Wednesday, May 3, 2017

किम जोङ उनलाई भेट्न तयार छु : ट्रम्प

बुधबार, २० बैशाख २०७४, ११ : २३ |  नागरिक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासकलाई भेट्न तयार रहेको बताएका छन्
ट्रम्पको प्रतिक्रियासँगै उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर क्रुद्ध रहेको अमेरिका र उत्तर कोरियाबीच लामो समयदेखि चलिरहेको वाक युद्धले नयाँ मोड लिएको छ ।

प्योङयाङविरुद्ध हप्तौं कडा अभिव्यक्ति दिइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई भेट्न इच्छुक रहेको बताएका छन् ।

 ‘धेरै मानिसहरुले किमसँग सत्ता पनि खोस्न खोजे होलान् तर उनी अघि बढ्न सफल भए, त्यही भएर उनी बाठै हुनुपर्छ’
धेरै राजनीतिक व्यक्तिले भन्ने भन्दा आफूले फरक कुरा गर्ने भएकाले सहि समय र परिस्थिति बन्यो भने किम जोङ उनलाई भेट्ने ब्लुमबर्ग सञ्चारमाध्यमलाई दिएको एउटा अन्र्तवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले बताए ।

राष्ट्रपति ट्रम्पले किम उनसँग कस्तो परिस्थिति बनेपछि वार्ता गर्न तयार रहेको नबताएपनि अन्तर्वाता लगत्तै राष्ट्रपति कार्यालयका ह्वाइट हाउसका एक प्रवक्ताले त्यस्तो भेटका लागि उपयुक्त परिस्थिति अझै तयार नभइसकेको प्रतिक्रिया दिए ।

उत्तर कोरियाको परमाणु तथा आणविक क्षेप्यास्त्र कार्यक्रमलाई लिएर कोरियाली प्रायद्वीपमा बढिरहेको तनावकाबीच आएको ट्रम्पको पछिल्लो भनाईले निकै नै महत्वपूर्ण अर्थ राखेको छ ।

ट्रम्पको अभिव्यक्ति आएसँगै ह्वाइट हाउसले एउटा विज्ञप्ति जारी गर्दै उत्तर कोरियाले दुई नेताबीचको भेटवार्ता अघि धेरै शर्तहरु पूरा गर्नुपर्ने जानकारी दिएको छ ।
उत्तर कोरियाले उसका उत्तजेनात्मक गतिविधिहरु तत्कालै बन्द गरोस् भन्ने वासिङ्टनको चाहना रहेको ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसरको भनाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

उनले अहिले त्यस्ता शर्तहरु पूरा भइनसकेकाले तत्काल वार्ता सम्भव नरहेको प्रतिक्रिया दिएको पनि बिबिसीले जनाएको छ ।

    यसअघि आइतबार सिबीएसलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले किम जोङ उनको आंशिक प्रशंसा गरेका थिए । उनले केही कडा मानिससँग जुध्दै किमले युवा उमेरमा नै सत्ता सम्हालिरहेको बताएका थिए ।

किम जोङ उन सत्तामा आएको दुई वर्षपछि नै उनले आफ्ना काकालाई मृत्युदण्ड दिएका थिए भने हालै आफ्ना सौतेनी दाई किम जोङ नामको हत्या गराएको आरोप पनि किममाथि लाग्ने गरेको छ ।

उत्तर कोरियाली शासक किमबारे उनको दृष्टिकोण के छ भनेर सोधिएको प्रश्नबारे ट्रम्पले भने, ‘उनी समझदार छन् । त्यसबारे मलाई थाहा छैन । तर आफ्ना पिताको निधन हुँदा उनी २६ या २७ वर्षका युवा रहेका किमले सेनाका जर्नेलहरु सहितका एकदमै कडा मानिससँग व्यवहार गरिरहनु परेको छ । धेरै मानिसले उनीबाट सत्ता पनि खोस्न खोजे होलान् चाहे उनका काका या अरु किन नहुन् । तर उनी अघि बढ्न सफल भए, त्यहि भएर उनी बाठै हुनुपर्छ ।’

गत शनिबार उत्तर कोरियाले दुई हप्तामा दोस्रो पटक असफल क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
उत्तर र दक्षिण कोरिया दुवैले सैन्य अभ्यासहरु जारी राखेपछि पछिल्ला दिनमा कोरियाली प्रायद्वीपमा तनाव बढेको छ ।

अमेरिकाले आफ्नो नौसेनाको पानी जहाज उक्त क्षेत्रमा पठाएको छ र अघिल्लो हप्ताबाट क्षेप्यास्त्र प्रतिरोधी प्रणाली (थाड) दक्षिण कोरियामा जडान गर्न थालेको छ ।
आइतबार प्योङयाङको सरकारी समाचार संस्था केसीएनएले मूर्खतापूर्ण सैनिक उत्तेजनात्मक गतिविधिको प्रलयकारी परिणामबारे ख्याल गर्न अमेरिकालाई चेतावनी दिएको थियो ।

उत्तर कोरियाले हालैका महिनाहरुमा बारम्बार क्षेप्यास्त्र परीक्षण गरिरहेको छ र आफ्नो छैठौं परमाणु परीक्षण चाँडै गर्ने चेतावनी दिएको छ ।

राष्ट्रपति ट्रम्पले सिबीएससँगको अन्तर्वार्तामा थप परीक्षणहरु गरिए आफू खुसी नहुने बताए ।

त्यसको अर्थ उत्तर कोरियाविरुद्ध फौजी कारबाही गरिन्छ भन्ने हो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘मलाई थाहा छैन तर हामी हेरेर निर्णय लिन्छौं ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment