Wednesday, March 15, 2017

यस्तो छ स्थानीय तहको अधिकार सूची,गाउँपालिकाले के-के पाउँछ अधिकार ?

काठमाडौं,चैत २ – नवगठित गाउँपालिका र नगरपालिकाले थप अधिकार के के पाउने भन्नेबारे अनुसूचीमा विवरण मन्त्रालयले जारी गरेको छ ।

सार्वजनिक विवरण अनुसार अव गाउँपालिका र नगरपालिकाहरुले आफ्नो काम गर्नुपर्ने स्थानीय विकास मन्त्रालयले आदेश दिएको छ ।

 दुई वा दुई भन्दा बढी गाविसहरु गाभेर बनाइएका नयाँ गाउँपालिका र नगरपालिकाहरुमा वडा कार्यालयहरुको व्यवस्थापन गर्नुपर्ने मन्त्रालयको आदेशमा उल्लेख छ ।

मन्त्रालयले स्थानीय तहलार्इ विभिन्न २८ वटा अधिकार प्रत्यायोजन गरेको छ । यसका अतिरिक्त निर्देशिका अनुसार सिफारिस गर्ने ३७ वटा अधिकारलार्इ समेत जोड्दा स्थानीय तहले ६५ वटा अधिकार प्रयोग गर्न पाउने भएका छन् । यस्तो सिफारिसको अधिकारमा मन्त्रालयले जारी गरेको आदेशमा नयाँ गाँउपालिका र नगरपालिहरुलाई बैवाहिक अंगिकृत नागरिकताको सिफारिस गर्ने, प्राथमिक तहको विद्यायल खोल्ने, विद्यालय सार्ने, उद्योग ठाँउसारी सिफारिस सम्मको अधिकार प्रदान गरिएको छ ।

साथै विगतमा गाविस वा नगरपालिकाले प्रयोग गर्दै आएका सबै अधिकार गाँउपालिका र नगरपालिकाले प्रयोग गर्न पाउनेछन् ।

गाउँपालिकाले कानुन बनाई लागु गर्न भने गाउँपालिका वा नगरसभाले अनिवार्य रुपमा अनुमोदन गर्नुपर्ने छ । त्यस्तै गाउँपालिका वा नगरपालिकाको वडाको काम कर्तव्य र अधिकार मन्त्रालयले जारी गरेको आदेशको अनुसुचि १ को बुँदा नम्बर ३ मा प्रष्ट खुलाइएको छ । जसमा राजश्व संकलन, तथ्याङक अद्यावधिक तथा संरक्षण, विकास, स्वास्थ्य शिक्षा, उद्योग, यातायात लगायत रहेका छन् ।

स्थानीय तह पुनर्संरचना आयोगले दिएको प्रतिवेदनअनुसार मंगलबारबाट ७ सय ४४ वटा स्थानीय तहले औपचारिक काम सुरु गरेका छन् ।

 चार महानगरपालिका, १३ उपपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकाले काम थालेका छन् । यस अघि एउटा मात्रै महानगरपालिका भएपनि अब चाहिँ महानगरपालिकाको संख्या चार पुगेको छ । ललितपुर महानगरपालिका, पोखरला लेखनाथ महानगरपालिका र चितवनमा भरतपुर महानगरपालिका बनेका हुन् ।

वडाबाट के के पाईन्छ सुविधा ?
महानगरपालिकामा सह सचिव कार्यालय प्रमुख रहनेछन भने उपमहानगरपालिका र नगरपालिकामा उप सचिव कार्यालय प्रमुख रहने छन् । गाउँ गाउँमा गठन भएका गाउँपालिका प्रमुखमा शाखा अधिकृत रहने छन् ।  जिल्ला विकास समिति विघठन भएर जिल्ला समन्वय समितिमा परिणत भएको छ ।



गाउँपालिका र नगरपालिकाको तल्लो तहका रुपमा वडा कार्यालयले काम गर्नेछन्। पुनर्संरचना हुँदा यसअघिका केही गाविस एउटा वडा बनेका छन् भने केही गाविस दुई वडामा बाँडिएका छन्। स्थानीय विकास मन्त्रालयले स्थानीय तह शासन सञ्चालन सम्बन्धमा जारी गरेको आदेशमा वडा कार्यालयहरूले गर्नुपर्ने कामको सूची उल्लेख गरिएको छ।

 ती वडा कार्यालयले सेवाग्राहीका नाता प्रमाणितदेखि नागरिकता सिफारिससम्मका काम गर्नेछन्। आदेशअनुसार वडा कार्यालयले नाता, जन्ममिति, विवाहित-अविवाहित, फरक फरक नाम, थर, जन्म मिति, कागज र मन्जुरीनामा, संरक्षक, जीवितसँगको नाता, हकवाला वा हकदार, मृतकसँगको नाता, आर्थिक अवस्था कमजोर वा विपन्नता र आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित गर्न सक्नेछन्।

त्यस्तै व्यक्तिगत संरक्षक, नागरिकता र नागरिकताको प्रतिलिपि, बहाल करको लेखाजोखा, कोठा खोल्न रोहबरमा बस्ने, मोही लगत कट्टा, घरजग्गा करको लेखाजोखा, व्यापार व्यवसाय बन्द भएको वा सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको, मिलापत्र कागज गराउने निवेदन सिफारिस गर्नेछन्।

 सेवाग्राहीले निःशुल्क वा सशुल्क स्वास्थ्य उपचार, आफ्नो अधिकार क्षेत्रका विषयमा अंग्रेजी भाषामा सिफारिस, घर सिफारिस, व्यक्तिगत विवरण, पुर्जामा घर कायम, दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिस, नाम, थर, जन्ममिति संशोधन, जग्गा धनी पुर्जा हराएको, कित्ताकाट र नामसारी सिफारिस पनि वडा कार्यालयबाट पाउनेछन्।

जग्गाको हकसम्बन्धी सिफारिस, सर्जमिन, उद्योग ठाउँसारी, जीवित रहेको सिफारिस, पूर्वप्राथमिक विद्यालय खोल्न, जग्गा मूल्यांकन, विद्यालयको कक्षा वृद्धि, पालनपोषण, वैवाहिक नागरिकता, विद्यालय ठाउँसारी, धारा तथा विद्युत जडान सिफारिश पनि वडा कार्यालयबाट नै पाउने छन्।

आदेशअनुसार प्रत्येका वडा कार्यालयमा सचिवसहित तीन जना कर्मचारी हुनेछन्। यसअघि गाविस स्तरमा सुब्बा र खरदारलाई गाविस सचिवका रूपमा पठाउने गरिएको थियो। उनीहरूले अब वडा सचिवका रुपमा काम गर्नेछन्।



Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment