Wednesday, March 15, 2017

मोर्चाको माग– प्रचण्ड चीन नजाउ, चीनसँग रेल सम्झौता नगर

काठमाडौं । मधेसी मोर्चाले पूर्वानुमान अनुरुप नै सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष केही सर्तहरु राखेर मोर्चाका नेताहरुले समर्थन हालका लागि औपचारिक रुपमा फिर्ता नगरिने निर्णय गरेका हुन् । यस अघि मोर्चाले स्थानीय निकायको चुनाव घोषणा रद्द नगरेमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो र सो कार्यका लागि सात दिने अल्टिमेटम दिएको थियो ।

मोर्चाले समर्थन फिर्ता लिन सात दिनको अल्टिमेटम दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बनाएका थिए । राप्रपाबाट दिलानाथ गिरीलाई पनि मन्त्री बनाएका छन् । मोर्चाले समर्थन फिर्ता लिएको अवस्थामा विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई पनि मन्त्रिमण्डलमा लैजाने तयारी प्रचण्डले गरेका थिए । मोर्चाले गच्छदारलाई सरकारमा लैजानबाट रोक्ने प्रस्ताव प्रधानमन्त्री प्रचण्डसँग गरेको छ । गच्छदारलाई सरकारमा नलगिएमा मोर्चाले समर्थन फिर्ता नलिने भएको हो । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण रोक्नुपर्ने सर्त मोर्चाले राखेको छ र चीन भ्रमणमा गएको अवस्थामा समर्थन फिर्ता लिने भएको छ ।

तर प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण चीनमा आयोजित बोआओ फोरमको सम्मेलनका लागि मात्र भएको प्रष्टिकरण सहितको जवाफ मोर्चाका नेताहरुलाई पठाएका छन् । मोर्चाले चीनसँग रेल्वे सम्झौता नगर्न पनि प्रधानमन्त्री प्रचण्डसँग माग गरेको छ । प्रधानमन्त्री प्रचण्डले चीनसँग अहिले रेल्वे सम्झौताको कुनै पनि कार्यहरु नहुने वचन दिएपछि मोर्चाका नेताहरु औपचारिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने निष्कर्षमा पुगेका हुन् । चीनले वन बेल्ट वन रोड परियोजना चलाइरहेको छ र सो कार्यका लागि नेपाललाई पनि पार्टनर देश बनाउन सम्झौता गर्न चाहेको छ ।

 प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमणको क्रममा चीनमा त्यस प्रकारको सम्झौता नहुने विश्वाश मोर्चाका नेताहरुलाई दिएका छन् । मधेसी मोर्चाका एक जिम्मेवार नेताले दिएको जानकारी अनुसार चीनसँगको सम्झौता मधेसी दलहरुको पनि सरोकार भएकाले राष्ट्रिय सहमति निर्माण नगरी चीनसँग कुनै पनि प्रकारको सम्झौता गर्न नहुने मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्रीलाई माग राखेको र सो माग प्रधानमन्त्रीले स्वीकार गरेको हुनाले हालका लागि समर्थन फिर्ता नलिने निर्णय गरिएको हो ।

मोर्चाको वैठक भोली बस्ने भएको छ र सो बैठकमा सबै विषयमा छलफल गरेर औपचारिक निर्णय लिइने जानकारी सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले दिएका छन् । महतोका अनुसार मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता गर्नु र नगर्नुको कुनै औचित्य रहेको छैन किनभने मोर्चा व्यवस्थापिका संसदको वैठकमा प्रतिपक्षी बेन्चमा बस्दै आएको छ ।

प्रतिपक्षमै रहिरहेको हुनाले समर्थन फिर्ता लिनुको औचित्य नरहेकाले समर्थन फिर्ताको घोषणा नगरी राजनीतिक विरोध जारी राखिनेछ । मोर्चाले स्थानीय चुनाव हुन नदिने अडान पनि कायम राख्दै बुधबारको वैठकबाट आन्दोलनका थप कार्यक्रमहरु घोषणा गर्ने तयारी गरेको छ । आन्दोलनको कार्यक्रम प्रचारात्मक हुने र चुनाव स्थगित नभएको अवस्थामा उम्मेदवारी दर्ताको दिनबाट शशक्त आन्दोलन गरिने भएको जानकारी मोर्चाका नेताहरुले दिएका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment