Tuesday, February 28, 2017

रणजीत रायको कार्यकाल सकियो, अब विनय कुमारले भारतीय दूतावास सम्हाल्ने


नयाँ भारतीय राजदूत नेपाल आउन अझै एक महिना लाग्न सक्ने

प्रधानमन्त्री प्रचण्डसँग विदाइ भेट गर्दै रणजित राय
 नेपालका लागि भारतीय राजदूत रणजीत रायको कार्यकाल मंगलबारदेखि समाप्त भएको छ । उनले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग विदाइ भेट गरेका छन् ।

राजदूत रायका ठाउँमा अब डेपुटी चीफ अफ मिसन (डीसीएम) विनय कुमारले कार्यवाहक राजदूतको जिम्मेवारी निर्वाह गर्ने छन् ।

संविधान निर्माण हुनुअघि नेपालको राजदूतको जिम्मेवारी सम्हालेका रणजीत रायको कार्यकालमा नेपाल भारत सम्बन्धमा निकै ठूला उतार चढावहरु देखा परे । राजदूत राय चर्चा एवं विवादको शिखरमा रहे । विशेष गरी संविधान जारी हुने बेलामा भारतले खेलेको भूमिका, त्यसपछिको नाकाबन्दी, मधेसी मोर्चाप्रतिको झकाव र पछिल्लो समय स्थानीय चुनावको घोषणा पश्चात पनि भारतले त्यसको समर्थनमा वक्तव्य नदिएको लगायतका विषयहरु रायको कार्यकालका परिघटना हुन् ।

विनय कुमार
अर्कोतर्फ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, माथिल्लो कर्णाली, अरुण तेस्रो लगायतका आयोजनाको पीडीए लगायतका विषयहरुलाई रायका पालामा भएका उपलब्धिका रुपमा भारतीय पक्षले व्याख्या गरेको छ । यद्यपि यी विषयहरुमा नेपालभित्र एक मत हुन सकेको छैन ।

भारतीय दूतावास स्रोतका अनुसार अब नेपालले नयाँ भारतीय राजदूत पाउन अझै एक महिना लाग्न सक्छ । यो अवधिमा डीसीएम विनयकुमारले कार्यबाहकको काम गर्ने छन् । नयाँ भारतीय राजदूत को बन्दैछ भन्ने अझै टुंगो लागेको छैन । राजदूतका रुपमा प्रिती शरण र दलबीर सिंहको नामसमेत चर्चामा छ ।

४८ वर्षीय विनय सन् १९९२ देखि भारतीय विदेश सेवामा प्रवेश गरेका हुन् । राजदूत रायले अर्थशास्त्रको अध्ययन गरेर विदेश मन्त्रालयको सेवामा प्रवेश गरेका थिए भने विनयले टेक्निकल विषय पढेका छन् ।

विनयकुमारले आफ्नो विदेश मन्त्रालयको जागिरका काममा काठमाडौं आउनुपूर्व तासकन्द, ओटावा, तेहरान लगायतका स्थानमा भारतीय मिसनमा काम गरिसकेका छन् । सन् २०१५ मा नेपाल आउनुपूर्व उनी अफ्रिकामा कार्यरत थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment