Tuesday, April 11, 2017

वैदेशिक रोजगारीमा जान चाहनेले जान्नैपर्ने कुरा

काठमाडौं । आजभोली कामको शिलशिलामा विदेश जानेहरुको लहर बढ्दो छ । कतिपय मानिसहरु एकअर्काको सिको गर्दै केही नबुझी विदेश जाने गर्छन् । यसरी विदेश जाने सुर गर्दा नेपालमा नै अनेकौं दुःख झेल्नुपर्छ भने विदेशमा पनि थुप्रै समस्या आइपर्छन् । त्यसो भए विदेश जानेले के–के कुरा बुझ्न आवश्यक छ त ?

क) उमेर र विवरण

१८ वर्ष पूरा भएको अवस्थामा मात्र वैदेशिक रोजगारीको प्रक्रिया अवलम्बन गर्नुपर्छ ।
रोजगारीमा जानेक्रममा झुटा विवरण वा कागजात पेश गर्नुहुँदैन ।

ख) संस्थागत पहल

वैदेशिक रोजगारको निमित्त अनुमति प्राप्त गरेका एजेन्सीहरुसँग मात्र वैदेशिक रोजगारीमा जाने सम्बन्धी कारोबार गर्नुपर्छ ।

संस्थासँग व्यक्तिगत तवरले जानेगरी काम कारवाही गर्न हुँदैन ।
व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जान चाहनेले वैदेशिक रोजगार विभागको स्वीकृति प्राप्त गर्नुपर्छ ।

ग) आवश्यक प्रमाणहरु सुरक्षित राख्नुपर्ने

वैदेशिक रोजगारको निमित्त जानेक्रममा वैदेशिक रोजगार एजेन्सीलाई रकम बुझाएपछि रसिद लिई सुरक्षित राख्नुपर्छ ।

वैदेशिक रोजगारीको निमित्त एकमुष्ट वा किस्तामा रकम बुझाएको भएमा कुन किस्ता वापत् कति र कम बुझाएको हो सो समेतको निस्सा लिनुपर्छ । बुझाएको रकम र प्राप्त रसिदमा रकम फरक परे, नपरेको यकिन गरी गरी वास्तविक तिरेको रकम जनाएको रसिद लिनुपर्छ ।

रसिदमा सम्बन्धित एजेन्सीको छाप भए नभएको र बुझिलिनेको दस्तखत भए नभएको जाँची लिनुपर्छ ।

राहदानी, भिसा, श्रम स्वीकृति, करारपत्र, तालिमहरुको प्रमाणपत्र, रकम बुझाएको रसिदहरु, बिमा, स्वास्थ्य परीक्षण आदिको कागजात आफूसँग सुरक्षित राखी त्यसको फोटोकपी घर परिवारका व्यक्तिहरु वा भरपर्दो अभिभावकलाई छोड्नुपर्छ ।

घ) तालिम तथा सुरक्षा

वैदेशिक रोजगारीमा जाने कामको लागि कुनै सीपमूलक तालिम आवश्यक भए त्यस्तो तालिम लिएको हुनुपर्ने र मान्यता प्राप्त संस्थाबाट अभिमुखीकरण तालिम हासिल गर्नुपर्छ ।

वैदेशिक रोजगारीमा जाने क्रममा गर्नुपर्ने बिमा तथा कल्याणकारी कोषमा अनिवार्य रुपमा रकम जम्मा गर्नुपर्छ ।

एजेन्सी वा कोही कसैबाट वैदेशिक रोजगारी सम्बन्धी विषयमा गलत वा ठगी गर्न लागेको शंका लागेमा वा त्यसो भए गरेमा वैदेशिक रोजगार विभाग वा नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरीमा तुरुन्त खबर गर्नुपर्छ ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिले अनुमति लिएको अवस्थामा बाहेक अन्य मुलुकको मार्ग प्रयोग गरी वैदेशिक रोजगारीमा जान हुँदैन ।

वैदेशिक रोजगारीको निमित्त विदेश प्रस्थान गर्नु पूर्व वैदेशिक रोजगार विभागबाट राहदानीमा श्रम स्वीकृतिको स्टिकर लगाएको हुनुपर्छ ।

ङ) पूर्व तयारीको अवलम्बन

वैदेशिक रोजगारमा जाने नेपालीले अनुमतिको अवधि पश्चात् नियमानुसार म्याद थप नगरी अवैधानिक रुपमा विदेशमा बस्न वा काम गर्न हुँदैन ।

वैदेशिक रोजगारीको क्रममा भएको सम्झौता अनुसारको अवधिभित्र करा भंग नभएसम्म उक्त कार्य छाडी अन्यत्र काम गर्न वा बिना स्वीकृति काम छाडी अन्यत्र जान हुँदैन ।

च) क्षतिपूर्ति

कुनै कारणले विदेशबाट असमयमा फर्कनु परेमा वैदेशिक रोजगार विभाग र पठाउने एजेन्सीमा फिर्ता आएको १५ दिन भित्रमा जानकारी गराउनु पर्छ ।

छ) विदेशमा सम्पर्क र समन्वय

नियम अनुसार वैदेशिक रोजगारीमा गएपछि उक्त मुलुकमा रहेको नेपाली दुतावास, वा नियोग वा श्रम तथा यातायात व्यवस्था मन्त्रालयले तोकेको सम्बद्ध संस्थामा सम्पर्क कायम गरी आफू आएको जानकारी गराउनु पर्नेछ । वैदेशिक रोजगारको क्रममा समस्या आएको अवस्थामा उक्त निकायमा जानकारी गराउनु पर्नेछ ।

ज) वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा जानु हुँदैन ।

झ) वैदेशिक रोजगारमा जानुपूर्व अभिमुखीकरण तालिम लिनुपर्छ र जान लागेको देश, आफूले गर्ने काम र पाउने पारिश्रमिकबारे राम्ररी जानकारी लिई जानुपर्छ ।

ञ) स्वास्थ्य परीक्षण, जीवन बिमा, दुर्घटना बिमा विदेशमा काम गर्न जानु पूर्व अनिवार्य रुपमा गर्नुपर्छ ।
स्रोत वैदेशिक : वैदेशिक रोजगार विभाग

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment