Saturday, April 8, 2017

जुन उद्देश्यले माओवादी भएको थिएँ, आफैलाई गाउँ जान लाज लाग्यो, काठमाडौंमा रुँदै बसें’

जुन उद्देश्यका साथ माओबादीमा लागेको थिएँ, त्यो उद्देश्य पूरा हुन नसकेपछि आफैलाई पनि गाउँमा जान लाज लाग्यो । जनयुद्धमा निराश नभएको मान्छे, ब्यारेकबाट काठमाडौँमा पसेपछि धेरै दिन रुँदै बस्नुपर्यो ।

सहयोद्दाहरुसँग सर्बिन (बीचमा)

– अंकुश कुँवर

काठमाडौं । तत्कालिन माओबादीको साँस्कृतिक मोर्चा हुँदै सैन्य मोर्चामा गएका अहिलेका गायक सर्बिनले बोगटीले दुष्मन भन्दै आफ्नै देशका सेना र प्रहरीका दाजुभाईसँग लडे ।

 पछि शान्ति प्रक्रियासंगै सेना समायोजन प्रक्रियामा सुरु भयो । समायोजन प्रक्रियामा चित्त नबुझेपछि उनले स्वैच्छिक अवकाश रोजे । तर, स्वैच्छिक अवकाशपछि उनको जीवन सोचेजस्ता बनेन । गाउँ बस्न सक्ने स्थिति थिए । दुःख कष्ट भोग्दै काठमाडौं आएका सर्बिन पुनः कलाकारिता क्षेत्रमा संघर्षरत हुन थाले ।

तिनै गायक सर्बिनले द्वन्द्वकालिन भोगाई र त्यसबीचमा उब्जिएको कलाकारिताबारे दैनिक नेपालसँग यसरी पोखेः
कलाकारितामा उतारचढाव
मेरो घर कालिकोट रुप्सा–४ मा पर्छ । एक समय थियो, जुन बेला नेपालमा माओबादी आन्दोलन चरमोत्कर्षमा पुगेको थियो । त्यो बेला कालिकोट माओबादी प्रभावित जिल्लामध्येको एक थियो । गाउँ–गाउँमा माओबादीका विभिन्न साँस्कृतिक कार्यक्रमहरु आयोजना हुन्थे । मलाई उनीहरुको कार्यक्रम निकै राम्रो लाग्थ्यो । ती कार्यक्रमहरुमा म सहभागी पनि हुन्थेँ ।
२०५८ सालको कुरा हो, नेपाली सेनाले पनि कालिकोटमा दमन सुरु गर्यो । त्यहिबेला नेपाली सेनाले मेरो ठूला बुवा र फुपुका छोरा लगायत आफन्तको अपहरण गरेर हत्या गर्यो । त्यो मैले सहन सकेन । मेरो कलिलो मानसपटलमा नराम्रो छाप बस्यो । मनमा बदलाभाव जाग्यो । २०५९ साल १५ वर्षको उमेरमै म माओबादीमा लागेँ ।
म सानै उमेरको भएकाले मलाई माओबादीले साँस्कृतिक मोर्चामा खटायो । त्यहाँबाटै मेरो साँगीतिक जीवन सुरु भएको थियो । म गाउन, नाच्न थालेँ । त्यो बेला राष्ट्रभक्ति तथा जनबादी गीतहरु गाइने गरिन्थ्यो । गीत लेखन, गायन, बाध्यबादन लगायत म आफै गर्ने गर्थेँ ।

राजनीतिक र शारिरीक परिपक्वता भएपछि पार्टीले पछि मलाई जनसेनामा भर्ना गर्यो । पार्टीभित्रै मेरो पहिचान बदलियो । कलाकारबाट लडाकु भएँ । लडाकु भएपछि युद्धभूमिमा गएर दुष्मनसँग लड्नुपथ्र्यो । त्यो बेलाका दुष्मन भनेका तत्कालिन सेना र प्रहरी नै हुन् ।

 कलाकारितालाई त्यो लगभग बेला थाँती राख्नुपर्यो । मेरो कलाकारिता गुनगुनाउनमै सीमित रह्यो । समय वित्दै गयो । युद्धविराम भयो । शान्ति प्रक्रिया सुरु भयो । पछि हाम्रो टोलीलाई चितवनको तेस्रो डिभिजन क्यान्टोनमेन्टमा राखियो ।

पछि सेना समायोजनको कुरा सुरु भयो । सेना समायोजन प्रक्रिया मलाई मन परेन । मैले स्वेच्छिक अवकाश लिएँ । अवकाशका क्रममा पाँच लाख रुपैयाँ पनि पाइयो ।

 तर, आफ्नो गाउँमा गएर बस्न सहज थिएन । काठमाडौंमा आएर संघर्ष सुरु गरेँ । मैले आफ्नो गायन कलालााई पुनः निरन्तरता दिन थालेँ ।

 अहिलेसम्म करिब एक दर्जन भन्दा बढी गीत गाइसकेको छु । आफै लेख्नु र संगीत पनि भर्छु । मैले माओबादीको साँगीतिक मोर्चामा भएर काम गर्दा नाँच्न पनि सिकेको हुँदा म्युजिक भिडियोहरुमा अभिनय पनि गरिरहको छुँ ।

चितवनको तेस्रो डिभिजनबाट अवकाश हुँदा मैले पाएको पाँच लाख रुपैयाँ पनि मैले उपभोग गर्न पाइन । त्यसमा एक धोकेबाजको आँखा लाग्यो– कसैको आग्रहलाई स्वीकार्दै विश्वासमा परेर तीन तीन लाख रुपैयाँ दिएको थिएँ । बाँकी दुई लाख रुपैयाँ पनि यताउता गर्दै सकियो ।

जनबादीदेखि व्यवसायिक गीत

मलाई अझै पनि लेख्न र गाउन जनबादी गीतहरुनै सहज लाग्छन् । माओबादीको कलाकारिता मोर्चामा हुन एरिया स्तरिय ‘कसम साँस्कृतिक परिवार’बाट आफ्नो कलाकारिताको सुरुवात गरेको थिएँ । त्यसपछि चुली, परिवर्तन साँस्कृतिक परिवार हुँदै विसुु साँस्कृतिक कम्पनीमा रहेर सेती–महाकाली, भेरी–कर्णालीका गाउँबस्तीसम्म पुगेको थिएँ ।

 जनतालाई सुनाएँ । मरो गीतले त्यो बेला धेरै युवा–युवतीलाई जनयुद्धमा लाग्न प्रेरणा समेत मिलेको थियो । मैले त्यो बेला ‘हिडौँ हामी क्रान्तिको बाटोमा, जनसेना हौँ, हामी लालसेना, नेपाली आमाको काख रित्तो पार्यौँ, क्रान्तिकारी प्रेमीहरुलाई जस्ता दर्जन गीतहरु गाएको थिएँ । जुन गीतहरु जनताको मुखमा झुण्डिएका थिए ।

अहिले पनि यस्तै खाले गीत गाउन मन पर्छ । तर, अब व्यवसायिक बन्दै छु । त्यसका लागि सबै किसिमका गीतहरु गाउनुपर्छ । मैले अहिले पश्चिमतिर गाइने देउडा, ठाडीभाकादेखि आधुनिक र लोकदोहोरी गीतहरु गाइरहेको छु । मैले भर्खरै लोकदोहोरी गीत ‘तिम्रो रातो गाला’ बोलको गीत गाएको छु ।

 नयाँ वर्षमा रिलिज गर्ने तयारीमा छौं । त्यस लगत्तै अर्को आधुनिक गीतको तयारी समेत सुरु गरेको छु । राम्रो प्रतिफल पाइरहेको छु । मैले अहिलेसम्म जन्मभूमि, जन्मदिने आमा छोडिआएँ, कर्णाली र तिला, समयले पर्खिन्न, तिम्रै पिरमा जान्छ दिनरातलगायत एक दर्जन गीतमा स्वर दिएको छ ।

युद्धकालमा यसरी बाँचे

माओबादीमा गइसकेपछि कलाकारिता मोर्चा होस् वा लडाकु सेना र प्रहरीको गोलीबाट बच्नुपथ्र्यो । त्यसमध्ये म साँस्कृतिक मोर्चामा हुँदा धेरैपटक मृत्युको मुखबाट बँचेको छु । एकपटक अछामको बिनायकमा भएको घटना बढी सम्झिन्छु । स्टेजमै नाचिरहेका बेला आकाशमा आएको सेनाको गोली साथीको तिघ्रामै लाग्यो । हजारौं जनता सहभागी भएको कार्यक्रममा हताहत सुरु भयो ।

 गोली लागेको साथीसहित हामी भाग्न सफल भयौं । भाग्ने क्रममा सोही ठाउँमा रहेको काँडे तारमा कोत्रिएर कैयौँ मानिस घाइते भए ।

त्यस्तै कैलालीको कान्छीबजारमा पनि हाम्रो टोलीमाथि सेनाको घेराबन्दी भयो । त्यहाँबाट म सहितका केही भाग्न सफल भएपनि कलाकारको नेतृत्वकर्ता कालिकोटका हर्षबहादुर शाहीको भने हत्या भयो ।

अछामको चिर्किट्टेमा तत्कालिन शाही सेनासँग भएको जम्काभेट पनि बिर्सिन सकिन्न । सो जम्का भेटमा म र मेरो दाई नाता पर्ने परेका थियौं । तर, हामी गोलीलाई छेक्काउँदै भाग्न सफल भयौं । कैलालीको ठूली गाडमा सहकर्मी निश्प्रभा योगीलाई खोलाले बगाएको थियो । त्यो निकै पीडा भएको थियो ।

युद्धताका भन्दा दुःख अवकाशपछि…

चितवनको तेस्रो डिभिजनबाट अवकाश हुँदा मैले पाएको पाँच लाख रुपैयाँ पनि मैले उपभोग गर्न पाइन । त्यसमा एक धोकेबाजको आँखा लाग्यो– कसैको आग्रहलाई स्वीकार्दै विश्वासमा परेर तीन तीन लाख रुपैयाँ दिएको थिएँ । बाँकी दुई लाख रुपैयाँ पनि यताउता गर्दै सकियो ।

पाँच लाख रुपैयाँले केही गरौंला भन्ने सोच पूरा हुन सकेन । तीन लाख रुपैयाँ अहिलेसम्म पनि असुल गर्न सकेको छैन । त्यो रुपैयाँ अशुल गर्नका लागि म अहिले कानुनी प्रक्रियाको बाटो अपनाएको छु ।

त्यसपछि मैले जनयुद्धमा नभोगेको दुःख पाएँ । घर न घाटको भएँ । पुनर्स्थापना हुन निकै गाह्रो भयो । जुन उद्देश्यका साथ माओबादीमा लागेको थिएँ, त्यो उद्देश्य पूरा हुन नसकेपछि आफैलाई पनि गाउँमा जान लाज लाग्यो । जनयुद्धमा निराश नभएको मान्छे, ब्यारेकबाट काठमाडौँमा पसेपछि धेरै दिन रुँदै बस्नुपर्यो । जसोतसो काठमाडौं आएँ । कुनै विकल्प नभएपछि अब आफू भित्र भएको कलालाई निरन्तरता दिने सोच भयो । जसले पीडालाई पनि भुलाउन सहयोग गरिरहेको छ । अहिले म यसैमा जमिरहेको छु । मैले गाएका गीत धेरैले मन पराएका छन् ।

हिजो हामीले आदर्श मानेका प्रचण्ड, बाबुराम र मोहन वैद्यहरु आज शहरमा विलासी जीवन बिताइरहेका छन् । हिजो हामीसँगै शहर छिरेका नेताका छोराछोरीहरु महंगा स्कूलमा पढ्छन्, त्यस्तै लगाउँछन् र खान्छन् । तर, आज हामी न घरको भयौं, न घाटको ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment