Wednesday, March 15, 2017

क्यान्सरबाट जोगिन के खाने, के नखाने ?


के खाने ?
ब्रोकाउली : काउली परिवारका सबै तरकारीमा क्यान्सरनिरोधी गुण बढी पाइने गरे पनि ब्रोकाउलीमा यसको मात्रा सबैभन्दा उच्च हुन्छ। ब्रोकाउलीमा सल्फोराफेनको मात्रा अधिक हुन्छ, जसले क्यान्सर लगाउने, ट्युमर बढाउने शरीरभित्रका रसायनलाई निस्तेज गर्ने गर्छ । ब्रोकाउली खाइरहने गर्नाले स्तन, कलेजो, फोक्सो, प्रोस्टेट, छाला, पेट लगायतका क्यान्सर हुने जोखिम कम हुन्छ ।
मसिना फलफूल : स्ट्रबेरी, किम्बु, काफलजस्ता मसिना आकारका फलफूलमा क्यान्सरविरुद्ध लड्ने फाइट्रोन्युट्रियन्ट्स तत्व प्रशस्त हुन्छ, जसले शरीरका अंग विशेषमा क्यान्सरका कोषिकाहरूको विकास र विस्तारलाई रोक्ने काम गर्छ । साथै, रक्तकोषिका तथा धमनीमा क्यान्सरमुखी रसायनको विकासलाई पनि यसले कम गरिदिन्छ । यस्ता फलफूल खाइरहने गर्नाले आमाशय, मुख र छालाको क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।



गोलभेँडा : गोलभेँडामा पाइने क्यारोटेनोइड नामक तत्वले यसलाई रातो बनाउँछ । यही तत्वले गर्भाशयमा हुने क्यान्सरका कोषिकाहरूको विकासलाई रोकिदिने गर्छ । यसले फोक्सो, प्रोस्टेट र पेटको क्यान्सरको जोखिम पनि कम गरिदिन्छ ।
ओखर : ओखरमा पाइने फाइटोस्टेरोल्स नामक तत्वले स्तनमा क्यान्सर गराउने कोषिकाको विकास अवरुद्ध गरिदिन्छ । ओखरले प्रोस्टेट क्यान्सर लाग्ने जोखिम पनि घटाउँछ ।
लसुन : लसुनमा पाइने फाइटो केमिकलले क्यान्सरविरुद्ध लड्ने क्षमता दिलाउँछ । आइवा वुमन्स हेल्थ स्टडीले गरेको एउटा अनुसन्धानले बढी लसुन खाने महिलालाई पाठेघरसम्बन्धी क्यान्सर हुने जोखिम कम लसुन खाने महिलाको भन्दा ५० प्रतिशत कम हुने पत्ता लगाएको थियो । लसुनले स्तन र पेटको क्यान्सर लाग्ने सम्भावना पनि कम गराउँछ ।
सिमी : सिमीजस्ता गेडागुडी खाँदा शरीरमा फ्याट्टी एसिड उत्पादन बढी हुन्छ, जसले मानिसलाई क्यान्सर रोगबाट बचाउँछ । यस्ता गेडागुडी खाइरहने गर्नाले स्तन र पाठेघरसम्बन्धी क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।
सलाद : सलाद खाँदा गाढा हरियो रङका तरकारीको सलाद खानु क्यान्सरको जोखिम हटाउने दृष्टिकोणले बढी लाभदायक हुन्छ । गाढा हरियो तरकारीमा क्लोरोफिलको मात्रा बढी हुन्छ र यस्ता तरकारी खाँदा शरीरमा म्याग्नेसियमको आपूर्ति बढ्न जान्छ । म्याग्नेसियमले क्यान्सरका जीवाणुलाई कमजोर पार्ने र नयाँ स्वस्थ कोषिकाको विकासका लागि अनुकूल वातावरण बनाउने गर्छ ।
बढी खानु हानिकारक
बोसोयुक्त मासु  : बोसोयुक्त मासु र जनावरको बोसो हालेर बनाइएको चिज, बटरजस्ता खाना भरिसक्के खानु हुँदैन । यस्ता खानाले क्यान्सर हुने जोखिम बढाउँछन् । मासुको सट्टा माछा खानु उपयुक्त हुन्छ ।
रक्सी : रक्सीको लत लागेको छ भने दुई पेगभन्दा बढ्ता नखाने गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । बढी रक्सी खाने गर्नाले मुख, पाठेघर र स्तनसम्बन्धी क्यान्सर हुने जोखिम बढी हुन्छ ।
तारेको खानेकुरा : तारेको खानेकुरा बढी खाइयो भने शरीरमा एक्रिलामाइड नामक तत्वको सञ्चय बढ्छ, जसले पुरुषमा सन्तान उत्पादन गर्ने क्षमता कम गरिदिनेदेखि क्यान्सर लगाउनेसम्मको जोखिम बढाउँछ । उसिनेको खानामा एक्रिलामाइड तत्व कम हुन्छ । त्यसैले उसिनेको परिकार लाभदायक हुन्छ ।
रातो मासु : सुंगुर र खसीको फलमासु खान मज्जा आउँछ । तर, यस्तो रातो मासु बढी खाने गर्नाले क्यान्सर लाग्ने जोखिम बढी हुन्छ । बार्बिक्यू गरिएका मासु र ससेजजस्ता मांस परिकार बढी खाने गर्नाले पनि क्यान्सरको जोखिम बढी हुन्छ । रातो मासु दिनमा १ सय ४० ग्रामभन्दा बढी खानु हुँदैन ।
नुन : दिनमा छ ग्रामभन्दा बढी नुन खानु हुँदैन । नुन बढी खाने गर्नाले उच्च रक्तचाप र हृदयाघातको मात्र नभई क्यान्सरको जोखिम पनि बढी हुन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment