । यो शल्यक्रिया उत्तरी पश्चिम अफ्रिकी मुलुकमा प्रायःजसोले गराउने गरेका छन् । यसको ठिक उल्टो फिनल्याण्डमा शुन्यप्रायःले त्यसपछि स्पेन, कोलम्बिया र डेनमार्क जस्ता मुलुकमा २ प्रतिशत भन्दा कमले मात्र गराउँछन् । छाला फर्काइएका लिङ्गलाई पूर्ण रुपमा नाङ्गो मान्ने हुनाले ग्रिकहरू यो काम गर्न मन पराउँदैनन् ।
जोखिम छ कि ?
यो शल्यक्रिया गराएका २ प्रतिशत शिशु अनि ६ प्रतिशत बाल्यावस्थाकामा जटिलता देखिन्छ । उनीहरुमा साधारण रक्तश्राव, संक्रमण र पिसाब बहने प्वाल साँगुरिने बाहेक खासै गम्भीर जटिलता हुँदैन । शल्यक्रिया गराइएका मध्ये ३५ प्रतिशतसम्ममा हुनसक्ने रक्तश्राव पनि थोरै थिचेको भरमा नियन्त्रण हुन्छ । तर सर्जनले ढङ्ग पु¥याएन भने चाहिँ छालाको मात्रा थोरै वा धेरै काटिने एवं पिसाब चुहिने समस्या हुनसक्छ । सानो उमेरमा गर्दा विपरीत दिशाको बाँकी छाला टाँसिइ पुल जस्तो बन्छ र पछि लिङ्ग उत्तेजित हुँदा पीडा हुने र थोरै रक्तश्राव हुने गर्छ । अन्य जटिलतामा अल्सर हुने र लिङ्ग नै कुहिने संभावना पनि हुन्छ । अग्रचर्म कटान गरेकै कारण मृत्यु हुने सम्भावना अति कम हुन्छ । अर्थात् हरेक ५ लाखमा १ जनाको मृत्यु हुने सम्भावना हुन्छ । बरू लिङ्ग नष्ट हुने सम्भावना भने लाखमा एक जनामा हुने गरेको तथ्यांक छ ।
फाइदा र बेफाइदा
अग्रचर्म कटानको शल्यक्रियाले यौन दुर्बलता हटाउँछ र यौन सन्तुष्टी बढाउँछ भन्ने पनि छ । अग्रचर्मले नढाकिएको लिङ्गको टुप्पो केही समयका लागि अति संवेदनशील हुने हुनाले बढ्ता यौन आनन्द पाइन्छ । नेपालमा हाल फेशनका रुपमा अग्रचर्म कटाउने चलन बढ्नुको कारण यही हो । कतिपयलाई अग्रचर्म बेगरको टुप्पो अण्डरवेयर वा पाइन्टमै घर्षण हुँदा त्यतिकै पनि आनन्दको अनुभव हुँदो हो । तर शल्यक्रियाकै क्रममा लिङ्गको संवेदना थाहा पाउने र यौन सन्तुष्टीका लागि आवश्यक पर्ने हजारौं रिसेप्टर एवं स्नायुका टुप्पा खेर जाने हुनाले पछि गरिएको चर्म कटानबाट यौन सन्तुष्टीमा कमी पनि आउन सक्छ । घर्षणका कारण बिस्तारै लिङ्गको टुप्पो खस्रिन थालेपछि भने पहिले पहिले यौनसम्पर्क हुँदा प्राप्त हुने वास्तविक आनन्द पनि बेस्वादको हुन सक्छ ।
स्नायुको अधिक उत्तेजनाले उल्टो असर पनि हुनसक्छ । यसको अलावा सानैमा बलपूर्वक गरिएको अग्रचर्म कटानले मानसिक चोट पुगी नकारात्मक असर पनि देखिन सक्छ । त्यसैले पनि सन् २००७ मा अमेरिकन एकेडेमी अफ फेमिली फिजिसियनले अग्रचर्म कटानको शल्यक्रियाले लिङ्ग संवेदनशीलता र यौन सन्तुष्टी प्रष्ट हुँदैन भन्ने निष्कर्ष निकालेको थियो । त्यसमाथि वयस्क उमेरमा गरिने अग्रचर्म कटानले त झनै यौनकार्य र सन्तुष्टीमा फरक पर्दैन । यसैबाट विरक्तिएर होला कतिपयले छाला फर्काउने शल्यक्रिया गराएका छन् ।
अफ्रिकामा गरिएको अध्ययन अनुसार शल्यक्रियापछि समलिङ्गी पुरुष माझ एचआईभी सर्ने सम्भावना ३८ देखि ६६ प्रतिशतले कमी आएको छ । यो तथ्यांकबाट हौसिएको विश्व स्वास्थ्य संगठनले एचआईभी व्याप्त मुलुकमा शल्यक्रियालाई एचआईभी संक्रमण नियन्त्रणको एउटा रणनीतिका रुपमा लिएको छ । अनुभवी सर्जनबाट गराउनुपर्ने र यसलाई एचआईभी संक्रमणका अन्य उपायको विकल्पका रुपमा नलिन भने सजग गराएको छ । एचआईभी संक्रमण घटाउने अन्य उपाय जस्तै सुरक्षित सेक्स र कण्डमको प्रयोग पनि उत्तिकै जोड दिइएको छ । तर विडम्वना अफ्रिकी मुलुकमा, धार्मिक महत्वले गरिने अग्रचर्म कटान प्रायसः ननमेडिकल व्यक्तिले र असुरक्षित तरिकाले गरिन्छ ।
अग्रचर्म कटान शल्यक्रियाले गुप्ताङ्गमा मुसा आउने (हर्पिस सिम्प्लेक्स) संक्रमणमा २८ प्रतिशतले कमी आउँछ । पुरुष लिङ्गको क्यान्सर एवं पिसाब नली संक्रमणको जोखिम पनि कम गरेको पाइयो । तर यो शल्यक्रियाले भिरिङ्गी, धातुमेह, क्लामाइडिया तथा ट्राइको मोनासजस्ता अन्य यौनजन्य संक्रमणको हकमा मिश्रित परिणाम देखिएको छ । लिङ्गको टुप्पो र अग्रचर्म बीचको भाग ओशिलो र न्यानो हुने तथा त्यहाँ रहेको ग्रन्थीबाट श्राव उत्पादन भइरहने हुनाले किटाणु वृद्धि गर्न उपयुक्त वातावरण हुन्छ । त्यसैले अग्रचर्म ननिकालिएकामध्ये ४ देखि ११ प्रतिशतसम्ममा सरसफाईको कमीले संक्रमण हुने गरेको छ । अग्रचर्म कटान शल्यक्रियाले गुप्ताङ्गको सरसरफाईमा मद्दत पुग्छ । यही कारणले सरसफाईको कमीले हुने लिङ्गका विभिन्न संक्रमण रोक्न यो बिधि रामवाण पनि हुनसक्छ । अरु अंगमा भन्दा लिंगमा क्यान्सर विरलै हुन्छ । त्यसैकारण यसमा क्यान्सर रोक्न अमेरिकन क्यान्सर सोसाइटीले अग्रचर्म शल्यक्रिया गर्न सल्लाह दिँदैन ।
अग्रचर्मको कटानले पिसाब नलीको संक्रमणको जोखिम घटाएपनि यसले पुग्ने फाइदा र पिसाब नलीको संक्रमणको जोखिमको सामन्जस्यता हेर्नुपर्छ । एक जना व्यक्तिलाई पिसाब नलीको संक्रमणबाट बचाउन १ सयदेखि २ सय को संख्यामा अग्रचर्म कटान शल्यक्रिया गर्नुपर्छ । अग्रचर्म कटानका लागि कुल लागत खर्च र फाईदा विश्लेषण गर्नेले फरक फरक निष्कर्ष निकाल्ने गरेका छन् । त्यसैले होला कोही घाटाको कुरा त कोही यसबाट पुग्ने फाइदाको बहस गर्ने गर्छन् ।
फाइदाको पक्षमा गरिने तर्क पनि अचम्मका छन् । कतिपय देशमा अस्पतालमा निकालिएको अग्रचर्म बायोमेडिकल रिसर्चका लागि, छालाजन्य वस्तु उत्पादन गर्न, समस्या भएको ठाउँमा छाला टाल्न, कुनै औषधि उत्पादन गर्न प्रयोग गर्ने गरिएको छ ।
कटान घट्दो
अमेरिका, क्यानाडा, दक्षिण अफ्रिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड गैरधार्मिक उद्देश्यले अग्रचर्म कटान गराउने देश हुन् । अमेरिकामा सन् १९३३ मा यो प्रचलन केवल ३२ प्रतिशत मात्र थियो । जुन सन् १९६५ ताका ८५ प्रतिशतसम्म पुग्यो भने पछिल्लो तथ्यांक (२०१०) अनुसार चर्म कटान गर्नेको आँकडा ५५ प्रतिशत मात्र छ । अष्ट्रेलियामा पनि सन् १९७० को दाँजोमा चर्म कटान गर्नेको संख्या स्वाट्टै घट्यो । सन् १९९४ देखि क्यानाडामा नियमित स्वास्थ्य सेवाको सूचीबाट हटाइयो भने बेलायतमा अहिले दुवै अभिभावकको स्वीकृतिमा मात्र गरिन्छ ।
अधिकारको कुरा
एलानिस र ल्युसिडीका अनुसार बाल्यकालमै गरिने अग्रचर्म कटान शल्यक्रिया विश्वका सबभन्दा पुरानो विवादास्पद अपरेशन हो । तथ्यगत आधारमा लिङ्गको टुप्पा ढाक्ने अग्रचर्म कटान जन्मजात विकृति पनि होइन । यो बिषयमा बच्चा वा बालकको शरीरमा उसैको अधिकार हुनुपर्छ भन्ने आवाज उठाउनेको पनि कमी छैन । अभिभावकले अडान लाद्ने भन्दा पनि बच्चाको इच्छाको कदर गर्नुपर्छ र सम्बन्धित चिकित्सकले पनि अभिभावकले भन्दैमा गरिदिने भन्दा पनि न्यायोचित निर्णय गर्नुपर्छ । अग्रचर्म कटान स्वैच्छिक रुपमा गरिने शल्यक्रिया हुनु पर्दछ । युएनएड्सका अनुसार अग्रचर्म कटानबाट हुने फाइदा र बेफाइदाबारे ग्राहकलाई थाहा हुनुपर्छ ।
बालकमा धार्मिक वा गैरधार्मिक जुनै उद्देश्यले पनि अग्रचर्म निकाल्नु कति जायज छ त ? अहिलेको विश्वमा यसलाई मानव अधिकार उल्लंघनका रुपमा पनि लिने गरिएकोे छ । आधुनिक चिकित्सा विधाका पण्डितले पनि नियमित रुपमा अग्रचर्म निकाल्न सल्लाह दिँदैनन् । त्यसो भन्दैमा यसबिरुद्ध पनि उनीहरु सक्रिय तवरले लागिपरेका भने छैनन् । किनकि यो शल्यक्रिया कसैकसैका लागि आम्दानीको स्रोत पनि बनिरहेको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
Inform me thank you
ReplyDelete