Sunday, February 21, 2016

कति सफल भयो प्रधानमन्त्री ओलीको भारत भ्रमण ?

काठमाडौं, फागुन ९ । प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमणबाट विशेषतः नेपालमा नयाँ संविधान जारी भएपछि नेपाल र भारतबीच उत्पन्न असमझदारी हटेको दाबी गरेका छन् । अझ आफूलाई भारतले राजकीय सम्मान दिएकै कारण दुई देशको राजनीतिक सम्बन्ध अझै उचाईमा पुगेको जिकीर उनले गरेपनि अझै शंका गर्ने ठाउँ पूर्णतः समाप्त भने भइसकेको छैन ।

भारतका तर्फबाट प्रधानमन्त्रीस्तरमा नेपाल भ्रमण नभएको झण्डै दुई दशक लामो अन्तराललाई चिर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हालेलगत्तै दुई पटक नेपाल भ्रमण गरेर नेपाली माझ वाहवाही बटुलेका थिए । तर लोकप्रियताको त्यो कसी नेपालको संविधान निर्माणका क्रममा आफ्ना चासोहरुलाई सम्बोधन नगरेको बहानामा भारतले सीमामा नाकाबन्दी गरेपछि बिग्रेको सम्बन्ध सुधार नै प्रधानमन्त्री ओलीको भारत भ्रमणको एकमात्र एजेण्डा थियो ।
अझ यस पृष्ठभूमिका भारतले दिएको राजकीय सम्मानबाट प्रधानमन्त्री निकै मख्ख परेका छन् । त्यसैपनि भारतले नेपालको प्रधानमन्त्रीलाई राजकीय सम्मान दिएको यो पहिलो पटक होइन । अघिल्ला प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले पनि यस्तो सत्कार पाइसकेकै हुन् । त्यसैले परिणाममा सम्बन्ध हार्दिक नभएसम्म रत्तिईहाल्ने अवस्था छैन ।
प्रधानमन्त्री ओलीलाई दिइएको विशेष आथित्यता कतै नाकाबन्दीबाट पुगेको क्षतिको पूर्ति गर्ने बहाना त होइन भन्ने टिप्पणी पनि शुरु भएको छ ।
तथापी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संविधान उपलब्धिपूर्ण मान्नु, नेपालका लागि काँकडभिट्टा बंगलाबन्ध कोरिडर पारवहन सुविधा दिनु, विशाखापट्टनम् बन्दरगाहको प्रयोग गर्न दिने र प्रबुद्ध व्यक्तिहरुको समूह गठन हुनुलाई भ्रमणको उपलब्धि मान्न सकिने त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक खड्ग केसी बताउँछन् ।
तर कोलकाता बन्दरगाहकै भरपूर उपयोग गर्न नपाई अनेक अड्चन झेली रहेको नेपालका लागि १४ सय किलोमिटर टाढाको विशाखापट्टनम् बन्दरगाह प्रयोग गर्न दिने सहमति नेपालका लागि ‘आकाशको फल आँखा तरी मर’ भने सरह हुन पनि सक्छ । जेहोस् समग्रमा प्रधानमन्त्री ओलीको भारत भ्रमण दुई देशबीच चिसिएको सम्बन्धलाई सुधार्ने दिशामा सकारात्मक मान्न सकिन्छ ।
imagekhabar

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment