Thursday, February 25, 2016

जहाज दुर्घटनामा परि ज्यान गुमाएको शव आफन्तको जिम्मा लगाइयो, ५ जनाको मात्र पहिचान खुल्यो

म्याग्दी – म्याग्दीको दाना गाविसको सोलीघोप्टेमा जहाज दुर्घटनामा परी मृत्यु हुनेको शव बिहीबार आफन्तको जिम्मा लगाइएको छ ।
घटनास्थलबाट नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरीको टोलीले संकलन गरेको शव म्याग्दीको दाना गाउँमा ल्याइएको थियो । दानामा संकलन गरिएका शव डाईनेस्टीक एयरको हेलिकप्टर मार्फत दानाबाट तिन वटा मुस्ताङ र २० वटा पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले जानकारी दिए ।

पहिचान खुलेका विनिता भट्टचन, उनको साढे दुई महिनाको छोरा र कृष्णलाल भट्टचनको शवलाई मुस्ताङमै आफन्तको जिम्मा लगाइएको हो । यसैगरी पोखरा लगिएको क्याप्टेन रोशन मानन्धर र रेवती बरालको पहिचान खुलेको छ । मानन्धरको शवलाई काठमाडौ पठाइएको र अन्यलाई परिक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।

पोखराबाट जोमसोमका लागि बुधबार बिहान ७.४७ बजे उडेको तारा एयरको कल साईन नाईन एन ए एच एच भएको टुईनअटर बिमान दाना गाविस २ सोलीघोप्टी भिरमा दुर्घटना हुँदा सवार २३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

बुधबार दुर्घटना भएको बिमान पाँच घण्टापछि मात्रै घटनास्थल पहिचान भएको, भौगोलिक बिकटता र प्रतिकुल मौसमका कारण शव संकलनको काम हुन सकेको थिएन् । बिहीबार बिहानैदेखि तिन वटै सुरक्षा निकायका करिब दुई सय जना शव संकलन र खोजीमा परिचालन गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताए । घटनास्थलबाट सबै सुरक्षाकर्मी फर्किएको उहाँले बताए ।

घटनास्थलमा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकर कोईराला, धौलागिरी अञ्चल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक छबिलाल बञ्जाडे, शसस्त्र प्रहरी बल चण्डीका गणका प्रहरी उपरिक्षक कृष्ण थापा, नेपाली सेनाको भिमदल गण मुस्ताङका सेनानी अर्जुन कार्कीको नेतृत्वमा खोजीको काम भएको थियो ।

ratopati

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment