नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला ४८ हजार रुपैयाँ तोकेको थियो । तर, बैंकरले प्रतितोला ४८ हजार चार सय रुपैयाँमा मात्रै उपलब्ध गराउन सक्ने बताएपछि व्यवसायीले सुन खरिद नगरेको महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए । ‘व्यवसायीले गएको चार दिनदेखि बैंकबाट सुन उठाउन सकेका छैनन्,’ उनले भने, ‘यसले गर्दा बजारमा सुनको अभाव देखिएको हो ।’
भन्सारदर र भाउ एकैचोटि घटेका कारण बैंकले आफूसँग मौज्दात सुन बिक्री गर्न नमानेको अध्यक्ष शाक्यले बताए । ‘भाउ घट्नुअघि आयात भएको सुन बैंकले आफूलाई नाफा कम हुने भएपछि बिक्री गर्न नमानेका हुन्, यसले गर्दा समस्या उत्पन्न भएको छ,’ उनले भने ।
नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले भने आयातको अनुमति लिएका बैंकले नियमित रूपमा सुन बिक्री गरिरहेको बताए । ‘बैंकिङ प्रणालीमा पर्याप्त सुन छ, जुन–जुन बैंकले अनुमति लिएका छन् त्यहाँ–त्यहाँ गएर मागे सुन पाइन्छ,’ उनले भने । मौज्दात भएका कारण बैंकहरूले अहिले थप सुन आयात गरेका छैनन् । स्टक रहेको सुन भन्सारदर तथा मूल्य घट्नुअघिको हो ।
बढी मूल्य तिरिएको सुन भएका कारण केही बैंकले आफ्नो लागत उठाउन खोजेको हुन सक्ने पौडेलले बताए । नियामक निकायबाट पनि आफ्नो लागत उठाउनु भन्ने निर्देशन आएकाले भाउमा तलमाथि भएको हुन सक्ने उनको अनुमान छ । अहिले बैंकसँग झन्डै पाँच सय ५० किलो सुन मौज्दात छ ।
सानिमा बैंकले बजारभाउभन्दा पाँच सय कममा व्यवसायीलाई सुन बिक्री गरेको प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । आइतबार मात्रै करिब चार किलो सुन बिक्री गरेको उनले बताए । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले केही बैंकले मात्रै सुन बिक्री गरेको बताए । थुप्रै बैंकले सुन होल्ड गरेर राखेको उनको आरोप छ । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सुनको आयातमा भन्सारदर एक हजार रुपैयाँ प्रति १० ग्रामले घटाएको थियो । अहिले प्रति १० ग्राम सुन आयात गर्दा चार हजार दुई सय रुपैयाँ भन्सार लाग्छ । भन्सार घटे पनि आयात भने बढ्न सकेको छैन ।
नयाँ आर्थिक वर्ष सुरु भएयता सुनको आयात तुलनात्मक रूपमा न्यून छ । चालू आवको पहिलो १० दिनमा ५० केजी सुन मात्रै आयात भएको अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख भूपाल बरालले बताए । अघिल्लो आर्थिक वर्षमा करिब एक हजार पाँच सय ५० किलो सुन आयात भएको थियो ।
सुनको नियमित आयात तथा बिक्रीवितरण नहुँदा उपभोक्ता तथा साना व्यवसायी मारमा परेका छन् । चाबहिलस्थित सनराइज ज्वेलर्सका सञ्चालक सुमन लामिछानेले गएको पाँच दिनदेखि ढिक्का सुन पाउन नसकेको बताए । बैंकले ढिक्का सुन बिक्री नगरेको भन्दै व्यवसायीले आफूलाई फर्काएको उनले बताए । ‘ढिक्का सुन नपाएपछि गरगहनाको अर्डर लिन पनि समस्या परेको छ,’ उनले भने, ‘भाउ घटेका वेला सुनको अभाव हुँदा ग्राहकका साथै साना व्यवसायीलाई समेत समस्या हुने गरेको छ ।’
काँडाघारी पेप्सीकोलास्थित च्छोरोल्पा गोल्ड एन्ड सिल्भर ज्वेलर्सका सञ्चालक शिवबहादुर रिजालले आइतबार ढिक्का सुन किन्न नपाएको बताए । ‘सुनको भाउ घटेकाले होला, थुप्रै ग्राहक ढिक्का सुन खोज्छन्, तर दिन सकिएको छैन,’ उनले भने । नेपालमा अहिले दैनिक करिब ३० किलो सुन बिक्री हुने गरेको व्यवसायी बताउँछन् । बैंकमार्फत प्रतिदिन १५ किलो सुन आयात हुँदै आएको छ ।
नेपालमा सुन आयात गर्ने अनुमति बैंकहरूले मात्रै पाएका छन् । नेपाल राष्ट्र बैंकले २३ वटा वाणिज्य बैंकलाई सुन आयात गर्ने अनुमति दिएको छ । तीमध्ये ५–६ वटा बैंकले मात्रै अहिले सुन आयात गरिरहेका छन् । नेपाल बैंकर्स संघले भने २० बैंकले सुन कारोबार गरिरहेको जनाएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment