माटो र बालुवाको पत्र रहेको मन्दिरमुनिको भाग पानीले गाल्दै लगेको र अनगिन्ती ठूला मुसाले आउने–जाने बाटो बनाएको पाइएको छ । इन्जिनियरिङ जियोलोजिस्ट रञ्जनकुमार दाहालले मन्दिरमा प्रयोग हुने पानी ब्रह्मनाल भएर बागमती नदीमा जाने क्रममा ठाउँठाउँबाट चुहिँदै जाने गरेको जानकारी दिए ।
पाशुपत क्षेत्रको बृहत् गुरुयोजना बनाउन पशुपति क्षेत्र विकास कोषले विभिन्न विषयरक्षेत्रको कार्यपत्र पेस र छलफल गराउने क्रममा सोमबार दाहालले भने, ‘केहीपटक मैले त्यहाँ पुगेर हेरेको छु । तस्बिर खिच्न नमिलेर मात्र हो । नत्र प्रमाण देखाउन सक्छु । त्यसरी चुहिएर जाने पानीले माटो गलाएको कसैलाई थाहा नहुन सक्छ । बलौटे माटो पनि भएकाले क्रमशः थोरै मात्रामा बगे (क्रिप) पनि आसपासमा पर्खाल भएकाले ठूलो असर नदेखिएको हो ।’
कोष कर्मचारीका अनुसार ढुंगाको डुँडजस्तो आकारबाट मन्दिरको पानी ब्रह्मनाल हुँदै नदीमा जाने गरेको छ । दाहालले बागमती नदीपूर्वको आरती गर्ने भाग श्लेषमान्तक वनको भागदेखिकै माटो गलेकाले समस्या आउन सक्ने पनि बताए । पाशुपत क्षेत्रको गहिरो अध्ययन गरेका आर्किटेक्ट सुदर्शनराज तिवारीले ब्रह्मनालको पानी बीचैबाट माटोमा पर्ने गरेकाले माटो गल्ने र बालुवासमेत भएकाले बगाउने गरेको बताए । उनले सोमबार अन्नपूर्णसँग भने, ‘खासगरी वासुकीनाथ मन्दिरदेखि पूर्वी ढोका हुँदै जाने भाग बढी धसिने सम्भावना छ । पानी जाने ढुंगाको डुँडका लागि अड्याउन राखिएका काठका थाम कुहिसकेका छन् ।’
ढुंगाको डुँडजस्तो आकारबाट मन्दिरको पानी ब्रह्मनाल हुँदै नदीमा जाने क्रममा बलौटे माटो गलेर खाल्डो पर्न थालेको हो ।
उनका अनुसार गर्भगृह र पानीको निकासा देव राजाभन्दा अघि जय बर्माको समयमै बनाइएको थियो । उनले भने, ‘त्यो मात्र होइन, आर्यघाटमा रहेको शिवलिंगको ब्रह्मा (चार कोणमा रहेको तलको भाग), विष्णु (आठ कोणमा रहेको मध्यभाग) र महेश्वर (गोलो जमिनमाथि देखिने लिंगको भाग) मध्ये माथिको भागले माटोको भुइँ बसेको र लिंग माथि उठेको छ तर कसैलाई थाहा नहुन सक्छ । यसलाई बेलैमा समाधान गर्नुपर्ने देखिन्छ ।’
कोषका मुख्य लेखा अधिकृत प्रेमहरि ढुंगानाले गर्भगृहमुनि र पानी बग्ने भागआसपासमा अनगिन्ती ठूला मुसा रहेकाले तिनले ओहोरदोहोर गर्न बाटो बनाउँदा पनि मन्दिरमुनिको भागमा भ्वाङ परेको बताए । मन्दिरमा चढाइने पानी, पञ्चामृत आदि कहाँबाट पसेर कहाँ निस्कन्छ भन्ने पत्तो नहुने उनको भनाइ छ ।
पशुपतिनाथ मन्दिर व्यवस्थापन महाशाखाका प्रमुख भोलाप्रसाद सिटौलाले मन्दिर परिसरमा पानी बगाउन ह्युमपाइप हालेको जानकारी दिए । उनले भने, ‘यस्तै सम्भावना बुझेर गत वर्ष भारतीय आर्किटेक्टमार्फत अनुसन्धान र काम गर्न खोज्दा हस्तक्षेप भयो भन्ने गुनासोले काम रोकिएको थियो । तर तत्काल जसरी पनि मन्दिरमुनिको भागको अध्ययनअनुसन्धान जरुरी भएको ठहर कोषले गरेको छ ।’
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment