Saturday, February 27, 2016

पशुपतिनाथको मन्दिरको बारेमा ११ रोचक तथ्य- भगवान शिवको नाम ‘पशुपतिनाथ’ कसरी हुन पुग्यो?

पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो। यो मन्दिर यस संसारमा रहेका २७५ ‘पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एक हो। पशुपतिनाथमा मूख्य रूपमा शिवजीको पूजा हुने गर्दछ। त्यसैले गर्दा नै पशुपतिनाथालाई शैव, शाक्त, वैष्णव, बौद्ध, जौन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्ने गर्दछन्। साथै यस क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवम् पूजास्थल अखाडा पनि रहेका छन्।

आजको धर्म अङ्कमा हामी तपाईँहरूलाई जन्मदेखि मृत्यु सम्मका सबै संस्कार सम्पन्न गरिने नेपालको यस पावन स्थलको बारेमा केहि रोचक तथ्यहरूको बारेमा जानकारी दिन गैरहेका छौँ।

१. बागमती जिल्लाको का.म.पा. वडा नं. ८ मा बागमती नदीको किनारमा रहेको यो मन्दिर २४० हेक्टरको (४,७९२ रोपनी) जग्गामा फैलिएको छ।\

२. पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत ‘यूनेस्को विश्व सम्पदा क्षेत्रको सूची’मा पर्दछ। सन् १९७९ मा यूनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो।

३. यो मन्दिर नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको छ, त्यसैले नै यहाँका सबै विशेषताहरू प्यागोडा शैलीमा नै रहेको पाइन्छ, जुन अति सुन्दर खुदी काठबाट बनेका छन्। यस मन्दिरको २ स्तरको छाना सुन र तामाले बनेको छ भने मूख्य ४ ढोकाहरू चाँदीका रहेका छन्। साथै मूख्य मन्दिरको गजुर सुनको रहेको छ

४. ‘पशुपतिनाथ’ खासमा भगवान शिवको नाम हो। अनेकौँ ग्रन्थ र वेदहरूमा शिवजीको नाम पनि अनेकौँ उल्लेख गरिएको छ, तर शिवजीको वास्तविक नाम ‘पशुपतिनाथ’ भएको शिवपुराणमा उल्लेख गरिएको छ।

५. पौराणिक कथाअनुसार महाभारतको युद्धपछि पाण्डवहरूले भगवान कृष्ण र भिष्मसँग युद्धमा आफन्तहरूको हत्या गरेकाले गोत्रहत्याको पापबाट मुक्त हुनको लागि के उपाय गर्नुपर्ला भनेर सोधेका थिए। भगवान शिवको दर्शन गरेपछि मात्रै गोत्रहत्याको पापबाट मुक्त हुन्छ भन्ने कुरा थाहा पाएपछि पाण्डवहरू शिवजीको दर्शन गर्न हिमालयमा गए।

पाण्डवहरू आएको देखेर भगवान शिव भैँसीको रूप धारण गरेर भैँसीको बथानमा लुकेका थिए। पाण्डवहरूले भैँसीरूपी शिवलाई चिनेर दर्शन गर्न नजिकै जाँदा भैँसीरूपी शिव जमीनमुनि धास्सिएका थिए। यसरी शिवजी जमीनमा धास्सिएपछि भैँसीरूपी शिवको पुच्छर पाण्डवले स्पर्श गर्दा ‘केदारनाथ’मा केदारनाथ भगवान प्रकट भए भने भैँसीरूपी शिवको शिर नेपालमा पशुपतिनाथ भगवानको रूपमा प्रकट भएका थिए।



यसरी पाण्डवहरूले पशुरूपी शिवको पुच्छर स्पर्श गरेर गोत्रहत्याको पापबाट मुक्त भएका थिए। यसरी पशुको रूप लिएर प्रकट भएको हुनाले नै भगवान शिवलाई ‘पशुपतिनाथ’ भनिन थालिएको हो।

६. श्रीस्वस्थानीमा उल्लेखित एक अर्को कथाका अनुसार भगवान शिवले मृगको रूप लगेर श्लेष्मान्तक वनमा पार्वतीको साथमा विहार गरेका थिए। यसैले भगवान शिवलाई ‘पशुपतिनाथ’ भन्न थालियो। अनि के पनि विश्वास गरिन्छ भन्दा हालको पशुपतिनाथको मन्दिरको परिशरबाहिरको वनलाई पहिले श्लेष्मान्तक वन भनिन्थ्यो।

७. नेपालकै सबैभन्दा पुरानो मानिने ‘गोपालराज वंशावली’का अनुसार, लिछ्छवी राजा ‘सुपुष्प देव’ले पशुपतिनाथ मन्दिरको निर्माण गरेका थिए।

८. एक अर्को वंशावलीका अनुसार, सुपुष्प देवले पाँच तले पशुपतिनाथ मन्दिरको निर्माण गर्नुभन्दा पहिले त्यस ठाउँमा शिवलिङ्गको आकारको देवालय थियो। समय बित्दै जाँदा यस मन्दिरको मर्मत सम्भारको काम पनि बढ्दै गएको थियो। त्यसैले नै नेपालका मध्यकालीन राजा ‘शिवदेव’ले पशुपतिनाथको मन्दिरलाई पुनर्निर्माण गरेका थिए। फेरि पछि मल्लकालीन राजाले त्यस मन्दिरमा गजुर लगाइदिएका थिए।

९. पौराणिक कथाअनुसार, नेपालमा पर्ने चन्द्रावन हिमालय पर्वत को गुफामा इच्छापूर्ती गरिदिने ‘कामधेनु गाई’ आएर बसेका थिए। कामधेनुले दिनहुँ पर्वतबाट तल झरी माटोमाथि आफ्नो दूध चढाउने गर्थे। यसरी हजारौँ वर्षसम्म पनि कामधेनु गाईले सो ठाउँमा दूध चढाउन थालेपछि एकदिन त्यहाँ वरिपरिका मानिसहरूले के रहेछ भनि खन्दा एउटा सुन्दर चमकदार शिवलिङ्ग भेटेका थिए। त्यसपछि उनीहरूले सो शिवलिङ्गलाई पुजा गर्दै आएका थिए। त्यसैल स्थललाई नै पछि ‘पशुपतिनाथ’ भनिएको हो भन्ने पनि विश्वास गरिन्छ

१०. पशुपतिनाथ मन्दिरको पछाडिपट्टि ‘विरुपाक्ष’को मूर्ती रहेको छ। यस मूर्तीलाई नेपालमा ‘कलिको मूर्ती’ भनेर पनि चिनिन्छ। नेपालको पुराना मूर्तीहरूमध्ये यो मूर्ती पनि एक हो। विरुपाक्षलाई भगवान शिवको मानवरूप पनि मानिन्छ।

यो मूर्ती जमीनको सतहबाट बिस्तारै माथि सर्दै आइरहेको बताइने गरेको छ। जब यो मूर्ती जमीनबाट पूर्णरूपमा माथि आउँदछ, तब यो संसारको अन्त्य हुने विश्वास गरिन्छ। यानिकी कलियुगको अन्त्य हुने विश्वास गरिन्छ।

समयको चक्रसँगै कलियुगपछि सत्ययुगमा यो मूर्ती पूर्णरूपमा जमीनमुनि पुरिन्छ र फेरि बिस्तारै बिस्तारै माथि सर्दै प्रक्रिया दोहोरिने विश्वास गरिन्छ।

११. बि.सं. २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको वारपाकलाई केन्द्रविन्दु बनाई गएको ७.८ रेक्टर स्केलको महाभूकम्पमा पनि पशुपतिनाथको मूल मन्दिर ‘दैविक-वैदिक-वास्तु शक्ति’ (शिव कथत भूतत्व-विज्ञान)को कारण सुरक्षित रहेको देखियो भने मन्दिर परिशर बाहिरका साना मन्दिरमा थोरै क्षति पुगेको देखियो। त्यसको २ वर्ष अगाडि पनि महाप्रलयमा श्रीकेदारनाथ मन्दिर पनि सुरक्षित रहेको थियो।

nepaliheadline

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment