महिनाको सुरुमा कन्या राशिमा बक्री अवस्थामा रहेका बृहस्पति र शनिश्चर दुबै ग्रहको स्थान यथावत् रहने छ । कुम्भ राशिमा रहेको शुक्र ग्रह यस महिनाको १० गते राशिपरिवर्तन गरी मीन राशिमा आफ्नो उच्च राशिमा आइपुग्ने देखिन्छ । राहु र केतु ग्रह यथावत् क्रमशः सिंह र कुम्भ राशिमा रहने देखिन्छ ।
यी ग्रहगोचरको मूल्याङ्कन गर्दा आम रूपमा जनस्तरमा सुखसम्मृद्धि र शान्तिको वातावरण कायम हुनेछ । पहेंला वस्तुको मूल्यबृद्धि हुनेछ भने अन्नादि पदार्थको मूल्य सस्तो हुने देखिन्छ । गाउँगाउँमा पूजापाठ आदि धार्मिक र सांस्कृतिक प्रयोजनका कार्य सम्पन्न हुनेछन् । दुग्धजन्य रसिला चिजबिजको उत्पादनमा बृद्धि हुनेछ । दाल, तरकारी र गेडागुडीको मूल्य बढ्ने छ ।
आकाशमा गड्याङगुडुङ र वर्षावादलको योगसमेत देखिन्छ, साथै हुरीबतास चल्नाले धनजनको क्षति हुने सम्भावना पनि छ । वैंक तथा वित्तीय क्षेत्र एवं सेयर मार्केटमा राम्रो चहलपहल र मुनाफा देखिन सक्छ । पशुचौपायामा खासै लाभ देखिंदैन । सरकारका योजनाहरू सफल हुँदैनन् । राजनैतिक निकासका लागि गरिएका प्रयास विनानिष्कर्ष अल्मलिने सङ्केत छ ।
वैशाख महिनाभरि सूर्यले तपाईंको राशिमा भ्रमण गर्नेछ, त्यसैले यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । आर्थिक पक्ष मजबुत छ, दोस्रो भावमा रहेको मङ्गलको प्रभावले धनधान्य र भौतिक सम्पत्ति बृद्धि हुने महिना छ, तर घरपरिवारकै सदस्यका बीचमा मनोमालिन्य बढ्नाले ससाना कुरामा झैझगडा मानसिक तनाव बढ्नसक्छ । भाग्येश बृहस्पति छैंटौं भावमा बक्री रहेकाले झैझगडा र मुद्दामामिलाबाट कुनै किसिमको लाभ हुने छैन, विवादको परिवेशबाट टाढा रहनु राम्रो हुनेछ । विशेषगरी तपाईंले यस महिनाको ०१, ०२, ०३, १०, ११, १२, १९, २०, २१, २८, २९ र ३० गते सचेत हुनु राम्रो हुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
वैशाख महिना त्यति अनुकूल छैन, एकआपसमा तनाव उत्पन्न हुनसक्छ, क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । राशिस्वामी शुक्रले १० गतेपछि आफ्नो उच्च राशिमा प्रवेश गर्ने हुँदा त्यसपछि केही शुभफल प्राप्त हुनेछन् । मित्र र सहयोगीले पूर्ण सहयोग गर्नेछन् । बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्णता हुनेछ । दाजुभाइ र दिदीबहिनीले समेत आआफ्नो कार्यक्षेत्रमा राम्ररी काम गर्नेछन् । यात्राबाट लाभ हुनेछ । तर भाग्येश शनि बक्री रहेकाले शुभफल प्राप्त गर्न परिश्रम र मिहिनेत गर्न छाड्नु हुँदैन, साथै शनिको उपासनामा जोड दिनु राम्रो हुनेछ । सामान्यतया यस महिनाको ०३, ०४, ०५, १३, १४, २१, २२, २३ र ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
राज्यस्थानमा रहेको सूर्यको प्रभावले इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा वैशाख महिना प्रारम्भ भएको छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद र सफल हुनेछ । उता कर्मक्षेत्रमा रहेका राशिस्वामी बुध र पञ्चमेश शुक्रको प्रभावले व्यापार÷व्यवसाय वा पेसामा राम्रो प्रगति हुनेछ । घरमा कुनै शुभ कृत्यको आयोजना हुनसक्छ । भाग्येश शनि बक्री रहेकाले अरुले गरेको अनुत्तरदायी क्रियाकलाप र असफलताका कारण चिन्तित बन्नुपर्ने छ । दैनिकी सञ्चालनका क्रममा पनि समस्या हुनसक्छ । अनावश्यक आरोपका कारण सजाय भोग्नु पर्छ । सानातिना झंझट वा विवादबाट जोगिनु बेस हुनेछ । सामान्यतया यस महिनाको ०६, ०७, ०८, १५, १६, २३, २४, २५, गते तपाईंका लागि अशुभ रहने छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अत्यन्त क्रियाशील र व्यस्त रहने र कर्मक्षेत्रको परीक्षणको समय हो, वैशाख महिना । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । व्यवसायिक÷व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । उता पञ्चमेश मंगल ग्रह राज्यस्थानमा भएकाले मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ । बहुप्रतीक्षित इच्छा र आकाङ्क्षाले पूर्णता पाउने छन् र लामो दूरीको यात्रा लाभदायक रहने छ । आय आर्जनका मार्गमा बढोत्तरी हुनेछ । विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ, तर घरायसी र पारिवारिक वातावरण सुखद हुनेछ । तर तृतीय भावमा रहेको बृहस्पति बक्री भएकाले गरेका काममा ढिलासुस्ती हुनसक्छ । सामाजिक कामबाट फाइदा लिन सकिंदैन । लामो दूरीको यात्राबाट लाभ लिन सकिने छैन । सामान्यतया यस महिनाको ०८, ०९, १०, १७, १८, २६, २७, २८, गते तपाईंका लागि अशुभ रहने छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भाग्यस्थानमा आइपुगेको सूर्यको मिश्रित परिणाम प्राप्त हुनेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । पञ्चमेश बृहस्पति बक्री भएकाले छोराछोरीको दायित्व र जिम्मेबारी निर्वाह गर्नुपर्नेछ । पठनपाठन र बौद्धिक क्षेत्रबाट लाभ लिन सकिंदैन । महत्त्वहीन र बेकारका काममा आफ्नो शक्ति र समयको खर्च हुनेछ । छिटो धन कमाउने प्रवृत्तिमा अङ्कुश लगाउनु बेस हुनेछ । तर भाग्येश मङ्गल कर्मक्षेत्रमा रहेकाले सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । आत्मविश्वास बढ्नेछ । शत्रुले हानि पुर्याउन सक्दैनन् । आयक्षेत्रमा उल्लेखनीय अभिबृद्धि हुनेछ । सामान्यतया यस महिनाको ०१, ०२, ०३, १०, ११, १२, १९, २०, २१, २८, २९, ३०, गते तपाईंका लागि अशुभ रहने छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आठौं घरमा सूर्यको प्रवेश भएकाले त्यति अनुकूल समय छैन । तर राशिस्वामी बुध बक्री भए पनि सातौं भावमा भाग्येश शुक्रका साथमा रहने हुँदा राम्रै फल प्राप्त हुनेछ । प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ । विद्वानहरूका साथमा घुलमिल हुने मौका आउने छ । बन्दव्यापारमा बढावा हुनेछ । विपरीत लिङ्गीहरूबाट सहायता मिल्नेछ । सुखद यात्रा हुने सङ्केत पनि छ । उच्च पदमा आसीन राजनैतिक प्रशासनिक पदका व्यक्तित्वसँगको सम्बन्धमा सुधार आउने छ । योग्यताको प्रयोग गरी विपरीत परिस्थितिलाई समेत आफ्नो पक्षमा ल्याउन सकिने छ । उता राशिमा रहेको बृहस्पति बक्री भएकाले मनमा डर, चिन्ता र त्रासको निवास हुनेछ । आम्दानीका मार्गमा अवरोध सिर्जना हुनेछ । पारिवारिक जीवनमा असन्तुलन आउने सम्भावना पनि देखिन्छ । सामान्यतया यस महिनाको ०३, ०४, ०५, १३, १४, २१, २२, २३, ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सातौं भावमा रहने सूर्यका कारण कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । सुरुमा छैटौं भावमा रहेको राशिपति शुक्रले यो महिना आफ्नो उच्च राशिमा प्रवेश गर्दैछ । त्यसैले केही सकारात्मक फलसमेत प्राप्त हुनेछ । महत्त्वपूर्ण व्यक्तिहरूको सम्पर्कमा भइने छ । आय आर्जनका मार्गमा स्पष्ट निर्णय गर्ने समय हो, यो । नयाँ व्यवसाय र उद्योगधन्धामा संलग्नता बढ्ने सङ्केत छ । मित्र र विदेशीहरूसँगको सम्पर्क बढ्ने छ । गरेका प्रतिस्पर्धा र सङ्घर्षमा विजयी भइने छ । तर बाह्रौं बृहस्पति, पराक्रम स्थानको बक्री शनि र आठौं भावमा पुगेको बुध अनुकूल नहुनाले निकै चनाखो र सतर्क भई अघि बढ्नु जायज हुनेछ । सामान्यतया यस महिनाको ०६, ०७, ०८, १५, १६, २३, २४, २५, गते तपाईंका लागि अशुभ रहने छन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
षष्ठम भावमा रहेको सूर्य र सातौं भावको मंगलले शुभ फल प्राप्त हुने महिना देखिन्छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । कल्पना र भावुकतामा मन रुमल्लिने सम्भावना छ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्नेछ । यो समय प्रणय र रोमान्सका लागि पनि राम्रै छ । पञ्चमेश शनि बक्री रहेकाले कुनै आर्थिक कठिनाइको सामना गर्नुपर्ने हुन्छ । आम्दानीका मार्गहरू पनि ठीक रहने छैनन् । परिवारका सदस्यका आकाङ्क्षा पूरा हुन सक्दैनन् । आफन्तहरूसित सम्बन्ध बिग्रन्छ । दैनिकी सञ्चालनका क्रममा सावधान हुनु आवश्यक छ । सामान्यतया यस महिनाको ०८, ०९, १०, १७, १८, २६, २७, २८, गते तपाईंका लागि अशुभ रहने छन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
भाग्यको मालिक मानिने सूर्य पाँचौं घरमा रहेकाले यस समयमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ । पारिवारिक सुखभोग गर्न पाइने छ । पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ । लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुनेछ । कार्यशैलीमा गम्भीरता आउने छ । राशिपति बृहस्पति कर्म क्षेत्रमा रहेकाले व्यापारको विस्तार हुनेछ र पद बढ्ने छ । व्यापार र नोकरीको सिलसिलामा धेरै घुमफिर हुनेछ । पारिवारिक जीवन सुखद हुनेछ । यद्यपि भाग्येश मंगल छैटौं भावमा रहेकाले छिटपुट रोगव्याधिको भय हुनेछ, झगडा र विवादमा पछि हट्नु नै राम्रो हुन्छ । सामान्यतया यस महिनाको ०१, ०२, ०३, १०, ११, १२, १९, २०, २१, २८, २९, ३०, गते तपाईंका लागि अशुभ रहने छन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
चौथो सूर्यको प्रभावले घरायसी र पारिवारिक समस्या सिर्जना हुन सक्छ । मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । राशिस्वामी शनिश्चर बक्री रहेकाले सवारीसाधन हाँक्दा र बाटो काट्दा निकै सचेत रहनु बेस हुनेछ । पञ्चमेश उच्च गृहमा रहेकाले मन अत्यधिक उत्साही र फुर्तिलो रहनेछ । ससाना यात्रा सुखद र फलदायी हुनेछन् । पारिवारिक सुख कायम रहने छ । दाजुभाइ र दिदीबहिनीका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । त्यस्तै भाग्येश बुधसमेत महिनाको अधिकतम समय तृतीय भावमा रहने भएकाले ससाना यात्राबाट राम्रो फल मिल्नेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । अभिव्यक्तिगत कलात्मकता एवं भावनात्मक अभिनयको सहज प्रतिभा देखा पर्नेछ । सामान्यतया यस महिनाको ०३, ०४, ०५, १३, १४, २१, २२, २३, ३१ गते तपाईंका लागि अशुभ रहने छन्
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
तृतीय भावमा पुगेको सूर्यले उत्तम फल प्रदान गर्नेछ । पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना छ । भाग्येश शुक्र अनुकूल रहेकाले व्यावसायिक कारोबारबाट लाभ मिल्नेछ । सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । परिवारका सदस्यहरू सकारात्मक हुनेछन् । लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । पञ्चमेश बुधले पनि धनभावमा उपस्थिति जनाएकाले आम्दानीका मार्ग बढ्ने छन् । परिवारमा कुनै माङ्गलिक कार्यको आयोजना हुनसक्छ । महंगा र सुस्वादु भोजनप्रति रुचि जागृत हुनेछ । तर राशिपति शनिश्चर बक्री रहेकाले धेरै हौसिनु राम्रो हुँदैन । मानसिक उल्झन र तनावबाट ग्रसित रहनु पर्नेेछ । घरायसी सुखसुविधा, अचल सम्पति, खर्चको मात्रा बढ्ने छ । सामान्यतया यस महिनाको ०६, ०७, ०८, १५, १६, २३, २४, २५, गते तपाईंका लागि अशुभ रहने छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
राशिपति बृहस्पति बक्री रहेकाले धेरै राम्रो समय छैन । द्वितीय भावको सूर्यको प्रभाव पनि कमजोर नै हुने सङ्केत छ । पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ । स्वास्थ्यतर्फ आँखा र मुखको क्षेत्र कमजोर छन् । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ । पञ्चमेश चन्द्रमा पनि सुरुमा नीच गृहमा रहेकाले मनले इच्छाएको परिणाम प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ । भएका काम पनि ढिलो गरी सम्पन्न हुनेछ । पेसा वा व्यवसायसँग सम्बद्ध परिवर्तन गर्न खोज्नु हानिकारक हुन्छ । प्रत्येक क्रियाकलापमा संलग्न हुँदा धैर्य गर्नु अनिवार्य छ । भाग्येश तृतीय भावमा रहेकाले केही राहत मिल्न सक्छ । नातागोता, खासगरी दाजुभाइका कारण खुसीको वातावरण सिर्जना हुनेछ । जग्गाजमिनसँग सम्बद्ध कारोबारबाट लाभ प्राप्त हुने सम्भावना छ । सामान्यतया यस महिनाको ०८, ०९, १०, १७, १८, २६, २७, २८, गते तपाईंका लागि अशुभ रहने छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment