Sunday, August 2, 2015

.उत्तराधिकारी हिमानी !पूर्वराजपरिवारको किचलो....


काठमाडौ, श्रावण १७ - केही वर्षअघि आफू बिरामी हुँदा पति पारस शाहले स्नेहपूर्वक भरथेगका लागि समातेर डोर्‍याउँदै गरेको तस्बिर फेसबुकमा राख्दै १२ वैशाख ०७० मा पूर्वयुवराज्ञी हिमानीले पतिलाई यसरी सम्झेकी थिइन्, ‘खुसी र दु:खहरू सँगसँगै हिँड्छन् र जीवनलाई पूर्ण बनाउँछन् । (पतिले) साथ दिँदाको एक झलक, जब म बिरामी थिएँ ।’


राजनीतिक उद्देश्य होस् वा व्यक्तिगत सोख, हरेक अवसरका तस्बिर खिच्न र तत्काल फेसबुकमा अपलोड गर्ने सोख छ हिमानीको । भूकम्पपीडितहरूलाई पाल बाँडिरहँदाको होस् वा वृद्धाश्रम र अस्पतालमा पुगेर बिरामीहरूलाई आफ्नै हातले खाना खुवाउँदाको, यस्ता घटनाका तस्बिर फेसबुकमा राख्न अक्सर छुटाउन्नन् हिमानी ।

‘एक कार्यक्रममा सँगै हामी’ भन्दै मुस्कुराइरहेका पारससँगै लजाएजस्तो गरी आफू बसिरहेको तस्बिर ८ जेठ ०७० मा पोस्ट गरेयता उनले पारससँग बसेको कुनै तस्बिर पोस्ट गरेकी छैनन् । मुटुको व्यथा बल्झिएपछि १० साउनमा नर्भिक अस्पताल भर्ना भएका पारसलाई भेट्न भोलिपल्ट पुगेको तस्बिर सार्वजनिक गर्न पनि उनले उचित सम्झिनन् ।

त्यसो भए के यो बाहिर चर्चामा आएजस्तो पारसको पत्नी हिमानी र बाबुआमासँगको सम्बन्ध अझै तीतो छ र हिमानी पारसप्रति यति उदासिन देखिएकी हुन् ? पारस निकटस्थहरूचाहिँ दुई जनाबीचको सम्बन्ध अहिले पहिलेजस्तो तीतो नरहेको दाबी गर्छन् । तर, निर्मल निवास भने हिमानी–पारस सम्बन्ध पहिलेजस्तै तीतो रहेको र त्यही कारण पारसका लागि निर्मल निवासको दैलो अझै नखुलेको सन्देश दिइरहन चाहन्छ ।

चार वर्ष थाइल्यान्डको बसाइपछि १९ चैत ०७१ मा काठमाडौँ फर्केका पारस तीन साता धुम्बाराहीस्थित कुण्डलिनी क्लबमा बसे । १२ वैशाखको भूकम्पपछि चाहिँ बहिनी प्रेरणाको छाउनीस्थित निवास विजयावास पुगे । त्यहाँ झन्डै एक महिना बसेर उनी दिवंगत काका धीरेन्द्रका छोरीहरूको स्वामित्व रहेको जीवनकुञ्जमा बसोवास गरिरहेका छन् । १० साउनमा उपचारका लागि नर्भिक अस्पताल पनि जीवनकुञ्जबाटै गएका थिए ।

जीवनकुञ्ज–निर्मल निवास एकै

काठमाडौँै फर्केको चार महिनासम्म कुण्डलिनी हुँदै विजयावास र अहिले जीवनकुञ्जमा बसिरहेका पारसको नियति हेर्दा (बिरामी हुँदा पूर्वराजारानी र हिमानी ११ साउनमा भेट्न अस्पताल गएबाहेक) साँच्चिकै पूर्वराजपरिवारले पारसलाई निर्मल निवासमा खुट्टा हाल्ने अवसर नदिएजस्तो देखिन्छ । तर, वास्तविकताचाहिँ त्यस्तो नरहेको बताउँछन् जानकारहरू । उनीहरूका भनाइमा पारस जीवनकुञ्जमा रहनु नै निर्मल निवासमा रहेसरह हो ।

धीरेन्द्रका तीन छोरीका अभिभावक अहिले पनि पूर्वराजा ज्ञानेन्द्र नै हुन् । कुनै महत्त्वपूर्ण निर्णय गर्नुपरे उनीहरू ज्ञानेन्द्रकै सम्मति लिन्छन् । उनको सम्मतिबिना उनीहरूले कुनै पनि निर्णय गर्दैनन् । स्रोतका भनाइमा यदि पारसका लागि पूर्वराजारानीले निर्मल निवासको ढोका बन्द गर्न चाहेका थिए भने पारसका लागि जीवनकुञ्जको ढोका पनि खुल्ने थिएन ।

किनभने, निर्मल निवाससँग पर्खाल जोडिएको त छ नै, जीवनकुञ्जबाट निर्मल निवास आवतजावत गर्न सकिने छुट्टै भित्री ढोका पनि छ । आवतजावत गर्नुपरे त्यही भित्री ढोका प्रयोग गर्छन् निर्मल निवास र जीवनकुञ्जका सदस्यहरू ।

पारसको बसोवास जीवनकुञ्जमा हुन थालेपछि धीरेन्द्रका छोरीहरूप्रति हिमानीको स्नेह घटेको पनि देखिन्न । हिमानी ट्रष्टले आयोजना गरेका हरेक कार्यक्रममा हिमानीसँगै हातेमालो गरिरहेका देखिन्छन्, धीरेन्द्रका छोरीहरू पनि । पूर्वराजपरिवार निकट एक अधिकारी भन्छन्, “पारस जीवनकुञ्ज आएको हिमानीले नरुचाएको भए धीरेन्द्रका छोरीहरूसँगको उनको सम्बन्ध बिग्रनुपर्ने हो । तर, सम्बन्ध पूर्ववत् नै देखिन्छ ।”
मिसन राजतन्त्र पुन:स्थापना

खासमा विवादित छविका पारसलाई अहिले नै निर्मल निवासमा प्रवेश दिइएको सन्देश प्रवाहित हुँदा राजनीतिक रूपमा हानि पुग्ने भएकाले उनलाई जीवनकुञ्जमा सीमित गरिएको हो । स्रोतका भनाइमा राजतन्त्र पुन:स्थापनाको माहोल बन्दै गएको विश्लेषण गरिरहेका छन् पूर्वराजा । तर, छोरालाई निर्मल निवासको मूल ढोका खोलिदिँदा अनुकूल बन्दै गएको वातावरण बिग्रन सक्ने भय उनमा छ ।

स्रोतका अनुसार दुई–दुईपटक राजा भइसकेकाले ज्ञानेन्द्रमा तेस्रोपटक राजा हुने र पहिलेजस्तै शक्तिको अभ्यास गर्ने चाहना त्यति प्रवल छैन । बरू आफ्नै पालामा राजतन्त्र पुन:स्थापना होस् र आफ्नो गल्तीका कारण राजतन्त्र समाप्त भएको भन्ने कलंक मेटियोस् भन्ने उनी चाहन्छन् । तर, विवादित छविका कारण पारसलाई अघि सारेर राजतन्त्र पुन:स्थापना गर्न सकिने विश्वास पूर्वराजालाई पनि छैन । नाति हृदयेन्द्र नाबालक छन् । बरू हिमानीलाई राजतन्त्रको उत्तराधिकारी बनाउन तयार देखिन्छन् ज्ञानेन्द्र । बेदाग छवि र दक्षिणी छिमेकीको पनि समर्थन प्राप्त हुन सक्ने भएकाले हिमानीलाई अघि बढाउँदा परिणाम सकारात्मक हुने उनको ठम्याइ छ ।

बुहारी हिमानी शाहका नाममा स्थापना गरिएको हिमानी ट्रष्टलाई नै अघि सारेर निर्मल निवासले सामाजिक कार्य गर्नुको कारण पनि यही हो । जबकि, कुनै शाही महिलाका नाममा ट्रष्ट नै स्थापना गर्ने हो भने निर्मल निवाससँग त्यस्तो नामको अभाव थिएन । जस्तो : पूर्वमुमाबडामहारानी रत्न र पूर्वबडामहारानी कोमलका नाममा ट्रष्ट बनाएर यस्ता गतिविधि गर्न सकिन्थ्यो ।

भारत राजतन्त्रको विरोधमा गइदिएपछि राजतन्त्र समाप्त भएको ठहर गर्दै आएका छन् पूर्वराजाले । त्यसैले उनका ‘मुभ’ भारतीय संस्थापनलाई पनि पक्षमा ल्याउनेतर्फ केन्द्रित देखिन्छ । यही कारण प्रत्येक वर्षजस्तो भारत भ्रमणमा जाँदा हिमानी पनि साथै जाने गरेकी छन् । उच्च राजनीतिक भेटघाटमा उनले बुहारी हिमानीलाई भारतकै चेलीका रूपमा चिनाउने गरेका छन् ।

अहिल्यै पारसले निर्मल निवासमा प्रवेश पाउँदा त्यसको सबैभन्दा ठूलो असर हिमानीको छविमा पर्ने आशंका छ निर्मल निवासको । किनभने, थाई युवती कन्निका चाइसनको भौतिक मोहपासबाट छुटे पनि मानसिक मोहपासबाट उनी अझै मुक्त हुन नसकेको आकलन निर्मल निवासको हुन सक्छ । यो अवस्थामा हिमानीमाथि नै प्रश्न उठ्न सक्छ, ‘यस्ता अनैतिक पति नसुधिँ्रदै स्वीकार गर्ने महिला कसरी राजतन्त्रको उत्तराधिकारी हुन सक्छिन् ?’

हिमानीले जब पारसको बेवास्ता गरिन्
०७१ साउन पहिलो साता
थाइल्यान्डको सुखुम्भितस्थित डेभिस होटलबाट पक्राउ (२६ असार ०७१) परी छुटेलगत्तै नेपाल फर्कन खोजे पनि प्रेमिका कन्निका चाइसनसँगै आउन लागेको भन्दै निर्मल निवासमा प्रवेश नदिने सन्देश साउन पहिलो साता प्रवाह । त्यसपछि पारस उतै रहे ।
२९ माघ– ६ फागुन ०७१

जेलमा रहेका पारसप्रति चासो नदेखाएको भन्दै निर्मल निवास र पत्नी हिमानीको आलोचना हुन थालेपछि २९ माघमा हिमानी पारसलाई भेट्न थाइल्यान्डतर्फ । एक सातापछि ६ फागुनमा काठमाडौँ फर्के पनि उनी पारसलाई नभेटी फर्केको आशंका ।

२६ फागुन ०७१

२३ फागुनमा गाँजासहित पक्राउ परेका पारसलाई नोङ्खाई प्रान्तीय अदालतद्वारा ४५ लाख जमानत दिने सर्तमा धरौटीमा रिहा गर्न आदेश । तर, निर्मल निवासद्वारा धरौटी रकम नपठाइदिँदा थप तीन साता जेलमा । जसका कारण १५ चैतमा तय गरिएको भान्जा पार्थव सिंहको व्रतबन्धमा सहभागी हुन सकेनन् ।

१९ चैत ०७१

चार वर्ष लामो थाइल्यान्ड बसाइपछि काठमाडौँ फिर्ता । तर, निर्मल निवासमा प्रवेश नदिइने भएपछि धुम्बाराहीस्थित कुण्डलिनी क्लबमा बसोवास । १२ वैशाखको भूकम्पपछि छाउनीस्थित बिजयावासमा र त्यसपछि हालसम्म जीवनकुञ्जमा ।

२७ चैत ०७१

छोरा पारसलाई नभेटी पूर्वराजारानी ज्ञानेन्द्र र कोमल छोरी, नातिनातिनाका साथ दिल्ली प्रस्थान । त्यसअगावै हिमानी पनि पारसलाई नभेटी २१ चैतमै नयाँदिल्ली प्रस्थान । यद्यपि, १२ वैशाखको भूकम्पका कारण निर्धारित समयअगावै २ जेठ ०७२ मा पूर्वराजपरिवार काठमाडौँ फिर्ता ।

१०–१३ साउन ०७२

मुटुसम्बन्धी रोगका कारण नर्भिक अस्पतालमा भर्ना भएका पारसलाई ११ साउनमा पूर्वराजा ज्ञानेन्द्र, रानी कोमल र पत्नी हिमानीले अस्पतालमै गएर भेटे पनि १३ साउनमा डिस्चार्ज भएपछि पारस निर्मल निवास गएनन् । अहिले उनको जीवनकुञ्जमा बसोवास छ ।source taja khabar

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment