ठाउँ र परिस्थितिअनुकूल आफ्ना अभिव्यक्ति बदल्न माहिर प्रचण्डले सोमबार आयोजित एक कार्यक्रममा ठट्यौली शैलीमा भनेका थिए– ‘मेरो बारेमा एउटा कुरा आयो, मैले करिश्मालाई मन पराउँछु भनेर। त्यो साँचो कुरा थिएन। तर, मिडियामा आएपछि आएको आयै नै हुने रहेछ। तपाईंहरु पनि सचेत हुनुहोला’, अभिनेता सरोज खनाल र अशोक शर्मासहित नायिका करिश्मा मानन्धर आफ्नै पार्टी छोडेर नयाँशक्ति नामक पार्टी खोल्ने तयारी गर्न जुटेका डा. बाबुराम भट्टराईको पार्टीमा आबद्ध भएको सन्दर्भलाई लिएर एमाओवादीको काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण भेलामा प्रचण्ड भनिरहेका थिए– ‘होइनभन्दा नि नपत्याउने के फेरि⁄ अहिले त सबैले देखे नि बाबुराम पो रहेछन् उनलाई मन पराउने भनेर ।’
आफू बाबुराम भट्टराईको नयाँशक्तिमा गएलगत्तै प्रचण्डबाट आएको यस्तो व्यंग्यात्मक टिप्पणीबाट नायिका करिश्मा मानन्धर भने दुःखी भएकी छिन्। ‘उहाँले भूमिगत कालमा मेरो फिल्म हेर्ने गरेको थाहा हुँदा राजनीति गर्ने ठूला नेताले हरेक क्षेत्रमा मानिसलाई चिन्ने रहेछन्, हरेक क्षेत्रबारे थाहा हुने रहेछ, नोटिस गर्ने गर्दा रहेछन् भनेर मैले प्राउड फिल गरेको थिएँ। मेरो फिल्म हेर्छु भन्नुको अर्थ एउटा नेपाली कलाकारको फिल्म हेर्न उहाँ भूमिगत कालमा पनि लालयित हुनुहुँदो रहेछ जस्तो लागेको थियो’, करिश्माले मंगलबार नेपाल समाचारपत्रसँग कुरा गर्दै भनिन्– ‘तर, त्यही कुरालाई यत्रो समयपछि आएर हाँसोमा उडाएको देख्दा आश्चार्य लागेको छ। मलाई लाग्छ सबैले सबैको अस्तित्व स्वीकार गर्नुपर्छ। उहाँको कमेन्टको भिडियो मैलै पनि हेरें। कसैले डब गरेको हो कि, उहाँ आफैंले बोलेको होइन कि भनेर दोहोर्याई तेहेर्याई हेरें। तर, उहाँले नै बोलेको देखेर खुसी हुन सकिनँ। मानिसले आफ्नो सोच र स्तरअनुसारको विचारधारा लिएर आउनुपर्छ।’
करिश्माले प्रचण्डसँग आफू नजिक नभए पनि राम्रो बोलचाल हुने गरेको बताइन्। ‘कार्यक्रम र सभा समारोहमा भेट हुने हो। भेट्दा राम्रै बोलचाल हुन्थ्यो। लास्ट टाइम विजयकुमार पाण्डेको किताब विमोचनमा भेट भएको थियो। अहिले पनि म उहाँलाई हाइली रेस्पेक्ट गर्छु। तर उहाँ जतिको नेतालाई यसरी जोकमा उडाउने कुरा सुहाउने विषय होइन। उहाँले यसरी मलाई मजाकको विषय बनाउँदा यस्तो मेरो चित्त दुखेको छ’ –करिश्माको भनाइ थियो।
करिश्माले बाबुरामको भिजनका कारण उनको पार्टीमा आबद्ध भएको पनि बताइन्। ‘बाबुरामजी भिजन भएको मान्छे हो। बाबुरामजीप्रतिको मेरो सम्मान सधैं माथिल्लो स्तरको छ। काठमाडौंको सडक ठूलो बनाउने भनेर ३१ सालदेखिको योजना रेछ। तर, उहाँले मात्र त्यो योजनालाई सफल बनाउन सक्नुभयो’, करिश्माको भनाइ थियो– ‘उहाँ प्रधानमन्त्री हुँदै केही गर्न सक्ने मान्छे हो भन्ने मलाई थाहा थियो। त्यसैले म छोरी कवितासँगै फूल लिएर उहाँलाई भेट्न गएको थिएँ। उहाँ मेरो आमाले पनि मन पराउने नेता हो, अहिलेको महिलालले फलो गर्ने नेता हो। उहाँको भिजन ठीक लागेर नै म उहाँको पार्टीमा गएको हुँ।’
करिश्मा यतिखेर आफूद्वारा निर्मित फिल्म फागुको रिलिजमा व्यस्त छिन्। सम्झना रौनियार उप्रेतीद्वारा निर्देशित फिल्मले राम्रो कलेक्सन गरिरहेको छ। (नेपाल समाचारपत्रबाट)
dainiknepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment