नेकपा एमाले द्वारा गत फागुन २१ गतेदेखि सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानको सभालाई हिजो भैरहवामा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सर्वोच्च अदालतले पनि असंवैधानिक भनेको अवस्थामा नेपाललाई कमजोर पार्ने योजनाको पहिलो खुड्किलो यो संशोधन प्रस्तावका विरोधमा जनताले उठाएका आवाज वर्तमान सरकारले सुन्नै नचाहेर जबर्जस्ती गर्न खोजेको समेत बताए ।
उहाँले संविधान संशोधनमार्फत सबभन्दा पहिले ५ नम्बर प्रदेशलाई टुक्राउन खोजिएकोे र त्यसपछि बाँकीलाई पनि यसरी नै टुक्राउने योजना गरेको आरोप पनि लगाउनुभयो । “तर यसलाई ५ नम्बर प्रदेशका जनताले अस्वीकार गरिदिएका छन्,” उहाँले भन्नुभयो ।
देशभक्त र विकासप्रेमी सरकार हटाएर बनेको यो सरकारले मुलुकका लागि कुनै काम गर्न नसकेको समेत उहाँले बताए । उहाँले संविधानतः आगामी माघ ७ गतेसम्म तीनै तहको निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्थामा सरकारले अनावश्यक रुपमा संविधान संशोधनको प्रस्ताव ल्याएर निर्वाचन टार्ने षड्यन्त्रमा लागेको समेत उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “मधेसी मोर्चाका नाममा दुई÷चार जना सडकमा उफ्रिएको देख्ने सरकारले हजारौँ, लाखौँको जुलुस देख्दैन ।”
उहाँले पहाडी र मधेसी भनेर झगडा गराउने, जातजातका नाममा झगडा गराउने काम भइरहेको बताउँदै भन्नुभयो, “हामी त्यो सफल हुन दिदैनौँ, जनताको सार्वभौमिक सत्ता, स्वतन्त्रता, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई कुनै पनि हालतमा तलमाथि हुन दिदैनौँ ।”
उहाँले देस बचाउन र बनाउन दृढ सङकल्पित रहेकाले कसैका अगाडि नझुक्नेसमेत स्पष्ट पार्नुभयो । उहाँले वर्तमान संविधानले कसैलाई पनि विभेद नगरेको, महिला, जनजाति, मधेसी आदि नाममा आरक्षण रहेको बताउँदै अधिकार पाइएन भन्नु वितण्डा खडा गर्नका लागि मात्र हो भन्नुभयो ।
सभालाई सम्बोधन गर्दै उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकारले मुलुकलाई विभाजनतर्फ लैजान खोजे पनि त्यो कुनै हालतमा पूरा नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले संविधान असफल पार्न खोजिएको छ । समयमा संविधान कार्यान्वयन हुन नदिने योजना छ तर, यो देश असफल हुन सक्दैन, हुन दिइँदैन ।”
सांसद आदित्यनारायण कसौधनको सभापतित्वमा भएको कार्यक्रममा तुलसी चौधरी, पोलिटब्युरो सदस्य दलबहादुर राना, लोकतान्त्रिक मधेसी सङ्गठनका अध्यक्ष रघुवीर महासेठ लगायतले बोल्नुभएको थियो । उक्त अवसरमा पूर्वसांसद रामचन्द्र भट्टराईलगायतका विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेलाई स्वागत गरिएको थियो
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment