भौगोलिक विकटता र न्यूनतम स्वास्थ्य सेवाबाट वञ्चित नेपालको अत्यन्तै विकट र विशाल यो जिल्लाबाट गर्भवती आमा नेपालगन्जसम्म पुगी लिंग पहिचान’ गर्ने र छोरी भएमा ‘तत्काल’ भ्रूणमै हत्या गरी फर्कने गरेका छन् ।
अन्नपूर्ण पोस्ट्को साक्षात्कारमा त्यस्ता आमाहरूले विभिन्नखाले सामाजिक तथा आर्थिक कारण देखाउँदै आफूले जाँच गर्दा छोरी भएकाले गर्भपतन गरी फर्केको स्वीकार गरेका छन् । अधिकांश आमाहरूले त्यसबारे खेद वा प्रायश्चितको भाव दर्साएनन् । डोल्पाका गाउँबाट नेपालगन्जसम्मको यात्रा सहज छैन ।
सक्ने केही आमाहरू त्यसका लागि नेपालगन्ज वा काठमाडौं जाने गर्छन् हवाईमार्गबाट अनि बाँकी करिब तीन दिन पैदल हिँडेर रुकुमसम्म पुग्ने र त्यहाँबाट बसमा कोच्चिएर नेपालगन्ज पुग्ने गरेका छन् ।
‘छोरी भए फाल्न्या, छोरा भए राख्न्या त हो नि’ गाउँका अधिकांश महिला यसै भन्छन् । ‘लिंग पहिचान गर्नु’ उनीहरूको भाषामा ‘जाँच गर्नु’ कानुनी अपराध हो भन्ने उनीहरूलाई ज्ञान छैन ।
नेपालमा वंशलाई निरन्तरता दिन, मरेपछि दागबत्ती दिन अनि पैत्रिक सम्पत्तिको हकवाला बनाउन छोरा नै चाहिन्छ । यस्तैयस्तै तर केही पृथक कारण छन् डोल्पाली आमाहरूले छोरी भए फाल्नु, छोरा भए राख्नुमा । नेपालको तराई क्षेत्रमा मात्र होइन, डोल्पामा पनि दाइजोप्रथा व्याप्त छ ।
उक्त प्रथा एउटा मुख्य कारण बनेको छ छोरी तुहाउनुको । विपन्न आमाको कोखबाट जन्म लिए पनि अशिक्षाका कारण विवाह गरेर अर्काको घरमा टन्न नगद, भाँडाकुँडा र लत्ताकपडासहित जानुपर्ने बाध्यताले छोरीहरू भ्रूणमै संसारबाट टाढिन पुगिरहेका छन् डोल्पामा पनि ।
तीन छोरीका मातापिता माथिल्लो दुनैका गंगा शाही र गुनबहादुरले नेपालगन्ज पुगी लिंग पहिचान गरेपछि चौथो छोरी चाहेनन् र उनलाई संसार देख्न दिएनन् । ‘तीन छोरी लगातार भए ।
गाउँमा कुरा काट्न थालेपछि बसिखानु भएन । गर्भमा अर्की छोरी देखिएपछि जन्माउने आँट पनि भएन’, गुनबहादुरले निराश हुँदै भने’, ‘छोरी हुँदा दाइजो दिन सकिन्न । विवाह गरेर पठाउँदा दुईतीन लाख नगद, भाँडाकुँडा र लत्ताकपडा टन्न दिन सकिन्न ।
त्यही भएर पनि छोरा चाहिएको हो हामीलाई ।’ उनले थपे, ‘छोरा नभएसम्म यसैगरी जाँच गरेर फाल्ने त हो । गाउँमा यही चलन छ त म के गर्न सक्छु र अरू ?’
उनले पैसा नहुँदा श्रीमती गंगा हिँडेरै छोरा वा छोरी भएको पत्ता लगाउन नेपालगन्जसम्म पुगेको बताए । यसो भनिरहँदा पटकपटक छोरी तुहाउँदा श्रीमती गंगाको स्वास्थ्यमा पर्न जाने समस्याबारे उनी अनभिज्ञ र निर्भीक थिए । उनी निर्भीक हुने एउटा अर्को कारण छ– उनी एक्लै छैनन् यसमा ।
गंगासँगै डोल्पाका सातजना गर्भवती महिलाले नेपालगन्ज पुगेर छोरी तुहाएको गुनबहादुरले बताए । धेरैबेर घोत्लिएर उनले भने, ‘अचेल गंगाले आफूमा पहिलेजस्तो शक्ति नभएको भने बताउँछिन् ।’
करिब ३६ हजार जनसंख्या रहेको नेपालकै ठूलो हिमाली जिल्ला डोल्पामा उब्जनी कम हुने भए पनि प्रशस्त जग्गा भएका धेरै भेटिन्छन् । ‘खेतीपाती टन्न छ । भोलि अर्काको छोराले खानुभन्दा आफ्ना छोराले खाऊन् भन्ने लाग्छ’ यही मानसिकताको सिकार बनेका छन् जन्मनुभन्दा पहिले नै छोरीहरू ।
‘छोरा भएन भने यो सम्पत्ति कसले खान्या हो र ? ’ लगातार दुई छोरी भएपछि काठमाडौं पुगेर गर्भपतन गरिसकेकी माझफालकी विष्णु विकले प्रश्न गरिन् । छोरासरह छोरीलाई नै सम्पत्ति जिम्मा लगाए के हुन्छ ? भन्ने प्रश्नको जबाफमा उनले निस्फिक्री हुँदै भनिन्, ‘अरूको घरमा जाने जातलाई किन दिने हो र सम्पत्ति रु आफ्नी छोरीले मात्र खान पाए पो दिनु ।’
नेपालमा हरेक वर्ष कति महिलाले लिंग पहिचान र भू्रणहत्या गराउँछन्, त्यसको कुनै आधिकारिक तथ्यांक छैन । तर यो नियमित प्रक्रियामात्र बनेको छैन, प्रायः सबै गर्भवतीहरूका लागि ।
डोल्पाका विभिन्न गाविसका आधा दर्जनभन्दा बढी महिलाले आफूले जाँच गर्दा छोरी भएको पत्ता लागेपछि गर्भपतन गरेको खुलासा गरेका छन् । त्यो गर्भपतनमा उनीहरूलाई पछुतोसमेत छैन ।
छोरी गर्भमै तुहाउनुमा डोल्पाका आमाहरूका लागि अर्को कारण बनेको छ घरपरिवार र छिमेकीको अपहेलना ।
छोरा नहुँदा घरपरिवार र छिमेकीले काट्ने गरेको कुराले उनीहरूलाई चिन्तित बनाउँछ । कतिपयलाई भने ‘लिंग पहिचान’ का लागि हिँडेर नेपालगन्ज पुग्न नसकेकोमा पिर छ ।
‘मेरा त छोरा छन्, म कति भाग्यमानी रहेछु । तिमी अभागी रहिछौ एउटा छोरो पनि पाउन सकिनौ भन्छन् छिमेकी दिदीबहिनीहरू । कति दिन उनीहरूको खिसी सहने ? त्यही भएर छोरा त पाउनैपर्छ हामीलाई’, चार छोरीकी आमा त्रिपुराकोटकी बिसी सार्कीले भनिन्, ‘हामीलाई भन्दा पनि घरपरिवार र छिमेकीलाई छोरा नभइहुन्न ।’
बिसीलाई गंगाले जस्तै तीन दिन पैदल हिँडेर रुकुमबाट गाडी चढ्दै नेपालगन्जसम्म पुगेर लिंग पहिचान गर्न नसकेकोमा पछुतो छ । ‘त्यति बेला जाँच गरेर फालेको भए भए यति धेरै छोरी हुन्थेनन् कि ?’
घरबाट करिब ६ घन्टा हिँड्दै जुफाल एयरपोर्टमा बारी बोकेर पैसाको जोहो गर्दै आएकी उनले भनिन्, यी छोरीले मैलेजस्तै अब दुःख पाउने त होलान् भन्ने पिरलो छ मलाई ।’
बिसीलाई ठूलो डर छ विवाहमा दाइजो दिन नसक्दा कतै छोरी अपहेलित हुने त हैनन् भन्नेमा । ४५ वर्षको उमेरकी बिसीलाई अझै पनि बच्चा पाउनुहुन्छ त भन्ने प्रश्न गर्दा उनको जबाफ थियो, ‘पाउने हो नि, छोरा त चाहिगो । हैन भने बाँचुन्जेल छेमेकीले कुरामात्र काट्छन् ।’
गंगा, गुनबहादुर, दिलबहादुर र बिसी मात्रै होइन, डोल्पाका उच्च हिमाली क्षेत्रका कुनाकन्दराहरूमा अवस्थित माटो र काठले बनाइएका साना घरहरूभित्र बसोबास गर्ने धेरै आमाबुबाहरू छोरा जन्माउने चाहनामै छन् । प्रतीक्षा कहिलेसम्म ? त्यो उनीहरूलाई थाहा छैन । अनि गर्भवती आमाहरू छोरी जन्मे सकस हुने प्रशस्त कारणले लिंग पहिचान गर्दै छोरी तुहाइरहन्छन् ।
यहाँ छोरा भएको परिवार सुखी र छोरी भएको दुःखी परिवारका रूपमा चिनिन्छ । महिला स्वास्थ्य र पोषणबारे नागरिक शिक्षामार्फत जनचेतना फैलाउन डोल्पा पुगेकी जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती लिंग पहिचान गर्दै छोरीलाई भ्रूणमै हत्या गर्नुले कानुनलाई अर्थहीन बनाएको र त्यसका लागि प्रशासन तहलाई आवश्यक निर्देशनसहित उत्तरदायी बनाउनुपर्ने मान्यता राख्छिन् । दिपा दाहाल, अन्नपूर्ण पोष्ट दैनिकबाट
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment