ईश्वर पोखरेल
हामीले यो मेची महाकाली अभियानमा मधेसका लागि हामीले के गर्यौं मधेसी जनतासामु भन्ने प्रयास गर्यौं । एमालेलाई मधेस विरोधी भन्दै छरिएको भ्रमलाई चिर्न खोज्यौं । हामी कसैका विरुद्ध थिएनौं । दुई महिना अघिदेखि हाम्रो कार्यक्रम तय गरेका थियौं । कार्यक्रमबारे सुरक्षा निकाय र सरकारसँग वारम्बार छलफल गरेका थियौं । सप्तरी आइपुगेपछि हाम्रो कार्यक्रम बिथोल्न निहुँ खोज्नेगरी मोर्चा अगाडि आयो । तर पनि हामीले द्वन्द्व नबढाउँ भने राजविराजको कार्यक्रमको स्थान र रुट परिवर्तन गर्यौं । प्रशासन र मधेसी मोर्चाका स्थानीय नेताको समेत सहमतिमा हामीले कार्यक्रम स्थल परिवर्तन गरेका थियौं । त्यहाँ उपस्थित पत्रकारहरुले आफ्नै आँखाले देख्नु भएको छ– कार्यक्रम स्थल बाहिर तीनतिरबाट घेरा हालिएको थियो । हाम्रो सभामा दशौं हजार जनसमुदाय थिए । उनीहरुको समुह थोरै थियो । तर, हामीले बोलेर समेत प्रतिवाद गरेनौं । उनीहरुले कालो झण्डा देखाउँदा हामीले हाँसेर हात हल्लायौं किन भने हामी द्वन्द्व गर्न चाहंदैनथ्यौं । हामी आफ्नो कार्यक्रम मात्रै सफल पार्न चाहन्थ्यौं ।
तर, उनीहरुले कार्यक्रमस्थल बाहिरबाट ५० औं बम प्रहार गरिरहेका थिए । त्यसक्रममा ४५ सुरक्षाकर्मी घाइते भए । मोर्चाको ब्यानर र आवरण थियो, तर अरु शक्तिहरु सहकार्यमा थिए भन्ने स्पष्टै देखिन्छ । हामी जिम्मेवार र शान्तिपूर्ण रुपमा थियौं । ३ जनाको मृत्यु हुनुमा मोर्चाको आततायी ब्यवहार जिम्मेवार रहे पनि हामीले त्यसपछिको संवेदनशीलता मुल्यांकन गरेर तीन दिनसम्म अभियान स्थगित गर्यौं ।
सप्तरीमा हामीमाथि भएको प्रहार एमाले विरुरद्धको मात्रै होइन लोकतान्त्रिक अधिकारमाथिको प्रहार हो । एमाले आफ्नो अभियानबाट किञ्चित पछि हट्दैन । हाम्रो अभियानअघि नै गृहमन्त्रीले दिएको उत्तेजक र उद्दण्ड अभिब्यक्ति यस घटनाको सन्दर्भमा संवेदनशील छ ।
भीम रावल
मधेसी मोर्चाले आफ्नो आततायी ब्यवहार छोप्न सप्तरी घटनाको जिम्मेवारी एमालेले लिनु पर्छ भनिरहेको छ । मधेसी मोर्चाकै ब्यानरमा शान्तिपूर्ण कार्यक्रममा बम प्रहार भएको छ । तीनतिरबाट घेरा हालेर आक्रमण गरिएको छ । गाउँगाउँबाट भाला लिएर आउन उर्दी जारी गरिएको छ । सदरमुकामका होटेलमा बाहिरबाट आएका अपरिचित मानिसहरुले कब्जा जमाएका थिए । यो सबै घटनाक्रम हेर्दा हाम्रो नेतृत्वलाई सामुहिक हत्या गर्ने प्रयास थियो । हाम्रो संयमताले सयौंको हत्या गर्ने मोर्चाको प्रयास असफल भयो ।
सुवास नेम्वाङ
एमालेले बोल्नु हुँदैन, एमालेले जनताको घरदैलोमा जानु हुँदैन, एमालेले सभा गर्नु हुँदैन भनेर मधेसी मोर्चाका भनिएका मानिसहरुले हाम्रो कार्यक्रममाथि बम प्रहार गरे । यस्तो घटनाको जिम्मेवारी कसले लिनु पर्ने होला एमाले बाहेककाहरुले नै भनिदिनुस् । म यही प्रश्न तपाईंहरुलाई सोध्छु– मोर्चाले बम हान्न पाउँछ एमालेले आफ्नो आमसभा गर्न पाउँदैन ? तपाईहरु के भन्नुहुन्छ एमाले त्यही गर्छ ।
कार्यक्रमस्थलको वरिपरी रहेको अग्लो पर्खाल नाघेर बम प्रहार गर्ने र झोलामा हालेर ल्याएका कोसीका चिल्ला ढुंगा प्रहार गरे । एमालेका तर्फबाट पनि ढुंगामुढा भएको भनी बाहिर गलत प्रचार भएको छ । हामीले हामीमाथि ढुंगा हान्नेलाई हाँसेर हात हल्लाउँदै विदा गरेका थियौं । देशको संविधान र कानुनले दिएको सुरक्षाको अधिकार एउटा नागरिकले त पाउँछ भने एमालेजस्तो पार्टीलाई २ नम्बर प्रदेशमा प्रवेश निषेध भनिरहंदा राज्यले जिम्मा लिनु पर्दैन ?
प्रदीप ज्ञवाली
तपाईंहरुकै प्रश्न अनुसार बम बोकेर आएका र प्रहरीको गोली लागेर मारिएका एकजना ब्यक्ति सत्तारुढ नेपाली कांग्रेसका कार्यकर्ता र अर्का ब्यक्ति सरकारी कर्मचारी छन् । तपाईंहरुले नै भन्नु भो एकजना भारतीय नागरिक छन् । यो तथ्यले पनि सप्तरीको घटनामा एउटै मान्छे कतै मधेसी मोर्चाको भूमिकामा उभिन्थ्यो, कतै नेपाली कांग्रेस देखिन्थ्यो, कतै सीके राउतको कार्यकर्ता हुन्थ्यो । एमाले विरुद्ध को कहाँबाट मिसिएका थिए यो छानविनको विषय हुनु पर्छ ।
मधेसी मोर्चाले एमालेको कार्यक्रम विथोल्ने घोषणा गरेको थियो । मोर्चाको आयोजनामा सभास्थलमा विष्फोटक पदार्थ भेटिन्थ्यो । कार्यक्रमस्थलमा बम पड्काइन्थ्यो । एमाले कार्यक्रम बिथोल्ने मधेसी मोर्चाले यसको जिम्मा लिनु पर्छ कि पर्दैन ? बम र विष्फोटक पदार्थ प्रयोग गरेर राजनीति नियन्त्रण गर्ने अधिकार मोर्चालाई हुन्छ ?
(मंगलवार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सप्तरी घटनाका विषयमा एमाले नेताहरुले दिएको विवरणमा आधारित)
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment