Saturday, February 27, 2016

विपन्न वर्गको पहुँचमा सहकारी पुग्नुपर्छ– राष्ट्रपति भण्डारी

काठमाडौँ, १५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सहकारी अभियान विपन्न वर्गको पहुँचसम्म पुग्नुपर्ने बताउनु भएको छ । 
राष्ट्रिय सहकारी बैंकको १२ औँं वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले वित्तीय पहुँच पुग्न नसकेका क्षेत्र र तहमा सहकारीका माध्यमबाट आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख गर्नु भयो । 

ग्रामीण विपन्न क्षेत्रको आर्थिक समुन्नतिको आधार नै सहकारी बन्नुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले भन्नुभयो ‘‘ आर्थिक रुपमा पछाडि परेको महिला र सम्वद्ध पक्षलाई समृद्ध बनाउने आधार नै सहकारी हो । यो अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउन जरुरी छ ।’’ 
सहर तथा सुगम क्षेत्रमा मात्रै सहकारी केन्द्रित रहेको भन्दै उहाँले दुरदराजका बस्ती तथा क्षेत्रमा पनि सेवा विस्तार गर्न सहकारीकर्मीलाई आग्रह गर्नुभयो । 
औपचारिक रुपमा सहकारी अभियान सुरु हुनु पहिले ग्रामीण क्षेत्रमा पर्म, एैचौपैचौ, धर्म भकारी जस्ता परम्परागत कर्म सञ्चालनमा रहेको प्रशङ्ग जोड्दै राष्ट्रपति भण्डारीले रोजगारी अभिवृद्धि, गरिबी निवारण, पशुपालन, साधन स्रोतको परिचालन एवम् परनिर्भरता अन्त्यका लागि सहकारी अभियानलाई नै बढावा दिनुपर्ने उल्लेख गर्नुभयो । 
कार्यक्रममा उपप्रधान एवम् महिला बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले निजी, सार्वजनिक क्षेत्रले मात्र मुलुकको आर्थिक गतिविधि अगाडि बढाउन नसक्ने भएकाले नेपालको संविधानले नै सहकारीलाई महत्वपूर्ण स्थान दिएको बताउनुभयो । 
मुलुकको स्वाधिन अर्थतन्त्रको विकासका लागि नै संविधानले सहकारी क्षेत्रलाई बढावा दिने नीति अख्तियार गरेको उल्लेख गर्दै उहाँले सरकार सो क्षेत्रलाई थप सहजीकरण गर्न तयार रहेको स्पष्ट पार्नुभयो । 
राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशवप्रसाद बडालले नेपालको संविधानको प्रस्तावमा नै समाजवाद उन्मुख संविधान उल्लेख गरिएको, संविधानको धारा ५० र ५१ ले समेत सहकारीलाई समेटेकाले यो क्षेत्र महत्वपूर्ण रहेको बताउनुभयो । 
समयानुकुल सहकारी ऐन आवश्यक रहेको भन्दै उहाँले केही संस्थाले गल्ती गरे भन्दैमा सबैलाई एउटै डालामा राखेर व्यवहार गर्ने प्रवृत्ति गलत भएको धारणा राख्नु भयो । 
कार्यक्रममा राष्ट्रपति भण्डारीले आठवटा विभिन्न सहकारी संस्थालाई सम्मान गर्नुभएको थियो भने सहकारी अभियन्ताहरु ओमप्रकाश शर्मा(मरणोप्रान्त), राजेशहरि जोशी, गोविन्दबहादुर मल्ल, डा विश्वमोहन आचार्य र नवीन पौडेललाई समेत सम्मान गरिएको थियो । 
विसं २०६० असार २५ गते सहकारी क्षेत्रको बैंकको रुपमा स्थापना भइ २०६१ साल साउन १९ गतेबाट कारोबार सुरु गरेको सो बैंकले हालसम्म रु आठ अर्ब ६२ करोड निक्षेप सङ्कलन गरेको छ । नेपाल राष्ट्र बैंकमा प्रतिवद्धता व्यक्त गरे बमोजिम चुक्ता पुँजी रु ६४ करोड पु¥याउन बैंक सफल भएको छ । 
युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सापटी लिई बैंकमा आवद्ध भएकामध्ये १६९ सदस्य सहकारी सङ्घ संस्था मार्फत बिना धितो लघु तथा विपन्न वर्ग कर्जा रु ४४ करोड ५० लाख लगानी गरिएको बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले जानकारी दिनुभयो । 
बैंकले हालसम्म ३६ वटा शाखा मार्फत सेवा प्रवाह गरिरहेको छ । (श्रव्य सामग्री उपलब्ध छ ।) रासस 

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment