Tuesday, March 7, 2017

लहानमा मोर्चाद्वारा एमाले कार्यालय तोडफोड, मानवअधिकारको गाडी र सरकारी कार्यालय निशानामा


 - मधेशी मोर्चाका कार्यकर्ताले सप्तरीको राजविराज स्थित नेपाल टेलकिम र राजविराज नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् । कार्यालयहरूमा सामान्य क्षति पुगेको छ ।


सशस्त्र प्रहरीको कडा सुरक्षाकाबीच मोर्चाका कार्यकर्ताले कार्यालयमा आक्रमण गरेका हुन् ।

अपडेट


 मोर्चाका कार्यकर्ताले मंगलवार विहान नेकपा एमालेको लहान नगरपालिका – १ स्थित क्षेत्रीय कार्यालयमा ढुङ्गामुढा गरी तोडफोड गरेका छन् ।

सप्तरीमा झडपका क्रममा प्रहरीको गोली लागेर मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा बिहानैदेखि प्रदर्शन गरिरहेका मोर्चाका कार्यकर्ताले एमालेको कार्यालय तोडफोड गर्न थालेपछि सुरक्षाकर्मीले मोर्चा कार्यकर्तालाई लखेट्ने क्रममा दुई पक्षबीच केहीबेर ढुङ्गामुढा समेत भएको थियो ।

आह्वान गरिएको मधेस बन्दलाई सफल बनाउन मोर्चा कार्यकर्ताले बिहानैदेखि लहान, गोलबजार, मिर्चैयालगायत स्थानमा प्रदर्शन गरिरहेका छन् ।

मानवअधिकार आयोगको गाडी र दुई सरकारी कार्यालय तोडफोड
त्यसैगरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन तीव्र पारेका छन् ।

नेकपा एमालेद्वारा आयोजित मेची–महाकाली अभियानको विरोधमा विगत चार दिनदेखि आन्दोलनमा रहेका कार्यकर्ताले सोमबार राजविराज औद्योगिक क्षेत्रमा आफ्ना सहकर्मीको प्रहरीद्वारा हानिएको गोलीबाट मृत्यु भएको विरोधमा मोर्चाले जिल्ला प्रशासन कार्यालय सप्तरी घेराउ गर्नुका साथै दुई सरकारी कार्यालयमा तोडफोड गरेका छन् ।

प्रहरीका अनुसार मोर्चाका कार्यकर्ताले राजविराज नगरपालिका कार्यालय र नेपाल टेलिकमको कार्यालयमा तोडफोड गरेका छन् । हजारौँको सङ्ख्यामा आएका प्रदर्शनकारीले अहिले जिल्ला प्रशासन कार्यालय घेरिरहेका छन् ।

‘कार्यकर्ताको मृत्यु हुँदा कुनै पनि सहयोग नगरेको’ जनाउँदै प्रदर्शनकारीले आज राष्ट्रिय मानवअधिकार आयोगको गाडीसमेत तोडफोड गरेको त्यहाँ उपस्थित कर्मचारीले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय अगाडि राखिएको आयोगको बा ७ च ७४७३ नंको गाडीमा प्रदर्शनकारीले तोडफोड गरेको बताइएको छ । गाडी तोडफोडपछि त्यसमा रहेका चार जना कर्मचारी जिल्ला अदालतमा सुरक्षाका लागि बसेका छन् । अहिले जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालयलगायत सरकारी कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रदर्शनकारीले घटनाको छानबिन, मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार, मृतकलाई सहिद घोषणा र दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै नगर परिक्रमासमेत गरेका छन् ।

एमालेको कार्यक्रम बिथोल्न गएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार साँझ भएको झडपमा मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा आज (मङ्गलवार) र बुधवार मधेस बन्द आह्वान गरिएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment