फोटो :उपचारपछि घर पठाइएका बाबाु कान्छा परियार सवार जहाज दुर्घटना भएको सुनेपछि पोखरा विमानस्थलमा भावविह्वल छोरी शान्ता परियार र आफन्त । तस्बिरः कृष्णमणि बराल
पोखरा: पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर जहाज बुधबार बिहान म्याग्दीको सोलीघोप्टे भीरमा दुर्घटना हुँदा त्यसमा सवार चालक दलका तीन सदस्यसहित २३ जनाकै मृत्यु भएको छ ।
पोखरा विमानस्थलबाट बिहान ७ बजेर ५० मिनेट जाँदा उडेको ९ एन–एएचएच कलसाइन भएको उक्त जहाज ८ बजेर ११ मिनेटमा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने थियो । तर ८ बजे पोखरा विमानस्थल हवाई नियन्त्रण टावरसँग अन्तिम सम्पर्क गरेपछि उक्त जहाज सम्पर्कविहीन भएको थियो ।
पोखरा विमानस्थलका सुरक्षा प्रमुख दीपक बरालका अनुसार जहाज सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हवाईमार्ग र स्थलमार्गबाट खोजी सुरु गरेका थिए ।
बरालले जहाज हराएको ६ घन्टापछि दुर्घटनास्थल सोलीघोप्टे भीरमा उद्धारकर्मी पुगेको जानकारी दिए ।
‘दुर्घटनास्थल भीरमा भएकाले त्यहाँसम्म पुग्न र उद्धारमा लाग्न केही ढिला भयो', म्याग्दीका डीएसपी विश्वराज खड्काले भने, ‘एक्कासि मौसम खराब भएर हिउँ पर्यो । यसले मृतकको शव संकलन गर्न पनि समस्या भयो ।' दुर्घटनास्थल समुद्र सतहदेखि ३ हजार ३ सय मिटर उचाइमा रहेको छ । भीषण हिमपातका कारण बुधबार साँझ उद्धारकार्य स्थगित गर्नुपरेको सुरक्षा निकायले जनाएको छ ।
खड्काका अनुसार दाना गाविसको काभ्रेबाट चार घन्टा ठाडो उकालो चढेपछि दुर्घटनास्थल पुगिन्छ । दुर्घटना भीरमा भएकाले क्षतविक्षत भएका सबै शव जम्मा गरी बुधबार पोखरा लैजान नसकिएको उनले बताए ।
काभ्रेबाट पैदल दुई घन्टामाथि हेलिकोप्टर अवतरण गर्नसक्ने ठाउँ भएकाले जतिसक्दो चाँडो शव त्यहाँसम्म ल्याउने तयारी गरिएको जानकारी उनले दिए । उनले भने, ‘भीरमा भएकाले रक क्लाइम्बिङमा दक्ष जनशक्तिको आवश्यकता छ । पोखराबाट माउन्टेन क्लाइमर झिकाएर मृतकको शव संकलन गर्छौं ।'
पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले दुर्घटनास्थलको अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोली घटनास्थल गएको जानकारी दिए । साँझसम्म १७ जनाको शव संकलन गरिसकिएको उनले बताए ।
मौसम खराब भएर हिउँ परेकाले उद्धारमा समस्या परेको उनको भनाइ थियो । दुर्घटनास्थलमा नेपाली सेना र एयर डायनिस्टीका दुई हेलिकोप्टर परिचालन गरिएको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा विमानका चालक क्याप्टेन रोशन मानन्धर, सहचालक दिकेश नेमकुल र परिचारिका रमा राउत छन् ।
त्यस्तै यात्रु पोखरा ७ मासवार घर भई जिल्ला प्रशासन कार्यालय मुस्ताङमा कार्यरत नासु रेवती बराल, पोखरा ११ फूलबारी घर भई मुक्तिनाथ गाविसका सचिव मुक्तिनाथ बास्तोला, बागलुङ पाला घर भई मुस्ताङको कोलेनिकामा सहलेखापाल रहेका बालकृष्ण न्युरे र नेपाली सेनामा मुस्ताङमा कार्यरत राजकुमार तामाङको पनि दुर्घटनामा परी मृत्यु भएको छ ।
मुस्ताङका कृष्णलाल भट्टचन, विनिता भट्टचन, लक्ष्मी हिराचन, पोखरामा उपचार गरी घर फर्केका कान्छा परियार, फन्जोक गुरुङ, कमला थकाली र उनका शिशु, दिलकुमारी गौचन र उनका शिशुको पनि ज्यान गएको छ ।
यसैगरी लमजुङका देवीजंग गुरुङ, मुक्तिनाथ दर्शनका लागि गएका स्याङ्जाका मोतीबहादुर केसी, पवित्रा केसी, सिन्धुपाल्चोकका लेप्साङ लामा, डोल्माछिरिङ शेर्पा, कुवेतका नागरिक रलरास्द अहमद र चिनियाँ नागरिक मार्कसियु यिङको पनि दुर्घटनामा परी मृत्यु भएको तारा एयरले जनाएको छ ।
यसअघि सन् २०१२ मे १४ मा पोखराबाट जोमसोमका लागि उडेको अग्नि एयरको जहाज दुर्घटना हुँदा १५ जनाको ज्यान गएको थियो । त्यस्तै सन् २०१४ फेब्रुअरी १७ मा पोखराबाट जुम्ला उडेको नेपाल एयरलाइन्सको जहाज अर्घाखाँचीमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।
annapurnapost
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment