Wednesday, April 5, 2017

प्रबुद्ध समूहको बैठकमा १९५० को सन्धिबारे छलफल


नेपाल र भारतबीच भएका सन्धिसम्झौताबारे सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को तेस्रो बैठक काठामाडौँको होटल अन्नपूर्णमा सुरु भएको छ। बैठकमा मूलतः सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिका धाराहरुमा केन्द्रित रही छलफल हुनेछ।

यस बैठकले अघिल्ला दुई बैठकमा भएका छलफललाई अघि बढाउनेछ। यो बैठकमा नेपालले पुराना सन्धि पुनरावलोकनबारे आफ्नो प्रस्ताव पेस गर्ने तयारी गरेको छ।

१९५० को सन्धिका विभिन्न धारामा उल्लेख गरिएका थुप्रै व्यवस्था पालन नभएको, कतिपय धाराहरु अव्यवहारिक र असमान भएकोले त्यसमा नेपाल र भारतबीच असहमति देखिँदै आएको छ। सो सन्धिबाहेकका अन्य विषयहरु, जस्तै जलस्रोत, पारवहन, व्यापारल, आदिबारे पनि बैठकमा छलफल हुनेछ।

दुवै देशका प्रबुद्ध व्यक्तिहरुको संलग्नता रहेको प्रबुद्ध समूहले आफ्नो दुई वर्षे कार्यकालमा नेपाल–भारतबीचको सम्बन्धमा आउने तिक्ततालाई सम्बोधन गर्न आआफ्नो सरकारलाई प्रतिवेदन सुझावसहितको बुझाउनेछन्। सो समूहमा नेपालतर्फ भेषबहादुर थापा, नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र राजन भट्टराई सलंग्न छन् भने भारततर्फबाट भगतसिंह कोसियारी, बीसी उप्रेती, महेन्द्र लामा र जयन्त प्रसाद रहेका छन्।

हरेक तीनतीन महिनामा प्रबुद्ध समूहको बैठक बस्ने निश्चित गरिए पनि यो बैठक भारतका विभिन्न राज्यमा भएका चुनावका कारण तीन महिना पछि धकेलिएको थियो। यसअघि समूहको पहिलो बैठक जुलाई महिनामा बसेको थियो भने दोस्रो बैठक अक्टोबरमा बसेको थियो।



सन् २०१४ को जुलाईमा काठमाडौंमा सम्पन्न नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय बैठकले दुई देशबीच हालसम्म भएका सम्झौता र सहमतिको अध्ययन–अनुसन्धान गरी पुनरावलोकनका लागि सुझाव पेस गर्न दुवै देशका प्रबुद्ध व्यक्ति सम्मिलित समूह गठन गर्ने निर्णय गरेको थियो। त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा सातबुँदे सहमतिपछि सो समूह गठन गरिएको थियो।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment