Saturday, February 27, 2016

नेपालमा बढ्यो हङकङ फ्लुको भाइरस, सचेत रहन चिकित्सककाे सबैलाई आग्रह

शनिबार, १५ फागुन

काठमाडौ । मौसम परिवर्तनसँगै इन्फ्लुन्जा भाइरस हङकङ फ्लुको सङ्क्रमण पनि बढ्दै गएको छ ।
लगातार रुघाखोकी लाग्ने, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुनेबाहेक ज्वरो आउने समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।
अघिल्ला वर्षमा फागुन–चैत महिनामा मात्र देखिने यो भाइरस यस वर्ष भने मङ्सिर पुस महिनाबाटै सुरु भएपछि समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्या पनि बढेको हो ।
खासगरी रुघाखोकी लाग्ने, शरीर दुख्ने, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने समस्या लिएर चिकित्सक कहाँ पुग्ने बिरामी पनि बढेको शुक्रराज शास्त्री ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा शेरबहादुर पुनले बताए ।
माथि उल्लिखित लक्षणबाहेक पनि रुघाखोकी र ज्वरोसँगै आएमा समस्या अझ जटिल हुने भएकाले रुघाखोकी लागेमा सामान्य हो भनेर लापरवाही गर्न नहुने उनको सल्लाह रहेको छ
अहिले यही लक्षण भएका मानिसले लापरवाही गर्दा बिरामीको मृत्यु पनि भएका उनले बताए ।
मानिसको लापरवाहीका कारण यसको सङ्क्रमण अझ फैलिएकाले आफ्नो आचरणमा सुधार ल्याउनु आवश्यक भएको चिकित्सकको सल्लाह छ ।उनका अनुसार इन्फ्लुन्जा ‘ए’ अन्तर्गतको हङकङ फ्लुको सङ्क्रमणले सबै उमेर समूहका मानिसलाई असर पारेको पाइएको छ ।
खासगरी वृद्धवृद्धा, बालबालिका, दीर्घरोगीमा बढी मात्रा सङ्क्रमण देखिने गरेको भए पनि यस वर्ष निरोगी मानिस, युवायुवतीलगायतका सबै उमेर समूहका मानिस सङ्क्रमणका कारण अस्पताल आइरहेको डा पुनको भनाइ छ ।
अहिले सरुवा रोग अस्पतालमा दैनिक २५ देखि ३० जना बिरामी आउने गरेका छन् । यो सङ्ख्या कहिलेकाहीँ निकै बढी हुने गरेको छ ।अहिले काठमाडौँका निजी अस्पतालमा पनि यस सङ्क्रमणका बिरामी बढेको अनुभव आफूले गरेको पुनको अनुभव छ ।
हङकङ फ्लुको सङ्क्रमणबाट बच्नका लागि धेरै हुलमूलमा नजान, झोलिलो खाद्य पदार्थ सेवन गर्न, घरमा कसैलाई यो सङ्क्रमण भएको छ भने बिरामीसँग लसपस नगर्न तथा बिरामीले प्रयोग गरेका सामग्री अरुले प्रयोग नगर्न र बिरामीसँग करिब एक मिटरसम्मको दूरी कायम राखी कुराकानी गर्न पनि चिकित्सकले सुझाव दिएका छन् ।
बाहिरबाट घर आएपछि अनिवार्यरुपमा साबुनपानीले हातगोडा धोएर मात्र अन्य सामान छुने गरेमा पनि केही हदसम्म सङ्क्रमणबाट बच्न सकिन्छ ।जलवायुमा परिवर्तन आएसँगै भाइरसको सङ्क्रमणको समय पनि परिवर्तन भइरहेको डा पुन बताए ।
सङ्क्रमणबाट बच्न जाडो महिना सुरु हुन एक दुई हप्ताअघि नै इन्फ्लुन्जाविरुद्धको खोप लगाउनु निकै उपयोगी हुने पुनको भनाइ छ ।यस वर्षदेखि सरुवा रोग अस्पताल टेकुमा पनि इन्फ्लुन्जा भाइरसविरुद्धको खोपको व्यवस्था गर्न लागिएको अस्पतालले जनाएको छ ।
अन्य निजी अस्पताल स्वास्थ्य संस्थामा खोपको उपलब्धता भएको भए पनि बिरामीको बढ्दो चापलाई ध्यानमा राखी अस्पतालमा नै खोपको व्यवस्था गर्न लागिएको हो ।हङकङमा सन् १९६८ मा देखिएको यो फ्लु विश्वमा निकै तीव्ररुपमा फैलिएको भए पनि यस वर्ष भने यसको नेपालमा बढी नै असर देखिएको छ ।
nepalsandesh

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment