Thursday, April 27, 2017

चुनावमा कांग्रेसलाई बढार्न माओवादी केन्द्रले एमालेसँग गर्यो यस्तो सहमति !

लमजुङ, १४ वैशाख । सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी चुनावका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहकार्य गरेर जाने निर्णय गरेको छ ।

कांग्रेसको समर्थनमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले लमजुङमा एमालेसँग चुनावी तालमेल गरेको हो । यो निर्णयलाई जिल्लाबाट ‘कांग्रेस बढार्ने’ रणनीतिका रुपमा हेरिएको छ ।

दुई दलबीच वैशाख ३१ गते हुने स्थानीय तह चुनावमा ‘संयुक्त मोर्चा’ बनाएर अघि बढ्ने भएको नेताहरुले बताएका छन् । विहिबार बेंसीसहरमा पत्रकार सम्मेलन गर्दै नेताहरुले स्थानीय तहको चुनावमा नगरपालिका, गाउँपालिका र वडा तहसम्म तालमेल गरेर जाने सहमत भएको औपचारिक घोषणा गरे ।

माओवादी केन्द्रका जिल्ला इन्चार्ज पारसमणि पौडेल र एमाले अध्यक्ष धनञ्जय दवाडीद्धारा हस्ताक्षरित संयुक्त वक्तव्यमा ‘राष्ट्र निर्माण र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा प्रतिबद्ध हुँदै लमजुङ जिल्लाको समग्र विकास गर्न हामी दुवै दल स्थानीय तहको निर्वाचन २०७४ मा संयुक्त मोर्चा बनाई निर्वाचनमा जान प्रतिवद्ध भएको’ उल्लेख गरिएको छ ।

चुनावी तालमेल अनुसार जिल्लामा रहेको ४ गाउँपालिका र ४ नगरपालिकामा एमाले र माओवादी केन्द्रबीच ५ तहको प्रमुख र उपप्रमुख एमाले र ३ तहको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवार उठाउने सहमति भएको छ ।

बेंसीसहरमा आयोजित पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी, माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज बुद्धिराम गुरुङ, जिल्ला संयोजक मधु अधिकारी लगायतको उपस्थिति थियो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment