Monday, March 13, 2017

मोर्चालाई ‘लचिलो’ हुन देउवाको आग्रह

 संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा सरकारलाई दिंदै आएको समर्थन फिर्ता लिने 'अल्टिमेटम' सकिने समय नजिकिंदै गर्दा सत्तारुढ नेपाली कांग्रेसले मोर्चाका नेताहरुलाई आफ्ना मागबारे लचिलो हुन आग्रह गरेको बताइएको छ।

कांग्रेसले स्थानीय तहको संख्या थप बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको भएपनि त्यसका लागि स्पष्ट आधार भने तय भइनसकेको मोर्चाका एक नेताले जनाए।
सरकार चुनावी प्रकृया र संविधान संशोधनलाई सँगसँगै अघि बढाउने मनस्थितिमा रहेकाले मोर्चामा केही आशासँगै शंका पनि जीवित रहेको नेताहरुले बताएका छन्।

भेटघाट
कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई मनाउने प्रयास स्वरुप तराई मधेश लोकतान्त्रिक पार्टिका अध्यक्ष महन्थ ठाकुरलाई आइतबार आफ्नै निवासमा बोलाएर मागमा लचिलो हुन आग्रह गरेको बताइन्छ।

मधेशी मोर्चाको माग बमोजिम केही संख्या बढिसकेको भएपनि स्थानीय तहको संख्या अझै बढाउन आफु तयार रहेको जानकारी देउवाले गराएको ठाकुरले बताए।
"अब के कति बढाउनु हुन्छ वा कुन किसिमले बढाउनु हुन्छ, त्यो उहाँहरुको कुरा हो। जति भएपनि संख्या त बढाउनु नै पर्छ। तर त्यस विषयमा उहाँहरु स्पष्ट हुनुभएन। खाली तपाईंहरुको सहमति अनुसार स्थानीय तहको संख्या बढाइदिन्छौं भन्ने उहाँको भनाइ थियो,'' ठाकुरले बताए।
संख्या
सरकारले साविकको स्थानीय निकाय विघटन गरि ७४४ वटा स्थानीय तह सहितको नयाँ संरचना प्रस्तावित गरेको पुनर्संरचना आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा ल्याइसकेको छ।
यसअघि आयोगले ७१९ वटा स्थानीय तह बनाउन सरकारलाई सिफारिस गरेको थियो। तर पछि त्यसमा खासगरि तराईमा केही संख्या थपियो।

देउवासँगको भेटमा सहभागी कांग्रेसका केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले दुईपक्षबिचको कुराकानीबारे भने, "स्थानीय निकायमा तराईको प्रतिनिधित्व नबढाएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबाट पछि हट्न हामीलाई गाह्रो हुन्छ भनेर वहाँले कांग्रेस सभापतिलाई भन्नुभयो। सहमतिको वातावरण बनाउने दिशामा मोर्चा पनि आउनुपर्यो भनेर कांग्रेसले आग्रह गर्यो।"
मोर्चाले सप्तरी घट्नापछि पाँच बुँदे माग राख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने लिखित चेतावनी दिएको थियो।
त्यसैकारण सत्तारुढ कांगेरस र माओवादी केन्द्रले मोर्चासँगको वार्तालाई तीव्रता दिने देखिन्छ तर मध्यमार्गी समाधानप्रति मोर्चाका नेताको आशंका भने कायमै छ। बीबीसी नेपाली

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment