Wednesday, July 29, 2015

डीएसपीलाई कमलनयनाचार्यको चेतावनी : ‘हस्तक्षेप भयो भने एक हप्ता पनि तिमी टिक्दैनौ।’

चक्काजाममा प्रहरी मुकदर्शक। हिन्दू राष्ट्रबाट पछि नहट्ने हिन्दूवादीको उद्घोष

मंगलबार इटहरीमा संविधानमा हिन्दू राष्ट्र लेखिनुपर्ने माग राख्दै चक्काजाम गरेर आन्दोलित हिन्दूवादीलाई लखेटेको प्रहरी बुधबार भने मुकदर्शक बन्यो।
इटहरीमा श्री निवासाचार्य तथा वैदिक सनातन हिन्दू राष्ट्र नेपाल संयुक्त संघर्ष समितिको अगुवाईमा भइरहेको आन्दोलनमा बुधबार धार्मिक गुरु कमलनयनाचार्यसमेत सहभागि भएपछि मंगलबारको जस्तो प्रहरी हस्तक्षेप भएन।

सधैं झै इटहरी चौकमा सवारी आवागमन ठप्प पार्दै कार्यक्रम सुरु भएपछि प्रहरी चारैतर्फ राजमार्गमा सवारी डाइभर्ट गर्न खटिएको थियो। बुधबार पनि जुलुस निस्कने भनिएपछि सुरक्षा सक्रियतासँगै प्रहरी हस्तक्षेप हुने सर्वसाधारणको अनुमानविपरीत भाषण, नाचगान र र्‍यालीसहित कार्यक्रम गरिएको थियो।
जुलुसअघि पुराणस्थलमा भएको कार्यक्रममा बोल्दै कमलनयनाचार्यले इटहरीका प्रहरी प्रमुख डिएसपी विनोद शर्मालाई हस्तक्षेप नगर्न चेतावनी दिएका थिए। ‘आज पनि हस्तक्षेप भयो भने एक हप्ता पनि तिमी टिक्न पाउने छैनौ।' सर्वसाधारणले निर्ममतापूर्वक कुटिएको गुनासो गर्दै गर्दा उनले भने, ‘ल हेर्नुस् डाम छ भन्दै हुनुहुन्छ आमाहरुले। हैन भन्दै थियो अघि मलाई मैले निलम्बन गर अनि मात्र अरु बाचा गर्नेछु भनेर गृहमन्त्रालयका प्रवक्तासँग कुरा गरेको थिएँ।'
डलर खाएर धर्म निरपेक्ष :  कमलनयनाचार्य
कार्यक्रममा बोल्दै कमलनयनाचार्यले शान्तीपूर्ण आन्दोलनमा हस्तक्षेप भए धर्मयुद्ध हुने चेतावनी दिए। उनले नेपालका नेताहरुले देवभूमीहरुको विकास गर्नु त परै जाओस्, उल्टो उपेक्षा गरेको भन्दै नेपालका नेताहरुलाई ‘नालायक' भन्दै विरोध गरे।
‘विदेशीले गौतमबुद्ध भारतमा जन्मिएका हुन् भनिरहँदा तिमीले बोल्न सकेनौं, मानसरोवर तिब्बतको हुँदा तिमी चुप लाग्यौ,' उनले भने, ‘संसारमा एकमात्र हिन्दू राष्ट्रको पहिचान पनि समाप्त पार्न लागेका छौ, तिमीहरुले के गर्न लागेको हो?'
उनले जनताका इच्छाविपरीत धर्म निरपेक्ष घोषणा गर्नेहरु नेपालबाट भाग्नुपर्ने अवस्था आउने चेतावनी समेत दिए। ‘जसलाई आफ्नी आमाको दूधमा गर्व छैन, नेपालमा बसेर अरुको वकालत गर्ने नालायकहरुले यहाँबाट भाग्नुपर्नेछ,' उनले भने।
उनले नेताहरु लर्खरिएको बोलीले धार्मिक स्वतन्त्रता भन्न थालेको बताउँदै धर्म निरपेक्ष भन्दा धार्मिक स्वतन्त्रता शब्द खतरनाक र दूधमा मिलाएर दिएको विष भएको बताए। उनले छँदाखाँदाको हिन्दू राष्ट्र बदल्नुमा नेताहरुले धेरै डलर र विदेशीको दूध खाएको आरोप लगाउँदै हिन्दू राष्ट्रका लागि मर्न पनि तयार रहेको बताए।
उनले इटहरीलाई धर्म नगरी बनाइने उद्घोष गर्दै गर्दा इटहरी को सिमानामा सुन्दर दुलारी नगरपालिकामा नयाँ वृन्दावन बनाइरहेका दीनबन्धु शास्त्रीजी महाराजले इटहरी चाँडै धार्मिक नगरी बन्ने बताए। उनले नेपालका साँसदहरुलाई जुम्राको संज्ञा दिँदै भने, ‘जुम्रा धेरै भयो भने आमा दिदीहरुले बाँसका काइयाले स्वाई स्वाई पार्दै निकाल्नुहुन्थ्यो, यी स्वामीहरु भनेका तिनै बाँसका काईया हुन्, खबरदार।'
उनले हिन्दू राष्ट्र घोषणा गर्न माग गर्दै गर्न नसक्ने भए धन सम्पत्तीको आडमा कमाएको पीआर लिएर विदेश जान चेतावनी दिएका थिए।
सद्भाव खल्बलिने चिन्ता
इटहरीमा हिन्दू राष्ट्रको आन्दोलन चर्किँदै जाँदा भएको प्रहरी हस्तक्षेपलाई लिएर सुनसरीका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरुले बुधबार संयुक्त वक्तव्य निकाल्दै सद्भाव भड्कन नदिन आग्रह गरेका छन्।
मानवअधिकार सञ्जाल सुनसरीको समन्वयमा बसेको बैठकले शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारलाई हस्तक्षेप नगर्नसमेत प्रशासनलाई आग्रह गरेको छ।
बैठकपछि जारी वक्तव्यमा भनिएको छ, ‘आफ्ना मागहरु शान्तिपूर्ण ढंगले राख्न, जात, धर्म र सम्प्रदायका नाममा द्वेष नफैलाउन र अरुको विरोध नगरी आफ्ना माग राख्न, सबै जात, धर्म, भाषा, संस्कृतिको सम्मान गर्न, संघर्षका कार्यक्रम शान्तिपूर्ण बनाउन, राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न, राजनीतिक दल बिचको सम्बन्ध सुमधुर बनाउन र नागरिकको आफ्ना माग राख्न पाउने र असहमतिहरु सम्वादको विधि र प्रक्रियाबाट समाधान गर्न सबैलाई आग्रह गरिएको छ।' वक्तव्यमा सुनसरीका राजनीतिक दलका साथै महिला अगुवा तथा इन्सेकका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन्। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

बजरंगी भाइजानकी हर्षालीलार्इ सलमानले पढाउने

एजेन्सी : आफ्नो फिल्म 'बजरंगी भाइजना' को बालकलाकार हर्षाली मल्होत्राबारे सलमानले दिएको चासो र लगावबारे बलिउडमा चर्चा भइरहेका बेला उनलार्इ पढाउने जिम्मा पनि सलमानले लिने भएका छन् ।

समाचार अनुसार सलमानले हर्षालीको सबै पढाइ खर्च आफैंले ब्यहोर्ने भएका हुन् । सलमानले अहिलेसम्म हर्षालीका परिवारलार्इ सहयोगस्वरुप डेढ करोड भारतीय रुपैयाँ प्रदान गरिसकेका छन् ।

तर हर्षालीकी आमाले भने यो खबरलार्इ बकबासको संज्ञा दिँदै आएकी छन् । हर्षालीकी आमा काजलले बताए अनुसार आफूलार्इ कुनै खर्च प्राप्त नभएपनि सलमानले सहयोग गर्न लागेको जानकारी भने पाएको बताइन् ।

केही विज्ञापनमा समेत देखिइसकेकी हर्षालीको करियरलार्इ लिएर आमा काजलले सतर्कतापूर्वक निर्णय गर्न थालेकी छन् । सलमानले हर्षालीलार्इ पढाइदिने कुराको पनि उनले सोचेरमात्रै निर्णय दिने बताइरहेकी छन् ।

बजरंगी भाइजानबाट हर्षालीले बलिउडमा आफ्नो गतिलो पहिचान बनाइसकेकी छन् । उनकी आमाले अब सानोतिनो फिल्मी भूमिकामा अल्झेर छोरीले आफ्नो करियर बर्बाद गरेको हेर्न नचाहेको बताएकी छन् ।

केही दिनअघि आएको समाचार अनुसार काजलले छोरी हर्षालीलार्इ क्याटरिना कैफको बालककालको भूमिका निर्वाह गर्न आएको प्रस्ताव अस्विकार गरेकी थिइन् ।

त्यतिमात्रै होइन उनले फिल्म प्रेम रतन धन पायोका लागि सलमानको तर्फबाट आएको अफरको समेत हर्षालीले इनकार गरिदिएकी थिइन् ।

चुम्बन तथा मुखमैथुनका कारण घाँटी र टाउकोको क्यान्सर !

प्रेमको उच्चतम रुप अर्थात् चुम्बन । तर यहीँ चुम्बन यतिधेरै घातक हुँदोरहेछ भन्ने सुन्दैमा डर लाग्छ । पछिल्लो अनुसन्धानले क्यान्सरको खतरा उत्पन्न गराउने मामिलामा धुमपान तथा मद्यपान भन्दा चुम्बन बढि खतरनाक रहेको देखाएको छ ।
अस्ट्रेलियाका डाक्टरहरुले गरेको अनुसन्धान अनुसार टाउको तथा घाँटीको क्यान्सरको जोखिम तत्वहरुमा धुमपान र मद्यमान भन्दा चुम्बन अगाडि रहेको छ ।
अस्ट्रेलियाको रोयल डार्विन अस्पतालका अनुहार, टाउको तथा घाँटीको सर्जन डाक्टर महिवान थोमसका अनुसार चुम्बनका बेला धेरै प्रकारका क्यान्सरको कारक तत्वको रुपमा रहेको हु्यम प्यापिलोमा भाइरस सर्ने खतरा हुन्छ ।

टाउको तथा घाँटीमा हुने क्यान्सर भन्दा ७० प्रतिशत यहीँ भाइरसका कारण हुने गरेको अमेरिकामा गरिएको अर्को अध्ययनले देखाएको छ ।
यो भाइरस महिलामा पाठेघरको क्यान्सरको समेत मुख्य कारकतत्वको रुपमा रहेको छ ।
ह्युम प्यापिलोमा भाइरसका कारण हुने क्यान्सरको घटनामा पछिल्लो समयमा वृद्धि हुँदै आएको र यसको मुख्य कारण मानिसको आनीबानीमा हुने परिवर्तन रहेको डाक्टरको भनाइ छ ।

खासगरी युवावर्गमा मुखमैथुन सुरक्षित रहेको र यसबाट पर्याप्त आनन्द प्राप्ति हुनुका साथै गर्भाधारणको जोखिम पनि नहुने सोँचका कारण मुखमैथुनको क्रममा वृद्धि भएको भन्दै उनले यसले सबैभन्दा धेरै जोखिम बढाएको बताउँछन् ।
क्यान्सरको कारक तत्वको रुपमा रहेको भाइरस संक्रमणमा मुखमैथुनका साथै धेरै पार्टनरसँग चुम्बन गर्नुपनि रहेको छ । यौन सम्पर्क बाहेकका अन्य खाले यौन सम्बन्ध तथा व्यवहार अर्थात् पेटिङ पनि क्यान्सरको लागि जोखिमपूर्ण व्यवहारको रुपमा देखिने गरेको छ ।

शोधकर्ताका अनुसार यदि कसैले ६ जना भन्दा बढि मानिससँग नियमित चुम्बन गर्ने गरेको छ भने उसमा ह्युम प्यापिलोमा भाइरसको संक्रमण उच्च रहन्छ र ९ जनाभन्दा बढिलाई बारम्बार चुम्बन गर्ने मानिसमा त यसको जोखिम उल्लेखनीय रुपमा बढि हुन्छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

विन्डाेज १० अाजबाट रिलीज, यस्ता छन् नयाँ विशेषता

विश्वको चर्चित कम्पनि माइक्रोसफ्टले नयाँ अपरेटिङ सिस्टम ‘विन्डोज १०’ बुधबारबाट विश्वका १९० देशमाहरुमा रिलिज गरेको छ। विन्डोज १० सबैभन्दा पहिला कम्प्युटर त्यसपछि ट्याबलेट र अन्त्यमा स्मार्टफोनको लागि उपलब्ध गराइने कम्पनीले जनाएको छ। लामो समयदेखि चर्चामा रहेको विन्डोज १० लाई विन्डोज ७ र विन्डोज ८ का उत्कृष्ट विशेषताहरु मा अझ सुधार ल्याई तयार पारिएको छ। आजका दिनदेखि ‘विन्डोज १०’ लाई १ वर्षसम्मका लागि निःशुल्क अपग्रेड गर्ने सुविधा दिइएको छ। विश्वभरीका १९० देशमा यो सुविधा दिइएको बताइएको छ।
१ वर्ष पछि भने ‘विन्डोज १०’ अपग्रेड गर्नेका लागि ११९ डलरमा किन्नु पर्ने हुन्छ। यस्ता छन् ‘विन्डोज १०’का नयाँ विशेषताहरुः – विन्डोज १० को मुख्य विशेषता कोर्टाना रहेको छ । यस सुविधा मार्फत भ्वाइस कमान्डका मदतले प्रयोगकर्ताहरु आफ्नो कम्प्युटरलाई चलाउन सक्नेछन्। – विन्डोज १० मा स्टार्ट मेनु बटन देख्न पाइनेछ जसलाई विन्डोज ८ मा हटाइएको थियो । – विन्डोज १० मा स्टार्ट स्क्रिनमा रहेको सर्च अझै राम्रो भएको छ। यस सुविधामा प्रयोगकर्ताहरुले सर्च गरेको फाईल वा शब्दलाई विन्डोज १० ले पहिले सिस्टममा खोज्ने छ। – विन्डोज १० मा नया ब्राउजर राखिएको छ, जसको नाम ‘एज’ छ। ‘एज’ ब्राउजर विन्डोज एक्सप्लोरर भन्दा धेरै फास्ट हुने छ ।नयाँ ब्राउजर एजको मदतले वेब पेजलाई एडिट गर्न पनि सकिनेछ।

बालक बलिको घटनामा प्रहरी एसपीको भूमीका शंकास्पद

१३ साउन, काठमाडौं ।  नवलपरासीको कुडिया–४ मर्चहवामा भएको बालक बलिको घटनामा प्रहरी उपरीक्षक (एसपी) नलप्रसाद उपाध्यायको विवादास्पद भूमिका देखिएको छ  । सोनु भनिने जीवन कोहरको हत्या प्रकरणको छानविनको क्रममा एसपी उपाध्यायको भूमिका विरोधाभाषपूर्ण देखिएको हो ।
जिल्ला प्रहरी कार्यलय नवलपरासीका प्रमुख समेत रहेका उपाध्यायले  हत्यामा समलग्न कोदाई चमारका छोराको उमेरको विषयमा विवादास्पद भूमिका खेलेको देखिएको छ ।  सञ्चार माध्यममा १४ वर्ष मात्रै पुगेकाले प्रचार नगर्न आग्रह गरेका उनले पत्रकार सम्मेलन वितरण गरिएको प्रेस विज्ञप्तिमा १८ वर्ष पुगेको उल्लेख गरेका थिए ।

स्थानियहरुले पनि १८ वर्ष पुगिसकेको बताएका थिए । कोदाई चमारका छोरा विजय चमार कामेपछि मान्छेको मासु मागेका थिए । उनै विजयलाई जोगाउन प्रहरीले शंकास्पद भूमिका खेलेको स्रोतले दाबी गरेको छ ।
घटनाबारे आयोजित पत्रकार सम्मेलनको क्रममा पुजारी गंगा हरिजन  पनि हत्यामा समलग्न नरहेको उपाध्यायले पटकपटक बताएका थिए । तर हत्यामा समलग्न गंगा आफैले भने हत्या अघि आफूले देउताका नाममा पूजा गरिदिएको जानकारी दिएका थिए ।

पूजा गरेवापतको ५० हजार रुपैयाँ पनि उनैले लिएका थिए ।
तर एसपी उपाध्यायले भने त्यो पैसाले बियर पाटी गरेको बताएका थिए ।  पत्रकार सम्मेलनको क्रममा एसपी उपाध्यायले  थुनामा रहेकी मूख्य अभियक्त (कोदाई चमार) की श्रीमती कान्तिलाई उनले  ‘निर्दोष’ रहेको बताएका थिए । जबकी शव फेला पार्नासाथ हत्याको पहिलो बयान दिने उनै थिइन्  उनले विभिन्न सञ्चार माध्यमलाई भनेकी थिइन् ‘हत्या गरेपछि मलाई श्रीमानले सुनाए, मैले गाली गरें ।’ गाउँभर बालकको खोजी हुँदा उनले बालकबारे खुलाशा नगरी बसेकी थिइन् ।

पत्रकार सम्मेलनको क्रममा अलि हतारिएको भावमा देखिएका उनले पत्रकारलाई अभियुक्तसँग कुराकानी गर्न समेत दिएका थिएनन् । अभियुक्तसँग अलि गम्भिर विषयमा पत्रकारले प्रश्न गर्दा एसपी उपाध्यायले  मातहतका प्रहरीलाई हकार्दै भन्थे, ‘यिनीहरुलाई लगिहाल्नोस् । ल भयो । पुग्यो अब ।’ घरमै हत्या भएको गाउँलेको भनाई प्रति प्रहरीको भनाइ थियो   होइन बाहिर भएको हो  । बाहिर कहाँ भन्ने प्रश्नमा उनले भन्थे त्यो त अनुसन्धानबाट थाहा हुन्छ ।’

उनको भूमिकालाई लिएर पश्चिम क्षेत्रिय प्रहरी कार्यलयमा समेत चर्चा भएको छ । पश्चिम क्षेत्रिय कार्यलयका डिआइजी पंकज श्रेष्ठले समेत एसपीको भूमिकालाई माथि चासो राखेको जनाइएको छ ।
प्रहरी प्रवक्ता  डिआइजी कमल सिंह बम घटना अनुसन्धानमा भएकाले बोल्न नमिल्ने बताए । ‘सम्बन्धीत निकायले अनुसन्धान गरिरहेको छ ।’ खबरडबलीसँग बमले भने, ‘अनुसन्धान भइरहेको घटनामा प्रधान कार्यलयले बोल्न मिल्दैन ।’
गत साउन ५ गतेदेखि हराएका १० वर्षिय बालक सोनुको घाँटी रेटिएको अवस्थामा भेटिएको थियो । सोही घटनाको अनुसन्धानबाट बालकलाई बलि दिएको रहस्य बाहिर आएको थियो ।प्रहरीले ९ जना अभियुक्तलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीका कारण सम्बन्धबिच्छेद गर्ने दोब्बर बढे

पर्सा । वैदेशिक रोजगारले एकातिर मुलुकमा विप्रेषण भित्र्याएको छ भने अर्कोतिर यसले गर्दा श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई प्रभावित गरेको छ ।
मुलुकमा रोजगार नपाएर परिवारको भरणपोषणका लागि विदेश जाने क्रमसँगै श्रीमान् श्रीमतीका सम्बन्धमा समेत स्खलन आएका कारण सम्बन्धबिच्छेद गर्ने क्रम बढ्दो छ ।

कम उमेरमा विवाह र वैदेशिक रोजगारका कारण प्रतिवर्ष दोब्बरका दरले पर्सामा सम्बन्धबिच्छेद भएको पर्सा जिल्ला अदालतले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।

जिल्ला अदालतले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७०-०७१ मा ६० दम्पतीले सम्बन्धबिच्छेदका लागि निवेदन दर्ता गराएको तुलनामा आव २०७१-०७२ मा सो सङ्ख्या बढेर १३३ दम्पती पुगेको छ ।


यो सङ्ख्या २०७०-०७१ को तुलनामा २२१ प्रतिशतले बढी रहेको पर्सा जिल्ला अदालतका तहसिल्दार शम्भुकुमार बस्नेतले बताए । उनले तराईका युवायुवतीबीच कम उमेरमा विवाह हुनु र वैदेशिक रोजगारमा दुई तीन वर्ष बिताई स्वदेश फर्किएपछि श्रीमान् श्रीमतीको चित्त नमिलेका कारण सम्बन्धबिच्छेद गर्ने चलन बढ्दो रहेको बताए ।
रोजगारका लागि विदेश जाने युवा दुई तीन वर्षपछि स्वदेश फर्किने र श्रीमतीको आचरण माथि शङ्का गर्नु, श्रीमतीको अन्य पुरुषसँग सम्बन्ध स्थापित हुनुजस्ता कारणले गर्दा पर्सामा सम्बन्धबिच्छेद गर्ने चलन बढी रहेको तहसिल्दार बस्नेतको तर्क रहेको छ ।
लामो समयसम्म श्रीमान् श्रीमती अलग बस्नु र घरेलु हिंसाको घटनामा समेत वृद्धिले पनि सम्बन्धबिच्छेदलाई बढाएको समाजसेवीहरुको भनाइ रहेको छ ।

सम्बन्धबिच्छेदको बढ्दोक्रमलाई रोक्न तराईमा रहेको बालविवाह तथा दाइजोप्रथा अन्त्य गर्नुका साथै श्रीमान् श्रीमतीबीच विश्वासिलो वातावरण आवश्यक रहेको समाजसेवीको भनाइ रहेको छ ।
www.nepalsandesh.com

सेनाको हेलिकोप्टर दुर्घटना, २३ जना बेपत्ता

बैंकक। लाओसमा एक सैनिक  हेलिकोप्टर दुर्घटनाग्रस्त हुदा त्यसमा रहेका २३  सेना बेपत्ता भइका छन् ।
हेलिकोप्टर खराब मौसमका कारण हराएको बताइएको छ ।
लाओसको उत्तरपूर्वी प्रान्त सिन्जाकुङ्तर्फ लागिरहेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । उक्त प्रान्तको हाउफान भन्ने स्थानमा सो हेलिकोप्टर खसेको बताइएको छ ।
सो हेलिकोप्टरको सम्पर्क विच्छेद भएपछि त्यसमा रहेका १९ जना यात्रु र चालक दलका चारजना सदस्य हराइरहेका छन् ।
उक्त दुर्घटना विकट स्थानमा र लगातार भारी वर्षाकाकारण उद्वारको काम हुन नसकिरहेको जानकारी सेनाले दिएको छ ।
सेनाले उद्वारकर्ताहरु घटनास्थलतर्फ पठाएको जनाएको छ । तर उनीहरुले त्यहाँ पुगेर उद्वार गर्न गर्न कठिनाइ भएको सेनाले बताइएको छ ।
www.nepalsandesh.com