Thursday, February 25, 2016

चीन र भारत दुवैतीर अब एकै पटक नाकाबन्दी गर्ने चेतावनी

बिहीबार, १३ फागुन
‘प्रधानमन्त्रीको भारत भ्रमण पूर्ण रुपमा असफल’
काठमाडौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले आफूहरुको माग संबोधन गर्ने गरी तत्काल ठोस कदम नचाले अबको आन्दोलन उत्तर र दक्षिण दुबै तिरका नाका अवरुद्ध गर्ने गरी देशब्यापी हुने चेतावनी दिएका छन ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘अहिले सरकारलाई मुद्दा संबोधन गर्ने अवसर छ तर राज्य यो अवसर खेर फाल्दैछ । राज्य यसरी नै अघि बढे अबको आन्दोलन बीरगञ्जमात्रै होईन उत्तर र दक्षिण दुबै तिरका नाका बन्द गर्दै अघि बढ्छ । ’
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा अध्यक्ष यादवले अहिले आफूहरु आन्दोलनको समिक्षासहित शक्ति सञ्चय गरेर विगतको भन्दा कडा आन्दोलन घोषणा गर्ने तयारीमा जुटेको जानकारी दिदै अबको आन्दोलन मधेसको मात्र नभई राष्ट्रिय रुपमै अघि बढ्ने र आन्दोलनको एउटा केन्द्र काठमाडौ समेत बन्ने घोषणा गरे ।
उनले भने,‘अबको आन्दोलन पहिला भन्दा विस्तारित हुन्छ । अहिले आन्दोलको स्वरुपमात्रै फेरिएको हो तर आन्दोलन जारी छ । सरकारले विदेशीको आन्दोलन भनेर दमन गर्यो तर यो देशभक्तीपूर्ण आन्दोलन हो । राज्यले चाहेर पनि आन्दोलनकारीले जातीय सहिष्णुता र राष्ट्रिय एकतामा आँच आउन दिएनन् । यो आन्दोलन विनाबर्दीका सेना बनेर भुगोल र सीमाको रक्षा गर्ने आन्दोलन पनि थियो । ’
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा सीमांकन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन प्रति टिप्पणी गर्दै अध्यक्ष यादवले संघीयता गणतन्त्र विरोधीलाई संघीयताको विषय हल गर्ने जिम्मेवारी दिनु हास्यास्पद भएको बताए ।
उनले भने,‘ यो संयन्त्र दिल्लीलाई ठग्न बनाएको हो । मधेसी मोर्चाले यो आयोगलाई मान्यता दिदैन । यो संयन्त्र समस्या हल गर्न बनाएको होईन । राज्य संबेदनशिल छैन, हसिमजाक गरिरहेको छ । यसको कुनै अर्थ छैन ।’
संविधान परिवर्तन र पुर्नलेखन गरेमात्रै सकारात्मक परिस्थिति बन्ने भन्दै उनले त्यसको आधार राज्य पुनःसंरचना आयोगको प्रतिवेदन, अन्तरिम संविधान र आफूहरुले अघि सारेको ११ बुँदे माग रहेको उनले स्पष्ट पारे ।
अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पूर्ण रुपमा असफल भएको दावी गर्दै परराष्ट्रमन्त्रालयले आवश्यक तयारी नै नगरी आवेग र उत्तेजनामा प्रधानमन्त्री दिल्ली दौडिनु गलत भएको बताए ।
उनले प्रधानमन्त्रीले कुनै एजेण्डा नलिई जानु भुल भएको भन्दै दावी गरिए अनुसार भ्रमणले नेपाल भारत सम्बन्ध सुधार नगरेको बताए ।
अध्यक्ष यादवले भने,‘ जोईन्ट स्टेटमेन्ट नआउनु भ्रमणको असफलता हो । त्यसले दुई मुलुकवीच केही विमती छ भन्ने देखाउँछ ।
प्रधानमन्त्रीले नेपालीको शिर निहुँर्याएर आएका छन भ्रमणबाट कुनै उपलब्धि भएन । बैदेशिक मामिलामा यो भन्दा असफल प्रधानमन्त्री नै ईतिहासमा थिएन । उनले ब्यालमेलिङ्गको कुटनीति गर्न खोजे । चीन विरुद्ध भारत र भारत विरुद्ध चीको कार्ड प्रयोग गर्न खोजे त्यसैले यात्रा प्रहसनमा मात्रै अन्त्य भयो । यत्रो ब्यापार घाटा छ त्यसमा कुरै गरेनन नेपालको हितमा कुरा नगर्ने ओली भन्दा अर्को प्रधानमन्त्री थिएन ।’
उनले संविधानलाई भारतले समर्थन नगरेको भन्दै आफ्नै देशका जनताले स्वामित्व नलिएको संविधानलाई भारतले समर्थन गर्ने कुरै नभएको टिप्पणी गरे ।
अध्यक्ष यादवले सात बुँदे सम्झौता पुरानै कुरा भएको भन्दै गुजरातमा नेपालको झण्डालाई उट्पट्याङ बनाउने कुराले नेपाल र नेपाली जनताको आत्मसम्मान र स्वाभिमानमा धक्का पुर्याएको दावी गरे ।
उनले भने,‘ देशको बेईज्जत हुनेगरी झण्डा बनाउँदा दिल्लीको नेपाली दुतावास के हेरेर बसेको थियो ? यसले पनि यो सरकार राष्ट्रबादी होईन भन्ने प्रष्ट बनाउँछ । राष्ट्रिय स्वाभिमान विरोधी गतिविधी हो ।’
पेट्रोलियम पदार्थ सहज आपूर्ति हुदा पनि बजारमा अभाव र कालोवजारी जारी नै रहेको आरोप लगाउँदै सरकारले ग्यास र पेट्रोलको कृतिम अभाव सृजना गरेर माफीयातन्त्रलाई प्रोत्साहन गरिरहेको आरोप लगाए । उनले भने,‘ यो सरकार ईतिहासकै सबैभन्दा बढी भ्रष्टचारी देखिएको छ ।’
nepalsandesh

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment