एसएसबी वा भारतीय पक्षका व्यक्ति कसले गोली हानेको भन्ने यकिन हुन नसकेको उनको भनाइ छ। 'कसले गोली हानेको हो भन्ने यकिन हुन सकेको छैन,' उनले भने। प्रत्यक्षदर्शीले भने भारतीय प्रहरीका थानेदारले पेस्तोलबाट गोली हानेर गोविन्दको हत्या गरेको बताएका छन्। 'थानेदारले पेस्तोलबाट गोली फायर गर्यो, तीन वटा फायर लागेन र चौथो फायर गोविन्दको कम्मरमा लागपछि उनी ढले,' प्रत्यक्षदर्शी पुनर्वास–८ का देवेन्द्र खड्काले भने । दायाँ हातले पेस्तोल चलाइरहेका थानेदार अरविन्दकुमार शुक्लाको छातीमा ढुंगा लागेपछि उनले गोली हानेको खड्काले बताए। गोविन्दलाई उपचारार्थ धनगढीस्थित सीपी अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

सीमावर्ती भारतीय बजार बसही जाने आनन्दनगरनजिकैको खोलामा कल्भर्ट बनाउन पुनर्वास नगरपालिकाले ५ लाख विनियोजन गरेको थियो। सर्वदलीय सहमतिका आधारमा कल्भर्ट निर्माण गर्न बजेट विनियोजन गरिएको नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले बताए। भारतीय पक्षले कल्भर्ट बनाउन अवरोध गरेपछि विवाद सुरु भयो। दुवै देशका सुरक्षा अधिकारी बसेर दुई साताअघि पक्की कल्भर्ट नबनाउने र कच्ची बनाउने सहमति भएको कञ्चनपुर प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले बताए। सहमतिअनुसार ह्युमपाइप राखेर त्यसमाथि माटो हालिएको थियो। स्थानीयले बुधबार इँटाका टुक्रा र माटो स्थानीयले राखे। साँझ ६ बजेतिर भारतीय पक्षका बासिन्दा आएर कल्भर्टमा राखेका इँटा र बालुवा फालेर भत्काउन थालेपछि विवाद सुरु भयो। दुवै पक्षबाट जम्मा भएका ३०–४० जनाबीच राति १० बजेसम्म विवाद भएको प्रत्यक्षदर्शी गोविन्द दाहालले बताए। बिहीबार बिहान ९ बजे दुवै पक्षका बासिन्दाबीच कल्भर्टनजिक विवाद सुरु भएको थियो।
नेपालतर्फका ५०–६० जना मात्र स्थानीय भएकाले सयौं संख्यामा आएका भारतीयले नेपालीलाई लखेटे। नेपालतर्फका स्थानीयलाई लेखेटेर भारतीयले बजारमा श्याम गुरुङको घर र पसल तोडफोड गरे। उनको घरमा रहेका २ खसी मारेर लगेको स्थानीय जंगबहादुर दियालीले बताए। यसैगरी दीपकबहादुर कामीको मोटरसाइकल तोडफोड गरे भने प्रकाश रावतको मोटरसाइकल लगेको स्थानीय विनोद गौतमले बताए। कल्भर्टभन्दा करिब दुई सय मिटर वर रहेको आनन्दबजारमै भारतीय पक्ष आएर तोडफोड गर्न लागेको जानकारी पाएपछि पुनर्वास नगरपालिकाका सवै वडा र बैलौरी नगरपालिका–१ का बासिन्दा आनन्दबजार पुगे।
११ बजेतिर करिब एक हजारको संख्यामा जम्मा भएका स्थानीय बासिन्दाले भारतीय पक्षलाई लखेटे। भारतीयलाई लखेट्दै नेपाली कल्भर्टपारि पुगेपछि एसएसबीले सात राउनड हवाई फायर गर्यो। त्यही बेला ठानेदारले गोली हानेर गोविन्दलाई ढाले। 'मेरो छेउमै गोविन्द भाइ थियो, ताकेर हानेको गोली लागेर ऊ ढल्यो', स्थानीय विनोद गौतमले भने। गोविन्दको हत्यापछि स्थानीय त्रसित छन्। घटनापछि त्रास बढेको स्थानीय दीपेन्द्र पालले बताए।
एसएसबीका एएसपी आरके मोरलले भने एसएसबीले गोली नचलाएको बताए। दुई साताअघि कच्ची कल्भर्ट बनाउने सहमति भएको उनले स्विकारे।
यसैबीच स्थानीयले गोविन्दलाई सहिद घोषणा गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन। माओवादी केन्द्रका प्रदेश नम्बर ७ इन्चार्ज लेखराज भट्टले विज्ञप्ति जारी गरी घटनाबारे छानबिन गर्न र देशको भूभाग बचाउन खोज्दा मारिएका गोविन्दलाई सहिद घोषणा गर्न माग गरेका छन्। यसैगरी नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटाले विज्ञप्ती जारी गरी घटनाकेा भर्त्सना गरेका छन्। अखिल छैटौं कञ्चपुरले पनि विज्ञप्ति निकालेर घटनाको विरोध र गोविन्दलाई सहिद घोषणा माग गरेको छ।
लामो समयदेखि सीमा विवाद
यहाँ रहेको २०० नम्बर पिलर गायब भएकाले सीमाका बारेमा लामो समयदेखि विवाद छ। १९९ नम्बर पिलर छ। २०० नम्बर पिलर नहुँदा भारतले नेपाली भूमिलाई पनि आफ्नो जमिन भन्दै आएको स्थानीय अगुवा हरि लम्सालले बताए। कल्भर्ट भएको स्थान नेपालमा पर्ने स्थानीयको भनाइ छ।
भारतीय पक्षले भने उक्त स्थान दसगजा रहेको दाबी गर्छ। दुवै देशको संयुक्त टोलीले अध्ययन गरेर सीमा विवाद टुंग्याउने र हराएको पिलर राख्ने सहमति भए पनि विवाद कायमै छ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment