Friday, March 17, 2017

कांग्रेस हेर्दा भैंसीजत्रो देखिन्छ, भारी बाख्राको जति पनि बोक्न सक्दैनः ओली

नेकपा(एमाले)को मेची–महाकाली राष्ट्रिय अभियान बिहीबार सकिएको छ। अभियानको अन्तिम सभा आज कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्ला मञ्चमा भयो।

सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली, नेताहरू माधवकुमार नेपाल, ईश्वर पोखरेल लगायतले सम्बोधन गरेका थिए। सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले अहिलेको सरकारले आठ महिनासम्म केही काम नगरेको बरु चुइगम चपाएर बसेको बताए।

उनले एमाले कमजोर भयो भने देश कमजोर हुने जिकिर गरे। ‘एमालेसँग देशलाई कमजोर बनाउन चाहने तत्व कति आतंकित हुँदा रहेछन् भन्ने देख्नुभयो होला।

 हामी पूर्वबाट हिँडेपछि भाला, लाठी, ढुंगामुढा बोकेर आए। हामीले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक परिपाटीविपरीत प्रस्तुत भए।
शान्तिपूर्ण रुपमा सभा गर्न नदिने तत्वलाई जनताले चिनेका छन्, चिन्छन्’, ओलीले भने, ‘एमालेका नेताहरुमाथि सांघातिक आक्रमण गर्ने, नेताहरुको हत्या गर्ने उनीहरुको प्रयास सफल भएन। हामीमाथि आक्रमण गर्न प्रहरीले दिएन भनेर प्रहरीमाथि आक्रमण भयो।

 काठमाडौंको आरामदायी सोफामा बसेका, एसी लगाएका, कानमा फोन लगाउनेहरुले आक्रमण गर्न आदेश दिन्छन्। ४८ जना प्रहरी घाइते बनाइयो। हत्याको जिम्मा तिनले नै लिनुपर्छ।’

ओलीले एमाले एमाले जहाँ पुग्यो, त्यहाँ बन्द गर्ने उल्लेख गर्दै हत्केलाले सूर्यलाई छेक्न नसकिने बताए। ‘बन्द किन गर्छन् थाहा छ? किनभने, सूर्य जहाँ पुग्छ, त्यहाँ उज्यालो हुन्छ । त्यही भएर तिनीहहरु आत्तिएका छन् । म भन्न चाहन्छु, हत्केलाले आफ्नो आँखा छेक्न सकिएला, सूर्यलाई छेक्न सकिन्न’, ओलीले भने।

अध्यक्ष ओलीले कञ्चनपुरको आनन्दनगरमा गोविन्द गौतमको हत्यामा भारतले ठूलो देशको अहंकार छाड्नुपर्छ, नेपाल र नेपालीसँग माफी माग्नुपर्छ, माग्नु पर्ने बताए। गौतमको परिवारलाई एमालेले ५ लाख रुपैयाँ पनि दिएको छ।

ओलील्ले नेपालको अन्तर्राष्टिय पारवहनको अधिकार पनि सुरक्षित गर्नुपर्छ भनेर आफूले प्रधानमन्त्री भएको बेला हिन्द महासागरसम्म नेपालको झण्डा भएको पानीजहाज चलाउने भनेपछि केही कुवाका भ्यागुताहरु कराएको बताए।

उनले सत्तारुढ दल नेपाली कांग्रेस आकारमा ठूलो भए पनि काम कहिल्यै ठूलो गर्न नसकेको बताए। ‘पार्टीको आकारले के गर्ने ? हेनुस् त कांग्रेसको आकार हेर्दा भैँसीको जत्रो छ। भारीचाहिँ बाख्राको जत्रो पनि बोक्न सक्दैन’, ओलीले भने, ‘माथि बस्नेहरुलाई कांग्रेस चाहिएको होला। जनतालाई किन चाहियो कांग्रेस? आउनूस्, एमालेमा स्वागत छ।’

ओलीले पहाड र तराईलाई छुट्याउने षड्यन्त्रस्वरुप संविधान संशोधन प्रस्ताव आएको र आफ्नो पार्टीले यसलाई पारित हुन नदिने बताए।

आफूले सरकामा रहँदा नाकाबन्दी खोलेको चीन र भारतको भ्रमण गरेको तर अहिलेको सरकारले आठ महिना बित्दा पनि केही नगरेको ओलीको जिकिर छ। ‘रहर गरेर के गर्ने ? हामीले नौ महिनामा चीन र भारत भ्रमण गर्यौँ। नाकाबन्दी खुलायौँ। सन्धिहरु गर्यौँ’, उनले प्रश्न गरे, तर, यो सरकारले आठ महिनामा के गर्यो? चुइँगम चपाएर बस्यो । केही गरेको देख्नुभएको छ?’

सभामा बोल्दै एमाले बरिष्ठ नेता नेपालले एमालेको मेची काली अभियान देखेर प्रतिद्वन्द्वीको सातो र होस हवास उडेको बताए।  फागुन २१ गते झापाबाट सुरु भएको अभियाको भोलि पत्रकार सम्मेलन गरेर औपचारिक समापन गरिने एमालेले जनाएको छ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment