Friday, March 17, 2017

त्रिपालमा बसेका भूकम्पपीडितलाई हटाइँदै


काठमाडौं- विनाशकारी भूकम्पपछि खुल्ला क्षेत्रमा त्रिपाल हालेर बस्दै आएका भूकम्पपीडितलाई सरकारले हटाउन थालेको छ। पहिलोपटक मंगलबार बौद्ध चुच्चेपाटीस्थित तारागाउँ विकास समिति जग्गा (चौर) मा त्रिपाल हालेर बस्दै आएका भूकम्पपीडितलाई हटाएको छ।

पटक–पटक हट्न सूचना जारी गर्दा पनि अटेर गरेपछि टहरामा प्रहरीले डोजर लगाएर भत्काएको थियो।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार चुच्चेपाटीको अस्थायी टहरा हटाएपछि अब राजधानीको अन्य ठाउँमा बस्दै आएकालाई पनि हटाइनेछ। ‘पहिलो चरणमा चुच्चेपाटीको अस्थायी टहरा पूर्णरूपमा हटाएका छौँ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हिमनाथ दवाडीले भने, ‘अन्य ठाउँमा त्रिपाल हालेर टहरामा बसेकालाई पनि हटाउँदै छौँ।’ उनका अनुसार गुह्येश्वरीलगायत केही ठाउँमा भूकम्पपीडितका नाममा त्रिपाल हालेर बस्दै आएका छन्।

त्रिपाल हालेर बस्नु बाध्यताभन्दा पनि विभिन्न संघसंस्था तथा व्यक्तिको फाइदाका लागि बस्दै आएको अनुमान गर्दै हटाउन लागिएको प्रजिअ दवाडीले बताए। ‘वास्तविक भूकम्पपीडित सरकारी राहत लिएर यथास्थानमा फर्किसकेका छन्,’ उनले भने, ‘अहिले त्रिपालमा बसिरहेका पीडित भने बाध्यता नभएर रहरले बसेजस्तो लागेको छ।’

पहिला सूचना दिने र हट्न अटेर गरेको खण्डमा प्रशासन आफैँले हटाउने प्रजिअ दवाडीले बताए। उनका अनुसार भौगोलिक दृष्टिले जोखिममा रहेकाबाहेक अन्य सार्वजनिक स्थलमा अस्थायी टहरामा बसिरहेका भूकम्पपीडितलाई हटाउने सरकारको नीति रहेको छ।

अस्थायी टहरामा भेटिएकी शर्मिला अधिकारीले माइकिङ गरेरै हटाएको बताइन्। ‘माइकिङ गरेपछि कोठा खोजेर आफन्तलाई सारेका थियौँ। धेरैले डेरा खोजेर सरिसकेका थिए,’ उनले भनिन्, ‘संगठन गठन गरेर सरकारसँग जग्गा माग्ने तयारीमा रहेको बेला सुरक्षाकर्मीले डोजर चलाएको हो।’

चुच्चेपाटीका भूकम्पपीडित संघका अनुसार भूकम्पलगत्तै चौरमा करिब पाँच सय घरपरिवार त्रिपाल हालेर बस्दै आएका थिए। तर, पछि घट्दै गएर ७० परिवार भने मंगलबारसम्म चौरमै थिए।

‘हामीले भाडाको कोठा खोजिरहेका थियौँ। एक्कासि प्रहरीले डोजर ल्याएर सबै त्रिपाल भत्काएपछि चिनेकामा बस्नुपर्ने बाध्यता भएको छ,’ संघकी अध्यक्ष अष्टमाया श्रेष्ठले भनिन्, ‘कोठा नपाउँदा अन्योलमा परियो।’ सुन्दरीजल घर बताउने श्रेष्ठ भूकम्पपछि उक्त ठाउँमा बस्दै आएकी थिइन्।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment