Wednesday, April 5, 2017

एमालेबाट काठमाडौं महानगरको मेयरमा केशव स्थापित, उपमेयरमा मदन भण्डारी पुत्री !

एमाले नेता एवं काठमाण्डु महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले पुनः काठमाण्डुको मेयरमा उम्मेदवारीको दाबी गरेका छन् ।

स्थापितले काठमाण्डुलाई महानगर बनाउन आफ्नो प्रमुख भूमिका रहेको दाबी गर्दै आगामी ३१ वैशाखका लागि घोषित स्थानीय तहको निर्वाचनमा उम्मेदवारी प्रस्तुत गरेका हुन् । आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै स्थापितले जितका लागि आफूलाई मेयर र तत्कालीन एमाले महासचिव स्वर्गीय मदन भण्डारी एवं राष्ट्रपति विद्या भण्डारीको जेठी पुत्री उषाकिरणलाई उपमेयरको उम्मेदवार बनाउन माग गरेका छन् । एमाले सचिव योगेश भट्टराईको मेयर पदमा उम्मेदवारीको चर्चा चलिरहेका बेला स्थापितको दाबी आएको हो ।

दोश्रो संविधानसभा निर्वाचनमा काठमाण्डु–६ बाट टिकट नपाएपछि संघीय समाजवादी पार्टीबाट उम्मेदवार बनेका स्थापितले एमालेको भोट काटेका कारण योगेश पराजित भएका थिए । निर्वाचनको केही समयपछि केपी ओलीको हातबाट टिका लगाएर एमाले फर्किएका स्थापितले फेरि योगेशविरुद्ध उम्मेदवारी दिने घोषण गरेका हुन् । जनआस्था साप्ताहिकलाई दिएको अन्तर्वार्तामा स्थापितले भण्डारी पुत्री उषाकिरण र आफू एउटै क्लबमा फिटनेश गर्ने गरेको भन्दै एमालेको जितका लागि आफू मेयर र उषा उपमेयर जरुरी रहेको दाबी गरेका छन् । आफू र उषा उम्मेदवार हुँदा जातीय र लिंगीय सन्तुलन मिल्ने तथा काठमाण्डुको रैथाने र बाहिरबाट आएकाहरुको समेत मन जिन्त सकिने तर्क उनको छ ।

‘सम्माननीय राष्ट्रपतिज्यूकी जेठी छोरी उषाकिरण भण्डारी, जोसँग मदन भण्डारीको लिगेशी छ । उहाँ र म एउटै क्लबमा फिटनेस गर्छौं । मेरो तीन चारचोटि कुरा पनि भइसक्यो । त्यसैले अबको मेयर म, उपमेयर उषाकिरण’, स्थापितले भनेका छन्, ‘सन्तुलन पनि कसरी मिल्ने भयो भने म पुरष, उहाँ महिला । म बुद्धिज्ममा विश्वास राख्ने, उहाँ हिन्दू समुदायको । एउटा काडमाण्डुको रैथाने, अर्को बाहिरबाट आएर बसोबास गरेको समुदायको । हेर्नुस् त कस्तो मिलेको । उम्मेदवारी घोषणा हुनासाथ एमालेले त जित्यो–जित्यो ।’

स्थापितले आफूलाई एमालेले बारम्बार फुटबलजसरी यता र उता हान्ने काम गरेको भन्दै दुःखेसो समेत पोखेका छन् । तर, निर्वाचनका बेला नेवार मतदाता आकर्षित गर्न उपयोग गर्ने गरेको आरोप लगाएका छन् । एमाले अध्यक्ष केपी ओलीपछिको युवासंघको अध्यक्ष भए पनि एमालेले आफ्नो क्षमताअनुसारको जिम्मेवारी नदिएको उनको भनाइ छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment