Thursday, April 27, 2017

एमालेको अडानले सरकार पछि हट्यो, रात परेपछि सत्ता र प्रमुख प्रतिपक्षीबीच भयो सहमति

संसद बैठक सूचारु, संविधान संशोधन प्रक्रिया अगाडि बढ्यो

काठमाडौं, १३ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानपछि सरकार तराईमा स्थानीय तहको संख्या थप्ने निर्णयबाट पछि हटेको छ ।

प्रमुख चार दलका शीर्ष नेता कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अधयक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाबीच आज दिनभर भएको वार्तामा स्थानीय निकायको संख्या थप्ने निर्णयमा एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए ।

बुधबार राति ९ बजेतिर सकिएको बैठकमा स्थानीय निकायको संख्या थप्ने विषयमा दुई पक्ष मिलेर जाने सहमति भएको प्रमुख सचेतक श्रेष्ठको भनाई छ । ‘सत्ता पक्ष र प्रमुख प्रतिपक्षीबीचको केहीबेर अघि भएको सहमतिपछि संविधान संशोधन प्रक्रिया अघि बढेको छ,’ उनले भने- ‘स्थानीय तहको संख्या थप्ने योजना प्रतिपक्षीको समेत परामर्शमा अगाडि बढाउने सरकार तयार भएपछि सहमति भएको हो । उक्त सहमतिपछि एमालेले हिजो र आज संसदमा गरेको गतिरोध अन्त्य गरेको छ ।’

यसअघि सरकारले मधेसी मोर्चाको सहमतिका आधारमा तराईका ११ जिल्लामा स्थानीय तहको संख्या थप्न परिपत्र गरेको थियो । यो निर्णयको विरोध गर्दै एमालेले मंगलबार र बुधबार गरी दुई लगातार संसद बैठक अवरोध गरेको थियो ।

संसद सूचारु, संविधान संशोधन प्रक्रिया अगाडि बढ्यो
सत्ता र प्रतिपक्षीबीच सहमति भएसँगै मंगलबारदेखि अवरुद्ध संसद सूचारु भएको छ । बुधबार राति बसेको बैठकमा सभामुख ओनसरी घर्तीले संविधान संशोधन प्रक्रिया अगाडि बढाएकी छन् । सैद्धान्तिक छलफलका लागि संविधान संशोधन विधेयक संसदमा पेश भएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment