कर तिरेर स्थानीय मन्दिरको जलअभिषेक गरेपछि मात्र घरमा प्रवेश गर्न पाइने चलन रहेको वृद्धहरू बताउँछन् । देवभूमि काठमाडौंबाट बाहिर जानेले अभक्ष खाने र 'बेकाइदा' गर्ने आशंका गर्दै तत्कालीन अवस्थामा 'पतीया' गराउन त्यस्तो कर लिएको बुझिन्छ ।
yubaraj-gautamतराईबाट काठमाडौं प्रवेश गर्ने मुख्य गौंडा भीमफेदीमा राहदानी लिएपछि मात्र नेपालीले पनि राजधानी जान पाउँथे । २००३ सालमा श्री ३ पद्मशमशेर प्रधानमन्त्री छँदा पशुपतिनाथको दर्शन गर्न इलामबाट काठमाडौं आएकी पंक्तिकारकी हजुरआमाले भीमफेदीमा राहदानी लिनुपरेको प्रसंग सुनाउनुहुन्थ्यो ।
झन्डै पचास वर्ष पहिले ६/७ वर्षको उमेरमा पंक्तिकारले पहिलोपल्ट 'राहदानी' र 'पद्मशमशेर' शब्द सुनेको हो ।
'रक्सौलबाट अमलेखगन्जसम्म चार आना तिरेर रेल चढ्न पाइन्थ्यो । भीमफेदीमा धोती फेरेका बाहुनका होटेलमा चार आना तिरेपछि दाल-भात-तरकारी पाइन्थ्यो, त्यो पनि पहाडको घिउसँग ।
त्यहीं रेलमा गयौं हामी', उहाँ भन्नुहुन्थ्यो । त्यस्तो यात्रा वृत्तान्त दन्त्यकथा जस्तो लाग्थ्यो हामी केटाकेटीलाई ।राणाकालअघि जमाना कस्तो थियो होला ? पाँडे र थापालगायतका भारदारहरूको झगडाका कारण नेपालले अंग्रेजसँग युद्ध हारेपछि सुगौली सन्धि गर्नुपर्यो ।
प्रधानमन्त्री भीमसेन थापालाई धेरैले 'हामीले युद्ध गर्नै हुन्न' भनेर सम्झाएका थिए । केही स्वार्थीतत्वले उनलाई उकासेका कारण युद्ध भयो । सुगौली सन्धिमा एकतिहाइभन्दा धेरै भाग (आजको दार्जिलिङ, नैनीताल, केदारनाथ, बद्रीनाथदेखि पश्चिममा काँगडा र सतलज नदीसम्म) नेपालले गुमायो ।
इतिहास पढ्दा कहिले शरीर रोमाञ्चित बन्छ त कहिले आँसु छचल्किन्छ । हामी आधुनिक युगमा छौं तर राष्ट्रको चिन्ता झन् थपिएको छ । कुन दिन राष्ट्रको सार्वभौमसत्ता समाप्त हुने हो भन्ने पीरले धेरैलाई आज पिरोलेको पाइन्छ ।सुगौली सन्धिपछि नेपालीको शिर झन् निहुरियो ।
कैयन् वर्षसम्म सेनाको मनोबल उठ्न सकेन । जघन्य अपराधीहरूलाई सलाम ठोक्नुपर्दा आज प्रहरी र सेनाको मनोविज्ञान कस्तो होला, हामी अनुमान गर्न सक्छौं । त्यसरी नै लज्जित अपमानित, अपहेलित र तिरस्कृत बन्यो तत्कालीन सेना ।
आन्तरिक मामिलामा प्रत्यक्ष रूपमा बाह्य शक्तिले हस्तक्षेप गर्दा राजनीतिक दलका नेताहरू किन बोल्दैनन् ? किन मौन छन् सञ्चारमाध्यम र बुद्धिजीवीहरू ? किन चुपचाप बसेको छ राष्ट्रिय सुरक्षाका पहरेदार शक्तिहरू ?
१८०१ देखि १८६९ सालसम्म नेपाल एकीकरणको निम्ति ७८ वटा लडाइँ गरेको सेनालाई सुगौली सन्धिले कमजोर र निरीह बनायो ।
सुगौली सन्धिभन्दा पहिले भारतका विभिन्न राजाहरूले नेपालको सेनासँग सहयोग माग्थे, तर अंग्रेजसँग हारेपछि त्यो प्रसिद्धिमा धक्का लाग्यो । सुगौली सन्धिको पीडा खप्न नसकेर सेनाका प्रसिद्ध कमान्डर अमरसिंह थापाले रसुवाको गोसाइँकुण्डमा गएर आत्महत्या गरे भनेर इतिहासकारहरूले लेखेका छन् ।
अन्तस्करणमा देशको गहिरो माया हुने मान्छे जागिर मात्र खाएर बस्न सक्दैन, देशको जय-पराजयमा उसको हृदय जोडिएको हुन्छ । राष्ट्र नै हारेपछि आफू बाँच्नु बेकार ठानेर अमरसिंहले आत्महत्या गरेको हुन सक्छ ।
देशको माया हुने मान्छे देशप्रति बेखबर भएर पशु झैं टन्न खाँदै मस्त निदाउन पनि सक्दैन ।
देशको पीरले ऊ बेचैन भइरहन्छ । आफूलाई राजनीतिज्ञ र उच्चतहका राष्ट्रसेवक भन्नेहरूमध्ये धेरैजसो आज भ्रष्टसेवक बनेको पाइन्छ । करोडौं रुपैयाँको चलअचल सम्पत्ति थुपारेर मर्ने उनीहरूको प्रबल इच्छा देखिन्छ । हामीले अनपढ र अशिक्षित भनेर हेलाँ गरेका हाम्रा पुर्खाहरूले राष्ट्रको इज्जत बचाउन जुन योगदान गरे, हामीले त्यसको लेखाजोखासमेत गरेका छैनौं ।
हामी संवेदनशील हुनुको साटो दिमागमै 'हाइड्रोशील' भए झैं लम्पसार परिरहेका छौं । दिनप्रतिदिन आत्मसमर्पण गरिरहेका छौं । यही अवस्था रहने हो भने नेपालको अस्तित्व विलय हुन सक्छ।
सुगौली सन्धिको १०७ वर्षपछि एकजना प्रधानमन्त्रीले नेपाल र ब्रिटेन समान हैसियतका स्वतन्त्र राष्ट्र हुन् भन्न बाध्य तुल्याएर नेपाल-ब्रिटेन सन्धि गरे । त्यसपछि बल्ल हाम्रो शिर उठ्यो ।
ती प्रधानमन्त्री थिए, चन्द्रशमशेर । इतिहासकारहरूले उनका बारेमा अनेक चर्चा गरेका छन्, तर सत्यको अन्वेषण गर्दा नेपाली कूटनीतिमा उनको विशिष्ट योगदान रहेको पाइन्छ । उनीप्रति श्रद्धा जागेर आउँछ ।
शासक भनेको मालिक होइन, अभिभावक हो । त्यसैले नेपालका धेरै असल शासकहरूले जनतालाई छोराछोरीसरह माया गर्थे भन्ने कुरा इतिहासमा पाइन्छ ।
आफ्नो तलब भत्ता र सुविधा बढाउन मात्र सर्वाधिक बल गर्ने तर जनताका दुःखकष्ट र असुविधाप्रति आँखा चिम्लिने आजको शासक सांसद, मन्त्री, नेता र राजनीतिक अगुवाहरूलाई यस्ता उदारहण वाहियात लाग्न सक्छ । राजनीति भनेको जनताको सेवा हो भन्ने धेरैले बुझेकै छैनन् र बुझ्नेहरूले पनि बुझ पचाएको पाइन्छ ।
त्रिवि नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) सँग आबद्ध र वैचारिक रूपमा नेपाली कांग्रेस निकट एकजना अन्वेषकले त अन्तर्वार्तामै भने, 'कांग्रेसीहरू पार्टीको चार ताराको अर्थ बुझ्दैनन् । उनीहरूले चार तारा भन्या सत्ता, सम्पत्ति, सुरा र सुन्दरी मात्र बुझेका छन् ।'
संयुक्त राष्ट्रसंघको सदस्य बनेपछि नेपाललाई अरू राष्ट्रले पनि इज्जत गर्छन् भन्ने सदासयले २००६ सालमै मोहनशमशेरले सदस्यताको लागि पत्राचार गरेको पाइन्छ । निजामती र अरू क्षेत्रमा भन्दा सेनालाई धेरै विश्वास गर्ने प्रधानमन्त्री श्री ३ मोहनशम्शेरले लन्डनस्थित नेपाली राजदूतावासमा कार्यरत सैनिक सहचारी पद्मबहादुर खत्रीलाई न्युयोर्कस्थित राष्ट्रसंघको प्रधान कार्यालयमा पठाए ।
मोहनका छोरा विजयशमशरले यसमा धेरै गृहकार्य गरेको पाइन्छ । त्यसबेला सदस्यता नपाए पनि राजा महेन्द्रका पालामा नेपाल राष्ट्रसंघको सदस्य भयो । त्यसपछि राष्ट्रको इज्जत बढ्न थाल्यो ।
कूटनीति राष्ट्रको सर्वाधिक शक्तिशाली मन्त्र हो । गरिबको उत्थान शिक्षा र इलमले मात्र सम्भव छ, त्यस्तै गरिब राष्ट्रको उत्थान सुमधुर कूटनीतिले मात्र गर्छ ।
एउटा देशसँग चाटाचाट र अर्कोसँग काटाकाट गर्न खोज्ने आजका राजनीतिज्ञहरूको चालामाला हेर्दा पचासौं वर्ष पहिलेको नेपाली कूटनीति धेरै सन्तुलित, दूरदर्शी र परिपक्व रहेको पाइन्छ । उदारहणका निम्ति, २०४५ सालमा जापानले नेपाललाई पाँच अर्ब ७० करोड रुपैयाँ ऋण माफी गर्यो ।
टोकियो विश्वविद्यालयमा आफूलाई पढाउने जापानी गुरुआमा नेपाल भ्रमणमा आएका बेला राजा वीरेन्द्रले भनेछन्, 'पुरानै ऋण तिर्न बाँकी छ । जापानसँग केही माग्न पनि अप्ठ्यारो भयो ।' गुरुआमाले कुरा बुझिन् र आफैंले पढाएको विद्यार्थी तत्कालीन जापानी प्रधानमन्त्रीलाई नेपालको ऋण माफी गरिदिन आग्रह गरिन् । राष्ट्रनायकको विश्वसनीयता, इज्जत र प्रसिद्धिका कारण दश-बाह्र वर्ष पहिलेसम्म नेपाललाई धेरैले पत्याउँथे । आज त्यो अवस्था रहेन ।
विदेशीले राजा, प्रधानमन्त्री वा सेनापति कसैलाई हेपे भने त्यसबाट राष्ट्रकै शिर निहुरिन्छ भन्ने बुझेका शासकहरूले राष्ट्र सर्वोच्च हुन्छ भन्ने मान्यता राखेको पाइन्छ । २००६ साल फागुनमा श्री ३ मोहनशमशेर दिल्ली जाँदा त्यहाँका धनाढ्य वर्ग र बुद्धिजीवीले 'नेपाल दरिद्र देश हो' भन्ने हल्ला चलाएका रहेछन् । मोहनशमशेरले त्यसको उपयुक्त जवाफ दिने विचार गरे ।
छोरा विजय शमशेरमार्फत भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूकी छोरी इन्दिरा गान्धीलाई पचास हजार भारतीय रुपैयाँ पर्ने पन्नाको हार उपहार दिइयो ।
त्यति पैसाले त्यसबखत डकोटा विमान किन्न सकिन्थ्यो । काठमाडौंमा चौध-पन्ध्र रोपनी जमिनसहित महल किनबेच हुन्थ्यो । पचास हजार भारुको पन्नाको हार कसैले उपहार देलान् भनेर तरुनी इन्दिराले सोचेकी पनि थिइनन् होला । नेपाल गरिब छैन भन्ने सन्देश दिन त्यो 'उपहार कूटनीति' पर्याप्त थियो ।
यस्तै श्री ३ मोहनले भारतीय प्रधानमन्त्रीको उद्धार कोषमा एक लाख रुपैयाँ चन्दा दिए । पहिल्यै राणा प्रधानमन्त्रीहरूको इज्जतबारे राम्ररी बुझिसकेका भारतीय प्रधानमन्त्री नेहरू दिल्लीको रेल्वे स्टेसनमा नेपालका प्रधानमन्त्रीको स्वागत गर्न पुगेका थिए । भारतका प्रधानसेनापतिदेखि मन्त्रीहरू सबै हाजिर भए । भ्रमण टोलीमा रहेका केशरशमशेर, अर्जुनशमशेर, विजयशमशेर, बडागुरु भोगेन्द्रराज पाण्डे, डा. सिद्धिमणि आदिको पोसाक र कूटनीतिक शैली देखेर भारतीयहरू छक्क परेको कुरा सो भ्रमणका सहभागीले लेखेका छन् ।
राष्ट्रको हित बिर्सेर दरबारले हुर्काएका कतिपय व्यक्तिसमेत आज नेपालमा लेन्डुप दोर्जे र मीर जाफरको चरित्र प्रदर्शन गरिरहेका छन् । विदेशीका प्रत्येक एजेन्डामा सहमत हुँदै सांसद र मन्त्रीको सुखसुविधा भोग गर्न चाहने त्यस्ता व्यक्ति सिद्धान्त, नैतिकता र सदाचार त्याग्न तयार भए पनि सरकार त्याग्न तयार छैनन् ।
सबैले घोर अवसरवादी, अनैतिक र सिद्धान्तहीन भने पनि उनीहरूलाई कुनै मतलब छैन । इतिहासले के भन्ला भन्ने भय छैन । लज्जा पनि छैन । आफूलाई संसद् र सरकारमा 'गणतन्त्रवादी' भन्ने र कार्यकर्तालाई झुक्याउन 'राजतन्त्रवादी' भएको प्रचार गर्ने प्रवृत्ति गाउँ र वडातहका कार्यकर्ताले समेत चाल पाइसकेका छन् । त्यसैले हजारौं कार्यकर्ता विदेशीका कठपुतली बनेका नेताको पुत्ला जलाउन सक्ने अवस्थामा पुगेका छन् ।
त्यस्तो अवस्थामा जुम्राजस्ता केही परजीवीबाहेक धेरैजसो व्यक्ति राष्ट्रघातविरुद्ध उभिने अवस्था देखिन्छ ।
राष्ट्रलाई कमजोर बनाउने वा राष्ट्रघात गर्ने कुकृत्य गर्छ भने ऊ राष्ट्रघाती नै हो, चाहे आफ्नै बाबु किन नहोस् ।
'कहाँ जाने ? पार्टीमा लागियो । पार्टीको आदेश मान्नै पर्यो' भन्ने दासहरूले राष्ट्रघातको समर्थन गरेर बस्छन् भने ती पनि देशद्रोही हुन् । त्यस्तालाई सलाम ठोकेर जोगाउन खोज्नेहरूलाई पनि इतिहासले प्रश्न गर्न सक्छ ।
अहिलेको तरल अवस्था राष्ट्रको सुरक्षाको दृष्टिले संवेदनशील देखिएको छ ।
निर्वाचनको सम्भावना दिनप्रतिदिन कमजोर बन्दै गएको अवस्थामा राष्ट्रिय हितको रक्षार्थ अधिकांश दलहरू उभिन खोजेको देखिँदैन, बरु ठूला दलहरूले नै सेनालाई काउकुती लगाएर उत्तेजित तुल्याउन खोजेको देखिन्छ
। दलहरू राष्ट्रको रक्षा गर्न असमर्थ भइरहेको, कर्मचारीतन्त्रमा व्यापक निराशा छाएको, प्रहरी, सशस्त्र प्रहरीलगायतका सुरक्षा अंगको मनोबल घट्दै गएको, विदेशीको खटनपटनमा सरकार चलेको र जनताको पनि शिर निहुरिएको बेला सेनाले केही वर्षको लागि सिंहदरबारको बागडोर हातमा लिने साहस गर्यो भने जनता घरघरमा दीपावली गर्न तयार देखिन्छन् । सुन्दा कटु र अप्रिय लाग्ला तर सत्य यही हो ।
नेपाली कांग्रेसका नेता तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले हालै एउटा लेखमा नेपाली राजनीतिले ठूलो झड्का सहनुपर्ने विश्लेषण गरेका छन् । उनको तर्क छ, 'संविधानसभाबाट बनाएको भनेर गर्व गरिएको संविधान नै परीक्षणमा परेको अवस्था छ ।
कथंकदाचित् स्थानीय तहको निर्वाचन तोकिएको मितिमा भएन भने जटिलता थपिँदै जानेछ । अनिर्वाचित सरकार बनाउने बाटोमा हामी जाने हो ? ' अधिकारीले आशंका गरे झैं भोलि जे पनि हुन सक्छ । किनभने राष्ट्रको बागडोर सम्हाल्नेहरू नै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डताप्रति पटक्कै इमानदार देखिएनन् । सरकार राष्ट्रवादी, स्वाभिमानी र विश्वासिलो हुँदो हो त विदेशीको आदेशमा हिँड्ने थिएन । यति निर्वस्त्र बन्ने थिएन ।
सिक्किमलाई यस्तै राष्ट्रघाती नेताले पराधीन बनाएका थिए । बिहारदेखि हालको पश्चिम बंगाल र बंगलादेशको चट्गाउँभन्दा टाढासम्म फैलिएको विशाल राज्यका शासक सिराज उद्दौलाले सेनापति मीर जाफरको गद्दारीका कारण पराजित हुनुपर्यो । राजाकै प्रेमिकाका नातेदार पोलपोटले कम्बोडियाको राजतन्त्र र राज्य व्यवस्था तहसनहस बनाए ।
अमेरिकी गुप्तचर संस्थाले पोलपोट जस्ता कम्युनिस्टहरूलाई प्रयोग गर्यो भने पश्चिमा र भारतीय गुप्तचरले नेपालमा माओवादी नामको क्रिस्चियन फौज बनाएको जगजाहेर छ । सोही फौजमार्फत गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता जस्ता नेपाललाई क्षत्विक्षत् बनाउने परियोजना ल्याइयो । आज त्यही कारणले राष्ट्र विभाजनको सँघारमा पुगेको छ ।
विदेशीको योजनाअनुसार चरणबद्ध रूपमा संविधान संशोधन गर्दै राष्ट्रको सार्वभौमसत्ता कमजोर बनाउने खेल भइरहेको देखिन्छ । नेपालस्थित पश्चिमा दूतहरू, यूएनडीपीका आवासीय प्रतिनिधि आदिको काम संविधान संशोधन गराउने हो ? यसरी आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप गर्दा दलहरू किन बोल्दैनन् ? किन मौन छन् सञ्चारमाध्यम र बुद्धिजीवीहरू ? किन चुपचाप बसेको छ राष्ट्रिय सुरक्षाको पहरेदार शक्ति ? के यो देश
रेडलाइट एरिया हो ? राष्ट्र तहसनहस बनाउन खोज्दा पनि जिम्मेवारहरू मौन बस्छन् भने राष्ट्रिय सुरक्षाको अर्थ र परिभाषा खोज्न कहाँँ जाने ? राष्ट्रको संरक्षण कसले गरिरहेको छ भनेर ढुक्क हुने ? राष्ट्रवादी र राष्ट्रघातीको मनोवैज्ञानिक युद्धमा जब सरकार नै राष्ट्रघातका पक्षमा उभिन्छ, त्यसबेला सेना कुन कित्तामा उभिन्छ ? आजको मूल प्रश्न यही हो ? यही प्रश्नको उत्तरले हाम्रो भविष्य निर्धारण गर्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment