Friday, March 3, 2017

स्वास्थ्यमन्त्री भएको ६ महिनामा गगन थापाले के के निर्णय गरे, कुन कुन कार्यान्वयनमा आए ?


 नेपाली कांग्रेसका युवा नेता गगन थापा स्वास्थ्यमन्त्री भएको ६ महिना पुगेको छ । यो ६ महिने कार्यकालमा मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा धेरै योजना अघि सारे, तर कार्यान्वयनमा भने आउन सकेको देखिन्न ।

खासगरी स्वास्थ्य मन्त्रालयका सचिव डा.सेनेन्द्रराज उप्रेतीलगायत अन्य उच्च अधिकारीहरूको असहयोगका कारण मन्त्री थापाले घोषणा गरेका कार्यक्रमले पूर्णता पाउन नसकेको बताइएको छ । सचिव उप्रेती एमाले निकट भएका कारण पनि मन्त्रीको घोषित कार्यक्रम असफल पार्न खोजिएको थापाको सचिवालय सदस्यहरूको भनाइ छ ।

तर, मन्त्रालयका उच्च कर्मचारीहरू भने स्वास्थ्य मन्त्री थापाले कसैसँग सरसल्लाह नै नगरी आफूखुसी कार्यक्रम घोषणा गरेकाले कार्यान्वयन हुन नसकेको दाबी गर्छन् । ‘मन्त्रीज्यूले सचिवालय सदस्यबाहेक मन्त्रालयका कसैसँग पनि स्वास्थ्य क्षेत्र सुधारका विषयबारे कार्यक्रम घोषणा गर्दा सल्लाह गर्नुभएको छैन, त्यसले पनि कार्यान्वयनमा जटिलता उत्पन्न भएको हो,’ मन्त्रालयका एक अधिकृतले भने ।

मन्त्री भएपछि थापाले स्वास्थ्य क्षेत्र सुधारका लागि अहिलेसम्म १७ वटा कार्यक्रम घोषणा गरेका छन् । तर, त्यसमा एक–दुईबाहेक अरु कार्यान्वयनमा गएका छैनन् । मन्त्रालयले स्वास्थ्य प्रयोगशाला स्थापना, सञ्चालन तथा मापदण्डसम्बन्धि निर्देशिका २०७३ स्वीकृत, नेपालका सरकारी अस्पतालमा मृगौला प्रत्यारोपण सम्पूर्ण रुपमा निःशुल्क गर्ने, नेपालगञ्जमा क्यान्सर उपचार सेवा विस्तार गर्न सुशील कोइराला प्रखर परोपकार क्यान्सर अस्पताल स्थापना गर्ने, काठमाडौंका नक्साल, मित्रपार्क, कुलेश्वर, पशुपतिनाथ, स्वयम्भु, लैनचौर, असन, पुरानो बषपार्क, डिल्लीबजार, शान्तिनगर, ताहाचल, बुढानिलकण्ठ सुकेधारा र कपन गरी १३ स्थानमा सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र खोल्ने निर्णय भई कार्यान्वयन अगाडि बढाइएको छ । अहिलेसम्म चाबहिलमा मात्र सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र खोल्ने तयारी भएको छ ।

यसैगरी, बुढानिलकण्ठ नगरपालिकासँगको सहकार्यमा नगर अस्पताल स्थापना, भेरी अञ्चल अस्पताल र जनकपुर अञ्चल अस्पतालमा सहिद गंगालाल हृदय केन्द्रको सेवा विस्तार गर्ने निर्णय कार्यान्वयन गर्ने मन्त्री थापाले घोषणा गरेका छन् । यस्तै, लोकसेवावाट उत्तीर्ण मेडिकल अधिकृत (आठौं तह) देशभरका प्राथमिक केन्द्र र अस्पतालहरूमा पदस्थापनको प्रक्रिया अघि बढेको, खोप नियमावली २०७३ सहमतिका लागि कानून मन्त्रालयमा पठाइएको, लामो समयसम्म व्यवस्थापन हुन नसकेको स्वास्थ्य सेवा ऐन दफा ९ (ख) कार्यन्वयनका लागि यसअघि मन्त्रिपरिषद्को बैठकले पुल दरवन्दी सृजना गर्न स्वीकृत भएबमोजिम पदपुर्ति गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति प्राप्त भएको मन्त्री थापाले जनाएका छन् ।

देशका थप पाँच सय स्वास्थ्य चौकीमा नसर्ने रोगसम्बन्धी कार्यक्रम कार्यक्रम सञ्चालन गर्ने, थप ६५ स्थानमा सहरी स्वास्थ्य केन्द्र र सामुदायीक स्वास्थ्य एकाइ खोलिने, हेपाटाइटिस सीको निःशुल्क उपचार गर्ने, मृगौला परीक्षणका लागि डिपस्टिक टेस्ट, पाठेघर मुखको क्यान्सर निःशुल्क गरिने, मानसिक रोगी, वेवारिसे, असहाय, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, लैंगिक हिंसा पीडित, महिला स्वयंसेवीका, प्राकृतिक विपत्तिबाट प्रभावित विरामीहरूको जिल्ला, अञ्चल र केन्द्रीय अस्पतालहरूमार्फत सामाजिक सेवा एकाइ स्थापना गरी निःशुल्क उपचार गर्ने निर्णय मन्त्रालयले निर्णय गरेको छ ।

यसैगरी, अटिजम, हेमोफेलिया, मस्कुलर डिष्ट्रोफीलगायतका समास्या समाधानका लागि अध्ययन गर्न कार्यदल गठन, पत्रकारको उपचार सहुलियतसम्बन्धी अध्ययन कार्यदल गठन र औषधि ऐन संशोधन मस्यौदा समितिद्वारा संशोधित मस्यौदा तयार भएको मन्त्री थापाले जनाएका छन् ।

मन्त्री थापाले घोषणा गरेका कार्यक्रममध्ये पाठेघर मुखको क्यान्सर निःशुल्क गरिने निर्णयको सबैतिर प्रशंसा भए पनि कहिलेदेखि कार्यान्यवनमा आउने भन्ने यकिन छैन । यसअघि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा सर्वसाधारणका लागि पनि खुला गर्ने मन्त्री थापाले घोषणा गरेका थिए । तर, सेनाले आपत्ति जनाएपछि हाललाई रोकिएको छ । सेनाले एमबीबीएस कोटा बढाउन मात्र सर्वसाधारणका लागि पनि उपचार सेवा सुरु गर्न यस्तो आश्वासन स्वास्थ्य मन्त्रालयलाई दिएको स्रोतले बताएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment