नेपाल र भारतका अधिकारीबीच प्रमद्वयको उपस्थितिमा नेपाललाई ८० मेगावाट विजुली दिनेदेखि बंगलादेशसँग सिधा पारवाहन सुविधा दिने सम्झौतामा पनि हस्ताक्षर भएको हो ।
हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपालका परराष्ट्र मन्त्री कमल थापा र भारतीय विदेश मन्त्री सुस्मा स्वराजबीच सम्झौता पत्र आदान प्रदान भएको हो ।
दुई देशबीच भएका सम्झौताका बुँदा यस्ता छन् ।
१) मुजफरपुर-ढल्केबर प्रशारण लाइन सुचारु गर्ने । जसबाट ८० मेगावाट विद्युत शनिबारबाटै नेपालमा आपूर्ति गर्ने उल्लेख गरिएको छ ।
सम्झौता अनुसार सन् २०१६ अक्टोबरसम्ममा २०० मेगावाट विजुली ल्याइने भएको छ । त्यसैगरी सन् डिसेम्बर २०१७ सम्ममा यो प्रसारण लाइनबाट भारतले नेपाललाई ६०० मेगावाट विजुली दिने भएको छ।
२) अर्को सहमतिमा नेपालमा बैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि भारतले दिने भनिएको २५० मिलियन डलर बराबरको सहयोग प्याकेजबारे पनि सहमतिपत्रमा दुई देशका विदेशमन्त्रीले हस्ताक्षर गरेका हुन् ।
भूकम्पपछिको पुन:निर्माणका लागि भारतले दिने भनिएको २५० मिलियन डलर आर्थिक सहयोग सांस्कृतिक सम्पदा पुन:निर्माण, स्वास्थ्य संस्थाको पुनर्निर्माण, शैक्षिक पुर्वाधारको पुनर्निर्माण र भूकम्पपीडितका ५० हजार घर बनाउन खर्च गरिने भएको छ ।
सम्झौता अनुसार भूकम्पले धेरै क्षति पुगेर सरकारबाट अतिप्रभावित घोषित मध्यमाञ्चल र पश्चिमाञ्चलका १४ जिल्लामा ५० हजार घर बनाउन खर्चिने भएको छ ।
त्यसैगरी यो रकम बैशाख १२ को भूकम्पबाट प्रभावित भएका ३१ जिल्लाका स्वास्थ्य संस्था, विद्यालय र मठमन्दिर पुनर्निर्माण गर्न लगानी गरिने भएको छ ।
यो रकम भूकम्पपछि भारतले दिने घोषणा गरेको एक हजार करोड डलरको एक चौथाइ मात्र हो । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा घोषणा गरेको १ हजार करोडको खर्चबारे सहमति भएन ।
३) नेपालको तराई क्षेत्रमा जारी हुलाकी सडक निर्माणका लागि पनि दुई देशबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।
हुलाकी सडक विस्तारलाई तीब्रता दिनका लागि भएको सहमतिपत्रमा नेपालस्थित भारतीय राजदूत रणजीत राय र नेपालका भौतिक पूर्वाधार मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले हस्ताक्षर गरे ।
भारतले यसअघि नै निर्माणको जिम्मा लिएको हुलाकी सडकले यो सम्झौतापछि गति लिने विश्वास गरिएको छ । यो सहमतिमा हाल निर्माणका क्रममा रहेको पाँच सय १८ किलोमिटर हुलाकी सडक बनाइसक्ने जनाइएको छ ।
४) अर्को सहमतिपत्रमा संगीत नाट्य एकेडमीबारे पनि दुई देशबीच हस्ताक्षर भएको छ । जसअनुसार दुई देशबीच कलाकार, विज्ञ र नृत्यकारहरु आदानप्रदान गरी दुई देशबीच सांस्कृतिक सम्बन्ध अझै विस्तार गर्ने उल्लेख गरिएको छ ।
यो सहमति पत्रमा दुई देशबीच कला संस्कृतिको अनुभव र सहयोग आदान प्रदान गर्ने पनि जनाइएको छ । सहमतिमा नेपालका विभिन्न जिल्लामा संगीत नाट्य एकाडेमी पनि निर्माण गर्ने सहमति भएको छ ।
५) नेपाल र भारतवीच भएको अर्को सम्झौतामा नेपाललाई पारवहन मार्ग दिनेबारे उल्लेख गरिएको छ ।
भारतले यो समझदारी पत्र अनुसार नेपालको काँकडभिट्टाबाट बंगलाबन्दसम्मको ट्रान्जिटबाट सिधा सवारी चल्न दिने भएको छ ।
नेपालबाट बंगलादेशसम्म हुने सवारी आवागमनलाई सहजता प्रदान गर्न भारतले यो मार्ग उपयोग गर्न दिने भएको हो ।
६) नेपाल र भारतबीच भएको अर्को समझदारीमा भारतले नेपाललाई बंगलाबन्द र विशाखापटनम बन्दरगाह प्रयोग गर्न पारवाहन सुविधा दिने उल्लेख गरिएको छ।
यो सहमति अनुसार भारतले विशाखापटनमबाट नेपालसम्म रेलबाट सामान ढुवानी गर्ने सुविधान पनि दिने भएको छ । यो सुविधान सिंहबाद हुँदै बंगालदेशबाट नेपालको काकडभिट्टासम्मका लागि उपलब्ध हुनेछ ।
आपूर्ति सचविस्तरीय यो सहमति पत्रमा उल्लेख भएअनुसार भारतले नेपालको काकडभिट्टाबाट बंगलादेशको विशाखापटनम बन्दरगाहसम्म पुग्ने रोहनपुर-सिंहवार रेल्वे रुटको सिधा प्रयोग गर्न दिने भएको छ ।
सहमति अनुसार भारतले नेपालका सवारीसाधन यो बन्दरगाहसम्म सजिलै आउन दिन भारत तयार भएको छ ।
७) दुई देशबीचमा प्रवुद्ध समूहको निर्माण गर्ने सहमतिमा पनि हस्ताक्षर भएको छ। सन् २०१४ मै यो समूह बनाउनेबारे दुई देशबीच ८ सदस्यीय समूह बनाउने सहमति भइसकेको थियो ।
यो समूहमा नेपाल र भारतका बुद्धिजीवि सम्मिलित आठ सदस्यीय समिति यसअघि नै निर्माण भइसकेको छ।
annapurnapost
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment