Friday, March 3, 2017

राप्रपाले चुनाव चिन्हबारे आज निर्णय गर्ने, कमल थापा निकट सबै गाईको पक्षमा


 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार (आज) चुनाव चिन्हबारे निर्णय लिँदैछ । यसका लागि धुम्बराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले केन्द्रीय समिति बैठक बसिरहेको छ ।

स्थानीय निर्वाचनको तयारीका लागि भन्दै बोलाइएको उक्त बैठकले चुनाव चिन्हसहित निर्वाचनको कार्ययोजना, जिम्मेवारी बाँडफाँड लगायतबारे निर्णय गर्ने गर्ने बताइएको छ । यद्यपी यसअघि बिहीबार बसेको बैठक चुनाव चिह्नको विवादमा अल्झिएपछि शुक्रबार पुनः बसेको हो ।

निर्वाचन आयोगले मतपत्र छपाईको अन्तिम तयारी गरेकाले राप्रपाले शुक्रबारसम्म चुनाव चिह्न बारे निर्णय गर्दै आयोगलाई जानकारी गराउने तयारी गरेको नेताहरुले जानकारी दिएका छन् । बिहीबारको बैठकमा आगामी निर्वाचनमा हलो वा गाई, कुन चिह्न प्रयोग गर्ने भन्नेबारे धारणा राखेका नेताहरुको मत बाझिएको छ ।

तात्कालीन राप्रपाका नेताहरुले हलोलाई नै आगामी चुनाव चिह्न बनाउनु पर्ने बताएपनि तात्कालीन राप्रपा नेपालका नेताहरुले पार्टीले हिन्दु राष्ट्रको नीति अवलम्बन गरेकाले गाईलाई नै चुनाव चिह्न बनाउनु पर्नेमा जोड दिएका छन् । गाईलाई चुनाव चिन्ह बनाउनुपर्ने धेरैको मत रहेको बैठकमा सहभागी नेताहरुको दाबी छ । अध्यक्ष कमल थापा निकट सबै नेताहरु गाईको पक्षमा रहेका छन् ।

पहिलो दिनको बैठकमा बिहीबार वरिष्ठ नेताहरु लोकेन्द्रबहादुर चन्द र प्रकाशचन्द्र लोहनीसहितका नेताले एकता महाधिवेशनको भावना अनुसार हलो चुनाव चिह्न राख्नुपर्ने धारणा राखेका थिए ।

यस्ते शुक्रबारको बैठकमा स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अनुसार पार्टी संगठन निर्माण गर्न राजेन्द्र लिङदेन नेतृत्वको कार्यदल र स्थानीय निर्वाचनमा उम्मेदवारको योग्यता निर्धारण गर्न धु्रवबहादुर प्रधान नेतृत्वको कार्यदलले पेश गरेको प्रस्तावमाथि सदस्यले धारणा राख्नेछन् ।

बैठकमा एक सय बढी सदस्यले नाम टिपाएपछि पहिलो दिन ३० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् भने बाँकीले शुक्रबार राख्ने राप्रपाले जनाएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment