काठमाडौं : सरकारी नीति स्पष्ट नहुँदा बैंक तथा वित्तीय संस्थाको ९० अर्ब ६० करोड रुपैयाँ राष्ट्रबैंकमा थन्केको छ । राष्ट्रबैंकले अल्पकालीन रूपमा तरलता व्यवस्थापन गर्न निक्षेप संकलन विधिबाट यो रकम उठाएको हो । यसरी संकलन गरिएको रकम विकास निर्माणमा प्रयोग हुँदैन ।
राष्ट्रबैंकले असार २७ देखि साउन १४ गतेसम्म ८५ अर्ब ६० करोड निक्षेप उठाएको छ । आइतबारमात्रै राष्ट्रबैंकले थप पाँच अर्ब रुपैयाँ निक्षेप संकलनबाट उठाउँदैछ ।
नेपाल बैकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले विकास खर्चमा आएको सुस्तताका कारण तरलता व्यवस्थापनमा समस्या भएको बताए ।
‘कुल निक्षेपमा २० प्रतिशत रकम सरकारी ऋणपत्रमा लगानी गर्नुपर्ने हुन्छ’ उनले भने,‘ बैकिङ प्रणालीमा भएको रकम प्रयोगका लागि सरकारले योजना नबनाएका कारण यस्तो रकम प्रयोग विहीन भएको छ ।’ बैंक तथा वित्तीय संस्थाले आफूसँग भएको निक्षेपको २० प्रतिशत रकम कर्जा प्रवाह गर्न पाउँदैन् ।
राष्ट्रबैंकको नीतिअनुसार यस्तो रकम राष्ट्रबैंकले ल्याउने विभिन्न उपकरणमा लगानी गर्नुपर्छ । आर्थिक वर्षको पहिलो महिना यसै पनि विकास खर्च नहुने तथा बैकिङ प्रणालीमा अधिक तरलता हुने कारण राष्ट्रबैंकले अल्पकालीन उपकरणबाट तरलता व्यवस्थापन गर्दै आएको छ ।
राष्ट्रबैंकका कार्यकारी निर्देशक नरबहादुर थापा निक्षेप संकलन विधि अल्पकालीन तरलता व्यवस्थापनका लागि मात्र भएको बताउँछन् । ‘विकास निर्माणका काम भएमा दीर्घकालीन रुपमा तरलता व्यवस्थापन हुन्छ ’,उनले भने,‘ विकास खर्च नभएपछि अल्पकालका लागि भए पनि राष्ट्रबैंकले तरलता व्यवस्थापन गर्नुपर्छ । यसका लागि निक्षेप संकलन उपकरण विधि ल्याइएको हो ।’
चालू आर्थिक वर्षको बजेटमा भूकम्पपछिको पुनर्निर्माणका लागि पुनर्निर्माण ऋणपत्र जारी गर्ने उल्लेख गरेको छ । तर,भूकम्पपछिको पुनर्निर्माणका लागि गठन गर्ने भनिएको प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न नसक्दा पुनर्निर्माणको काम अगाडि बढेको छैन ।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा सरकारको नीति स्पष्ट नहुँदा सस्तो ब्याजदरमा पाउने ऋण उपयोग गर्न नसकिएको बताए।
‘अहिले एक प्रतिशतभन्दा कम ब्याजदरमा राष्ट्रबैंकमा निक्षेप राख्नुपर्ने अवस्था छ’,उनले भने,‘ तरलता व्यवस्थापनका लागि सरकारले दीर्घकालीन नीति लिनुपर्यो ।’
पछिल्ला वर्ष विकास खर्चमा आएको सुस्तताले सरकारले तोके अनुसारको आन्तरिक ऋण उठाएको थियो । गत आर्थिक वर्ष पनि भूकम्प गएपछि मात्र आर्थिक वर्ष सकिने समयमा मात्र आन्तरिक ऋण उठाएको थियो ।
गत वर्ष ५२ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा ४२ अर्ब मात्र उठाइएको थियो । यसरी उठाइएका विभिन्न उपकरणको ब्याजदर ४ प्रतिशतभन्दा कम छ ।
राष्ट्रबैंकले लिने निक्षेप संकलनको ब्याजदर पनि बढ्दै गएको देखिन्छ । असार २७ गते १० अर्ब रुपैयाँं निक्षेप लिँदा बैंक तथा वित्तीय संस्थाले ०.०६४ प्रतिशत ब्याजदर पाएका थिए ।
त्यसपछि राष्ट्रबैंकले उठाउने निक्षेपमा ब्याजदर बढ्दै गएको देखिन्छ । पछिल्लो समय बुधबार संकलन गरिएको पाँच अर्ब निक्षेप संकलनमा ब्याजदर १.५९ प्रतिशतमा पुगेको छ ।
बैंक तथा वित्तीय संस्थामा अहिले १६ खर्बभन्दा बढी निक्षेप छ । कर्जा लगानी १३ खर्ब मात्र भएको छ । ९१ दिने ट्रेजरी बिल्सको ब्याजदर ०.७३ प्रतिशत छ भने बैंकहरूबीच एक आपसमा हुने अन्तर बैंक कारोबार ०.३३ प्रतिशत छ ।
इन्फोराष्ट्रबैंकले असार २७ देखि साउन १४ गतेसम्म ८५ अर्ब ६० करोड रुपैयाँ निक्षेप उठाएको छ । आइतबारमात्रै राष्ट्रबैंकले थप पाँंच अर्ब रुपैयाँ निक्षेप संकलनबाट उठाउँदैछ ।
annapurnapost.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment