युवा नहुँदा बर्सेनि उत्पादकत्व घट्दै गएको छ जसका कारण नेपाल प्रतिदिन परनिर्भर बन्दै गएको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको तथ्याङ्कअनुसार नेपालीको भात खाने बानीका कारण रु १६ अर्ब २१ करोड बराबरको चामल आयात भएको छ ।
भात खाने बानीले नेपालीलाई परनिर्भर बढाउँदै लगेको राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा भात खानका लागि मात्र रु १६ अर्ब २१ करोडको चामल भारतबाट आएको छ ।
अघिल्लो वर्ष सोही अवधिमा रु १३ अर्ब ४३ करोडको चामल आयात भएको थियो ।
बैंकका अनुसार गत आठ महिनामा भारतबाट मात्रै रु सात अर्ब ८८ करोडको तरकारी आएको छ । यस्तै, फलफूल मात्र भारतबाट आठ महिनामा रु तीन अर्ब ३७ करोडको आयात भएको बैंकले जनाएको छ ।
बैंकका अनुसार सो अवधिमा नेपालबाट वस्तु आयातका लागि रु छ खर्ब २८ अर्ब रकम बाहिरिएको छ । तर निर्यातबाट रु ४८ अर्ब मात्र भित्रिएको छ ।
चालु आवको आठ महिनामा रु ५५ अर्ब ७२ करोड मुल्यको गाडी आयात भएको छ । आयात अत्यधिक बढेका कारण व्यापार घाटा रु पाँच खर्ब ८० अर्ब पुगेको छ ।
तरकारीको मूल्य घट्यो, चिनीको बढ्यो
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०।४ प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति १०।३ प्रतिशत रहेको थियो ।
सो समूहअन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा ११।२ प्रतिशत, तरकारीको मूल्यमा ८।३ प्रतिशत, घ्यु तथा तेलको मूल्यमा ५।८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा ०।१ प्रतिशतले कमी आएकाले समग्र खाद्य मुद्रास्फीति ऋणात्मक रहन गएको हो ।
समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५।२ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य भने १०।७ प्रतिशतले वृद्धि भएको छ ।
पहाडमा मूल्य बढ्यो
बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सहरी क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा मूल्यवृद्धि बढी रहेको छ । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ५।९ प्रतिशत, हिमालमा ३।७ प्रतिशत, तराईमा २।८ प्रतिशत र काठमाडौँ उपत्यकामा १।९ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १०।४ प्रतिशत, हिमालमा ८।५ प्रतिशत, तराईमा ८।६ प्रतिशत र काठमाडौँ उपत्यकामा १२।७ प्रतिशत रहेको थियो ।
वैदेशिक लगानी बढ्यो
चालु आवको आठ महिनामा मुलुकमा वैदेशिक लगानी चार गुणाले बढेको छ । आज सार्वजनिक भएको मुलुकको वर्तमान आर्थिक स्थिति नामक प्रतिवेदनमा रु आठ अर्ब ३५ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
गत आवको सोही अवधिमा जम्मा रु दुई अर्ब ३४ करोड मात्रै वैदेशिक लगानी भित्रिएको थियो । जलविद्युत्, होटल लगायतका क्षेत्रमा लगानी थपिएपछि वैैदेशिक लगानी गुणात्मकरुपमा बढेको हो । रासस
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment