भूकम्पपछि जोखिममा रहेका घरलाई अन्य स्थानमा स्थानान्तरणका लागि जग्गा खरिद गर्न रकम उपलब्ध गराउनेबारे सम्बन्धित निकायबीच छलफल भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षमा सहरी विकासमन्त्री, विभिन्न मन्त्रालयका सचिव, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, नेपाल राष्ट्र बैंकका गभर्नरलगायत सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिसहितको बैठकले जग्गाका लागि रकम उलब्ध गराउन एक हप्ताभित्र कार्यविधि बनाएर अगाडि बढ्ने सहमतिसमेत गरेको छ ।
“अहिलेसम्मको ९० प्रतिशत अध्ययनले एक हजारभन्दा बढी घर सार्नुपर्ने जोखिममा छन्, ती घरलाई स्थानान्तरण गर्नुपर्नेछ, त्यसबारे कार्यविधि बनाएर अगाडि बढ्ने सकारात्मक कुरा भएको छ”– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले भने ।
कार्यकारी अधिकृत प्रा डा पोखरेलका अनुसार सुकुम्बासी वा वन क्षेत्रको सरकारी जग्गामा बस्दै आएका तर लालपुर्जा नभएका सुकुम्बासी भूकम्पपीडितको वर्गीकरण गरेर केही वैकल्पिक उपाय खोज्नका लागि भूमिसुधार मन्त्रालयसँग समन्वय गरिने भएको छ ।
भूकम्पपीडितलाई रु तीन लाख सहुलियत ऋण उपलब्ध गराउन एक हप्ताभित्रमा कार्यविधि बनाउने उहाँले जानकारी दिए । त्यसका लागि नेपाल राष्ट्र बैंकसँग समन्वय गरिनेछ ।
उनले भने, “रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्लामा भूकम्पपीडितलाई दोस्रो किस्ता लिनेबारे विवरण लिने काम भइरहेको छ, पहिलो किस्ता पाउनुभएका र दोस्रो किस्ताका लागि विवाद नभएकाले किस्ताको दाबी गर्न सक्ने छन् ।” पहिलो किस्ताको रकम करिब सबैले पाइसकेको उनको भनाइ छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment