सप्तरीमा सोमबार भएको गोलीकाण्डको प्रतिक्रियास्वरुप तराई-मधेसका विभिन्न जिल्लामा आन्दोलन फैलिएको छ । मधेसी मोर्चाले घोषणा गरेको दुईदिने बन्दको असर पूर्वको बिराटनगरदेखि पश्चिमको नेपालगञ्जसम्म परेको छ ।
सोमबारसम्म शान्त रहेको मोरङको बिराटनगरमा मंगलबार आन्दोलनकारीहरु सडकमा उत्रेर टायर बाल्न थालेका छन् । बन्दको असरले भैरहवास्थित बेल्हिया नाकामा नेपाल-भारत ओहोर-दोहोर गर्ने यात्रुहरुसमेत अलपत्र परेका छन् ।
बिराटनगरमा टायर बालेर प्रदर्शन
बिराटनगरबाट अनलाइनखबरकर्मी ध्रुव भट्टराईले दिएको जानकारी अनुसार सप्तरी घटनाको विरोधमा संयुक्त मधेसी मोर्चाले बिहानैदेखि सडकमा उत्रेर प्रदर्शन सुरु गरेका छन् । मोर्चाका कार्यकर्ताहरु सरकारको विरोधमा विराटनगरका मुख्य चोक क्षेत्रमा टायर बालेर प्रर्दशनमा उत्रिएका हुन् ।
सोमबार प्रहरीको गोली लागेर तीन जना प्रदर्शनकारीको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दका कारण विराटनगर क्षेत्रको जनजीवन प्रभावित बनेको हो ।
आन्दोलनकारीले उनीहरुले जनआन्दोलन चौक, रोडशेष चोक, शनि मन्दिर चोक लगायतमा राजमार्ग क्षेत्र केन्द्रित भएर सरकारविरुद्ध नारावाजी गरिरहेका छन् ।
मोर्चाले मंगलबार र बुधबारका लागि आह्वान गरेको बन्दका कारण विराटनगर क्षेत्रवाट लामा तथा छोटा दूरीका सवारी चलेका छैनन् । बजार पसल, कलकारखना शैक्षिक संस्था पनि ठप्प छन् ।
मोर्चाका कार्यकर्ताहरुले विभिन्न स्थानमा प्रदर्शनमा उत्रिएपछि स्थितिलाई अराजक हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
जनकपुरमा मानव अधिकार आयोग घेराउ
जनकपुरमा स्थानीय युवाहरुले राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय घेराउ गरेका छन् ।
सप्तरीको राजविराजमा भएको झडपमा तीन जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न माग गर्दै उनीहरुले मानवअधिकार कार्यालय घेराउ गरेका हुन् ।
उनीहरुले सप्तरीका एसपी दिवस लोहनीलाई कारवाही गरिनुपर्ने मागसमेत गरेका छन् । साथै सरकार र मानव अधिकार आयोग विरुद्ध नाराबाजी गरेका छन् ।
भैरहवा आन्दोलित, बेल्हिया नाकामा असर
सप्तरी घटनाको विरोधमा आहृवान गरिएको बन्दले भैरहवाको जनजीवन प्रभावित भएको छ । अनलाइनखबरकर्मी सलमान खानका अनुसार मोर्चाका नेता कार्यकर्ताहरुले भैरहवाको बुद्धचोकमा टायर बालेर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।
बन्दकर्ताहरुको अवरोधका कारण सवारी साधन चल्न सकेका छैनन् ।
बन्दका कारण भैरहवाका बैंक, वित्तीय सस्था, उद्योग कलकारखाना बन्द छन् । छिटफुटमा साना पसलहरु खुल्नुका साथै भित्री मार्ग हुँदै मोटरसाइकल चलेका छन् । त्यस्तै बेलहिया नाका हुँदै नेपाल आउने यात्रुहरु पनि सीमा नाकामै अलपत्र परेका छन् ।
उता नेपालगञ्जको मुख्य पनि बन्दको प्रभाव परेको छ । पसलहरु बन्द हुनुका साथै यातायातका साधन पनि चलेका छैनन् । तर, कोहलपुरतिर सवारी साधन चलिरहेको त्यहाँबाट आरपी सुवेदीले बताएका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment